भिजिट भिसाको रोजगारले खाडीमा ज्यान गुमाइरहेका नेपाली महिला
सरकारले प्रतिबन्ध लगाएपछि नेपाली महिला श्रमिकहरू मानव तस्करी गिरोहको प्रपञ्चमा भिजिट भिसा मार्फत खाडी पुग्ने र शोषणमा परेर ज्यान गुमाउने गरेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) को इन्टरन्याशनल टर्मिनल भवन बाहिर गत पुस २७ गते बिहान ९ बजेको घुर्मैलो घाममा एक हुल मानिस भुइँतिर मुन्टो फर्काएर उभिरहेका थिए। उनीहरूका मलिन अनुहार र ओसिला आँखा घरीघरी भवनको उत्तरतर्फ ‘शवदानी’ आउने गेटतिर सोझिन्थे। निकै बेरपछि अग्लो ढोका खुल्यो। लामो बाकस देखिनासाथ तिनले बरर्र आँसु झारे। अनि केही बेरपछि बाकस गाडीमा हालेर मोरङतिर लागे।
मोरङको केराबारी-१० की २४ वर्षीया करिसा राई गत फागुनमा सात र नौ वर्षका सन्तान छाडेर कुवेत गएकी थिइन्। नेपालले महिलालाई रोजगारमा जान रोक लगाएको यो देशमा उनी ‘भिजिट भिसा’ मा दुबई हुँदै पुगेकी थिइन् र घरेलु कामदार बनेकी थिइन्। तर वर्षदिन नपुग्दै शवदानीमा फर्कनुपर्यो। “भिजिट भिसामा जाँदा त्यहाँ अनेक समस्या हुने तथा दुर्घटना भइरहेको हामीले सुनेका थियौं। त्यही भएर काकीलाई त्यसरी नजान भन्यौं,” भतिज सुरेन्द्र तामाङ थकथकी मान्छन्, “काठमाडौंतिरबाट एजेन्टले राम्रो हुन्छ भनेछ। उहाँ प्रलोभनमा पर्नुभएछ।”
टीआईएमा यसरी विदेशबाट नेपालीका लास आउनु केही दशकयताको नियमित नियति हो। विगतमा यस्ता लास दुर्घटना, हृदयाघात वा विभिन्न रोगका कारणले ज्यान गुमाएकाहरूको बढी हुन्थ्यो। यो लहरमा अब भिजिट भिसामा विदेश जानेहरू पनि थपिएका छन्, जसको कागजातमा मृत्युको कारण ‘आत्महत्या’ लेखिएको हुन्छ।
सरकारले रोक लगाए पनि महिलाहरू संयुक्त अरब इमिरेट्स (यूएई–दुबई), कुवेत, ओमान, साउदी अरब, कतार जस्ता खाडी मुलुक पुगिरहेकै छन्। तर त्यहाँ महीनौं काम नपाइने, पाइए पनि जोखिमपूर्ण हुने, मालिकको दुर्व्यवहार खेप्नुपर्ने जस्ता समस्या भोग्नुपर्दा उनीहरू बिचल्लीमा पर्छन्। “पैसा कमाउन गएको मान्छेलाई यत्तिकै फर्कंदा गाउँसमाजले केही भन्ला कि भन्ने पीर हुन्छ,” वैदेशिक रोजगार उद्धार श्रमिक संघ, नेपालका अध्यक्ष पासाङ दोर्जे मोक्तान भन्छन्, “त्यहाँ पठाउने नेपाल र उताका एजेन्टले घर फर्कन उल्टै पैसा माग्छन्। कतिपय पैसा तिरेर आउँछन्। कतिपयले बिरानो मुलुकमा आफूलाई सिध्याउने अप्रिय बाटो रोज्छन्।”
भिजिट भिसामा खाडी र मलेशिया पुगेर अलपत्र परेकाहरूको उद्धारमा सक्रिय संस्था हो, श्रमिक संघ। अहिले भिजिट भिसामा गएका महिलामध्ये प्रतिमहीना कम्तीमा एक जनाको लास नेपाल आइरहेको मोक्तान बताउँछन्। यो संस्थाले पछिल्ला चार महीनामा चारवटै यस्ता शव ल्याउन मद्दत गरेको छ।
दुबई, साउदी अरब, कुवेत, कतार र ओमानस्थित नेपाली दूतावासको तथ्यांकमा पछिल्ला वर्ष त्यहाँ आत्महत्या गर्ने नेपालीको संख्या बढिरहेको छ। ओमानमा २०७९ सालसम्म नेपालीले आत्महत्या गरेका घटना थिएनन्। तर त्यहाँ आर्थिक वर्ष २०८०/८१ मा तीन र चालू आवको पहिलो ६ महीनामा तीन गरी ६ जनाले आत्महत्या गरिसकेको विवरण छ। ती सबै महिला हुन्। ओमानस्थित नेपाली दूतावासका द्वितीय सचिव विशेषकुमार साह त्यहाँ पुगेपछि ओमान सरकारले रेसिडेन्ट कार्ड दिने भएकाले उनीहरू पर्यटकीय वा श्रम कुन भिसामा आए भन्ने थाहा नहुने बताउँछन्।
साउदी अरबमा अघिल्लो वर्षसम्म आत्महत्या गर्ने पुरुष मात्र थिए। यस वर्ष नौ जना पुरुष र एक महिलाले आत्महत्या गरेको रियादस्थित नेपाली दूतावासका सूचना अधिकारी टोपनारायण गिरी बताउँछन्।
सबैले आत्महत्या नै गरेका हुन्?
धादिङको धुनीबेसी गाउँपालिकाकी २३ वर्षीया सुनीता तामाङ गत वैशाखमा कामको खोजीमा ओमान पुगिन्। “मैले हुँदैन भनेकी थिएँ,” दिदी सुशीला भन्छिन्, “तर ऊ दलालको भर परेर कसैलाई थाहा नदिई गई।”
सुशीलाका अनुसार बहिनीले दुबई पुगेर फोन गरेपछि मात्र उनले थाहा पाएकी हुन्। अर्थात् उनलाई पनि भिजिट भिसामा दुबई हुँदै लगिएको थियो। ओमान पुगेपछि घरमा बच्चा हेर्ने काम पाइन्। तर मालिकले गाली गर्ने, कुट्ने गरेपछि बहिनी महीनादिनमै निस्किएको सुशीला बताउँछिन्। भिजिट भिसामा लगिएकाहरूलाई एजेन्टले शुरूमा एकै ठाउँ (सेन्टर)मा भेला पार्छन् जहाँबाट मालिकहरूले एजेन्टलाई पैसा तिरेर कामदार छान्छन्। कुनै कारणवश कामबाट निक्लिएमा उनीहरूलाई एजेन्टले फेरि सेन्टरमा ल्याउँछ। सुनीता पनि काम छोडेपछि शुरूमा राखिएको ‘सेन्टर’ मै पुगिन्। केही समयपछि अर्को घरमा काम पाइन्। त्यो घर पुग्नासाथ सुनीतालाई क्रिश्चियन धर्मबारे केही प्रश्न सोधियो। “एजेन्टले मालिकलाई म क्रिश्चियन हो भनेर ढाँटेको रहेछ,” बहिनीले भनेको कुरा सुशीला सम्झिन्छिन्, “क्रिश्चियनबारे केही बताउन नसकेपछि फेरि मलाई फर्काइदियो, दिदी।”
त्यसपछि लामो समय काम नपाएकाले सुनीता आफूलाई नेपाल फर्काइदिनुपर्यो भन्दै दिदीलाई फोन गरिरहन्थिन्। सुशीलाले नेपालबाट जसले पठाएको हो, उसैलाई भन्न सुझाएकी थिइन्। तर एजेन्टले नेपाल फर्काउन दुई लाख ८० हजार रुपैयाँ मागेपछि उनी तत्काल आउन सकिनन्। त्यसको केही समयपछि भने राम्रो मालिक पाएकाले अब एकाध वर्ष बसेर फर्कने भनी दिदीलाई फोन गरेकी थिइन्। दुई महीनाको तलब पनि पठाइसकेकी थिइन्। तर अचानक गत मंसीर ९ गते बिहान मेसेन्जरमा देखिएको खबरले सुशीलाको ओठतालु सुक्यो।
त्यसमा लेखिएको थियो, “मलाई बाँच्ने इच्छा छैन। मेरो भागमा त दुःखैदुःख रहेछ।” मेसेज राति पौने १२ बजे नै आएको रहेछ। “मैले हतारहतार मेसेन्जरमा फोन गरें,” सुशीला भन्छिन्, “त्यसपछि बहिनी कति वेलै अनलाइनमा आइन।” बरु तीन दिनपछि ओमानस्थित नेपाली दूतावासबाट फोन आयो, ‘तपाईंकी बहिनीले आत्महत्या गर्नुभएछ।” यतिखेर सुशीला बहिनीको उद्धार गरिदिन भनी श्रमिक संघको कार्यालयमा हारगुहार गरिरहेकी थिइन्। संघकै सहयोगमा पाँच दिनपछि शव आइपुग्यो। “घाँटीमा डाम थियो,” सुशीला भन्छिन्।
ओमान प्रहरीको मेडिकल जाँचमा भने सुनीताको मृत्युको कारण हृदयाघात लेखिएको छ। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ओमबहादुर राना चाहिं दलालले ओमान पुर्याएर फन्दामा पारेकाले सुनीताले आत्महत्या गरेको भनी जाहेरी परेको बताउँछन्।
श्रमिक संघका अध्यक्ष मोक्तान अवैध प्रक्रियाबाट गएर घरेलु कामदार बनेका महिलालाई यौनशोषण हुने, त्यस विरुद्ध आवाज उठाउँदा मारिदिने अनि आत्महत्या भनिदिने गरेका घटना थुप्रै रहेको बताउँछन्। “यौनशोषणमा परेर भाग्न सफल भएकाहरूले हामीसँग यस्तै सुनाउँछन्,” उनी भन्छन्।
बहिनीको मृत्युको कारण जे भए पनि उनलाई अवैध बाटो विदेश पुर्याउनेलाई सजाय हुनुपर्ने अडानमा छिन्, सुशीला। यही माग राखेर ब्यूरोमा जाहेरी पनि दिएकी छन्।
ओमान पुगेपछि सुनीताले सुशीलालाई एजेन्टको फोटो र नाम मेसेन्जरमा पठाएकी थिइन्। सोही आधारमा सुशीलाले एजेन्टलाई मेसेन्जरमा पछ्याइन्। आफू पनि विदेश जान चाहेको बहाना बनाउँदै सोधिन्, “तपाईं भिजिट भिसामा बाहिर पठाउनुहुँदो रहेछ होइन?”
“कसरी थाहा पाउनुभयो?” एजेन्टले सोध्यो।
“मेरो बहिनी पर्ने सुनीता तामाङलाई तपाईंले पठाउनुभएको रहेछ नि?” सुशीलाले मन चोरिन्।
“हो,” एजेन्टले लेख्यो।
तर जब सुशीलाले बहिनीको मृत्यु भएकाले शव ल्याउन सघाउन भनिन्, एजेन्टले कुरा फेरिहाल्यो, “मैले पठाएकै छैन।”
त्यसयता एजेन्टको फेसबूक बन्द छ। प्रहरीले पक्राउ गरिसकेको छैन। “हामी अनुसन्धानकै क्रममा छौं,” एसएसपी राना भन्छन्, “घरपरिवारमा सुनीताको विदेशगमनबारे धेरै कुरा थाहा नभएकाले एजेन्टबारे बुझ्न समय लाग्यो। तर हाम्रो अनुसन्धान अहिले ठीकठाक अगाडि बढिरहेको छ।”
भिजिट भिसामा ओमान पुगेकी स्याङ्जाकी २३ वर्षीया जमुना कुमालको परिवारले दिएको जाहेरीमा पनि ब्यूरोले अनुसन्धान गरिरहेको छ। जाहेरीमा उल्लेख भए अनुसार उनले बन्धक अवस्थामा आत्महत्या गरेको खबर आएको थियो। यस घटनामा ब्यूरोले ३७ वर्षीय सन्तोष लोप्चन (तामाङ) र विनोद पौडेललाई पक्राउ गरे पनि गिरोहका अन्य सदस्य फरार छन्। लोप्चन पुस २४ गते पक्राउ परेका हुन् भने पौडेललाई दुबईबाट स्थानीय प्रहरीको समन्वयमा माघ ९ गते नेपाल ल्याइएको छ।
कुमाललाई २०८० फागुन ७ गते टीआईएबाटै भिजिट भिसामा दुबई हुँदै ओमान पुर्याइएको थियो। उनलाई मासिक ११० ओमानी रियाल (करीब ४० हजार रुपैयाँ) कमाइ हुने आश देखाएर लगिएको तर ६ महीनासम्म काम नपाएको जाहेरीमा उल्लेख छ। “जसरी हुन्छ, मलाई घर झिकाउनू भन्दै फोन गर्थी,” बुबा बलबहादुर भन्छन्।
घर फर्काउन ओमानको एजेन्टले डेढ लाख रुपैयाँ मागेको जमुनाले परिवारलाई बताएकी थिइन्। उनले नै दिएको सम्पर्कसूत्रबाट परिवारले नेपालमा रहेका एजेन्ट लोप्चनलाई भेटेको थियो। लोप्चनले भने बमोजिम साँखुका विनोद पौडेलका नाममा रकम पनि पठाइएको थियो। एजेन्टले तीजसम्म छोरी नेपाल आउने खबर दिएको थियो। तर तीजको तीन दिनअघि भदौ १७ गते जमुनाले आत्महत्या गरेको खबर आयो। “भने जति पैसा दियौं, तर छोरी जिउँदो ल्याइदिएनन्,” बलबहादुर भन्छन्, “भर्याङबाट हाम फालेर आत्महत्या गरी भनियो।”
सँगै ओमान गएका अन्य महिलाले जमुनाको परिवारलाई पठाएको मेसेजले उनले आत्महत्या गरेको भनिएकामै शंका गर्ने ठाउँ दिन्छ। बहिनीको मेसेन्जरमा आएको अडियो सन्देशमा छ, “हामीलाई बाहिरबाट ताल्चा लगाइदिएर कोठामा थुनेर राख्थ्यो। बाहिर जानुपर्यो भने म्याडम (एजेन्ट)ले सँगै लिएर हिँड्थ्यो, अगाडि–पछाडि। जमुनालाई पिटेको पनि थियो। भागेर आइस् भने झुन्ड्याएर मारिदिन्छु भनेर धम्की पनि दिएको थियो। भर्याङ भए पो लडेर मर्नु।”
अर्को एउटा मेसेन्जर संवादबाट जमुनालाई चरम यातना दिइएको खुल्छ। बन्धक अवस्थामै जमुनाले सँगै त्यहाँ गएकी तर बाहिर काम पाइसकेकी एक महिलासँग मेसेन्जरमा नियमित कुराकानी गर्ने गरेकी रहिछन्। एकपटकको कुराकानीमा उनले भनेकी छन्, “मलाई ओमानीले पिटेको दिदी। तँलाई मारिदिन्छु, कसले थाहा पाउँछ र भन्छ।” उनीसँगैको अर्को एक संवादमा जमुना भन्छिन्, “दिदी ‘कल’ मा बोल्न मिल्दैन। मोबाइल खोसिदिन्छ।”
जमुनाको मोबाइल खोसेको कुरा एजेन्ट विनोदले पनि स्विकारेको बहिनीसँगको संवादबाट खुल्छ। ह्वाट्सएप मेसेजमा बहिनी सोध्छिन्, “जमुनाको मोबाइल कहिले दिनुहुन्छ?”
विनोद जवाफ फर्काउँछन्, “हिजो दिएको थियो त। म दुबईमा छु।” अर्को मेसेजमा विनोद लेख्छन्, “पासपोर्ट आउनासाथ टिकट (नेपाल फर्कने) हुन्छ। पासपोर्ट, भिसा क्यान्सिल गर्न लागेको छ। एक लाख रुपैयाँ मात्र आएको छ। सन्तोषले पैसा दिएको छैन।”
पछिल्लो संवादबाट यो गिरोहले दुबई–नेपाल आउजाउ गरेरै मानव तस्करी धन्दा चलाएको बुझिन्छ। त्यस्तै, जमुनाले आत्महत्या गरेको भन्नेमा पनि प्रश्न गर्न सकिने ठाउँ दिएको छ। तर ब्यूरो प्रमुख एसएसपी राना खाडी देश पुगेर आत्महत्या वा हत्या के हो भनेर अनुसन्धान गर्न गाह्रो रहेको बताउँछन्। रोजगारका लागि विदेशिएका श्रमिकको मृत्युमध्ये बहुसंख्यकमा प्राकृतिक कारण देखाइने गरे पनि यथार्थ नखुल्ने सन् २०२२ मा श्रम मन्त्रालयले गरेको नेपाल लेबर माइग्रेशन अध्ययन प्रतिवेदनमा पनि उल्लेख छ।
नेपालमै सीमित अनुसन्धान
कामको खोजीमा दुबई पुगेर अलपत्र परेकी पत्नी सुनीता पहरी फर्कने खबर पाएपछि पति अखिलले गाउँमा सँगै पाखुरा बजारेर गरिखाउँला भनी मन दह्रिलो पारेका थिए। ललितपुर, गोदावरी नगरपालिका–४ की सुनीता तीन लाख रुपैयाँ खर्चेर भिजिट भिसामा २०८० भदौमा दुबई पुगेकी थिइन्। गहना बेचेर खर्च जोहो गरेकी थिइन्।
एउटा घरमा सरसफाइ गर्ने, बालबच्चा हेर्ने काम पनि पाइन्। तर महीनादिनपछि उक्त ठाउँबाट मालिक बसाइँ हिंड्दा सुनीताको जागीर पनि उठ्यो। बेरोजगार बनेपछि एजेन्टले एउटा कोठामा ल्याएर राख्यो। “दुई महीनापछि श्रीमतीले काम पाइएन। जिउ बेस्सरी पोल्न थाल्यो भनिन्,” अखिल सुनाउँछन्, “अनि मैले नेपाल फर्कन भनें।”
फर्कन पनि एजेन्टले पैसा माग्यो। सुनीताका सानोबुबा दुबईमै काम गर्थे, उनैलाई गुहारिन्। भाइटीका अर्थात् कात्तिक ३० गते मध्याह्न नेपाल ओर्लने गरी टिकट काटिएको भनी सुनीताले परिवारलाई खबर पठाइन्। आमा आउने भएपछि ११ वर्षका छोरा र ७ वर्षकी छोरी पनि चंगा झैं बनेका थिए। तर तीन दिनअघि कात्तिक २६ गते नै उनले आत्महत्या गरेको खबर आयो। “अघिल्लो राति लक्ष्मीपूजा गरेर सुतेको थिएँ। बिहान उठ्दा त्यस्तो खबर आयो,” अखिल खुइय्य गर्दै भन्छन्, “छोराछोरीलाई निकै दिनसम्म सुनाइनँ।”
२८ वर्षीया सुनीता र उनका दाजु धनजित तामाङलाई माइतीघरकी भाउजूकी सानीआमाले टीआईएबाटै उडाएर दुबई पुर्याएको अखिलको भनाइ छ। यी दाजुबहिनीलाई काममा लगाइदिने आश्वासन दिएर फरक फरक समयमा उडाइएको थियो। “आफ्नै मान्छे भएकाले शंका गरिएन,” अखिल भन्छन्, “तर यो घटनापछि उनीहरू बेपत्ता भए।” सुनीतालाई समयमै फर्काउन सानीआमाले पहल नगरेको अखिलको गुनासो छ। धनजित भने सुनीताको मृत्यु हुनुअघि नै नेपाल फर्केका थिए।
सुनीताको लास ल्याउन पनि अखिलले ठूलो संघर्ष गर्नुपर्यो। करीब दुई लाख रुपैयाँ र एक महीना समय लाग्यो। गोदावरी नगरपालिका–४ का वडाध्यक्ष सानुभाइ नगरकोटी गैरआवासीय नेपाली संघ (एनआरएनए) दुबई र आफूहरूले चन्दा उठाएर लास ल्याउन सघाएको बताउँछन्। “एनआरएन र हाम्रो पार्टी (नेपाली कांग्रेस)को पहलमा ९० हजार रुपैयाँ उठाएर दिएका थियौं,” उनी भन्छन्।
अवैध बाटोबाट पत्नीलाई विदेश पुर्याउने विरुद्ध अखिलले उजुरबाजुर गरेका छैनन्। “मुद्दामामिला गर्दा शव ल्याउन समस्या हुने भन्दै डर देखाइएकाले त्यो झन्झटमा लागिनँ,” उनी भन्छन्।
रोजगारीका नाममा हुने मानव तस्करीमा अन्तरदेशीय एजेन्टहरू सामेल हुन्छन्। उनीहरू नेपाल र खाडीका विभिन्न मुलुकमा बसेर आफ्नो सञ्जाल चलाउँछन्। सुनीता र धनजीतलाई लैजाने एजेन्टको सञ्जाल यही दायरामा फैलिएको देखिन्छ।
भिजिट भिसाबाट खाडी मुलुकमा हुने मानव तस्करीको ट्रान्जिट हो, दुबई। २०७८ सालमा गृह मन्त्रालयले गठन गरेको भिजिट भिसा र सोबाट सिर्जित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिश गर्न गठित कार्यदलको प्रतिवेदनमा भिजिट भिसामा दुबई लैजाने प्रवृत्ति नियमन गर्न सकिए खाडीका अन्य देशमा देखिएका समस्या स्वतः कम हुने उल्लेख छ। “यूएईमा कामको खोजीमा जाने नेपालीलाई नियमन गर्न सके खाडी क्षेत्रका अन्य मुलुक तथा अन्यत्र अलपत्र पर्नेको संख्या न्यूनीकरण गर्न सहज हुनेछ,” प्रतिवेदनमा भनिएको छ।
यसरी खाडी मुलुक पुग्नेहरूले सजिलै काम पाउँदैनन्। पाए पनि जोखिममा परेको स्थितिमा कतै उजुरबाजुर गर्न सक्दैनन्, गैरकानूनी बाटोबाट गएकाले आफैं कारबाहीको भागीदार बन्नुपर्ने डरले। त्यसैले कतिपयको अलपत्र अवस्थामै मृत्यु हुन्छ। “कोही उपचार नपाएर, कोही खान नपाएर मर्न सक्छन्। समस्याले घेरेपछि कतिपयले आत्महत्या गरेका हुन सक्छन्,” एसएसपी राना भन्छन्। श्रम मन्त्रालयले सन् २०२२ मा गरेको अध्ययन अनुसार नेपाली श्रमिकको मृत्युको मूल कारण जोखिमपूर्ण बसाइ र काम हो। यही कारणले मानसिक दबाबमा परेर आत्महत्या गर्नेको संख्या पनि बढेको छ।
अन्तरदेशीय मानव बेचबिखन तथा तस्करी मुद्दामा सम्बन्धित राष्ट्रमा पुगेर अनुसन्धान गर्ने पहुँच नभएकाले प्रहरी यस्तो धन्दामा संलग्न गिरोहको उपल्लो तहसम्म पुग्न सकिरहेको छैन। यही समस्या छिचोल्न प्रहरीले विदेशस्थित नेपाली नियोगहरूमा आफ्ना प्रतिनिधि राखिनुपर्ने प्रस्ताव गरेको धेरै भइसक्यो। वैदेशिक रोजगारका नाममा सीमा वारपार अपराध बढेको, आरोपितहरूले तिनै देशमा आश्रय लिने गरेको जस्ता कारण दर्शाउँदै प्रहरीले २०५६ सालमै उति वेला नेपालीहरू बढी रहेका भारत, बाङ्लादेश, थाइल्यान्ड, सिंगापुरमा प्रतिनिधि खटाउनुपर्ने प्रस्ताव गरेको थियो। नेपालीहरू वैदेशिक रोजगारमा जाने क्रम निकै पातलो रहेको त्यो समयमा यो प्रस्ताव भारतका हकमा मात्र स्वीकृत भएको थियो।
पछि खाडी मुलुक र मलेशिया रोजगारको मूल गन्तव्य बनेसँगै गैरकानूनी गतिविधि पनि बढे। कामदार लैजाँदा ठगी गर्नेहरू तिनै मुलुकमा आश्रय लिने मात्र होइन, त्यहींबाट तस्करी धन्दा चलाउन थाले। तीमध्ये एकाधलाई सम्बन्धित मुलुकले नेपाललाई बुझाए पनि बहुसंख्यक उतै लुक्न थाले। “ती मुलुकमा प्रहरीको प्रतिनिधित्व भए त्यहाँका समकक्षीसँग समन्वय गरेर अलि गहिरो अनुसन्धान गर्न सकिन्छ,” अवकाशप्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुस्कर कार्की भन्छन्।
प्रहरीको अभिलेख अनुसार पछिल्लो दशकमा मात्र प्रहरी सहचारीको आवश्यकता औंल्याउँदै चार पटक गृह मन्त्रालयमा प्रस्ताव गएको छ। पछिल्लो पटक २०८० भदौमा मलेशिया, चीन, दुबई, स्पेन र संयुक्त राष्ट्रसंघमा प्रहरी सहचारी राख्ने प्रस्ताव गरिएको थियो। “नेपालीको संख्या बढी भएका ठाउँमा उनीहरूबीच हुने अपराध पनि बढिरहेको छ,” प्रहरी प्रवक्ता नायब महानिरीक्षक (डीआईजी) दिनेश आचार्य भन्छन्, “मानव तस्करी, बेचबिखनका घटनामा अन्तरदेशीय अपराध हुने भएकाले ती मुलुकमा प्रहरी भए अनुसन्धानमा सजिलो हुने थियो।”
नेपाल बाहिर बसेर हुने अपराधको बृहत् अनुसन्धानका लागि सम्बन्धित मुलुकको पनि सहयोग चाहिने ब्यूरोका एसएसपी रानाको भनाइ छ। “यस्ता अपराधमा सबै देशको समन्वय आवश्यक हुन्छ। त्यसका लागि हाम्रो उपस्थिति त्यहीं भए व्यावहारिक हिसाबले पनि धेरै कुरा अगाडि बढाउन सकिन्छ,” उनी भन्छन्।
न मान्छे न राहत
श्रम मन्त्रालयको अध्ययन प्रतिवेदन अनुसार सन् २००८ देखि २०२१ सम्म १३ वर्षको अवधिमा मात्र वैदेशिक रोजगारीमा गएका १० हजार ६६६ नेपालीले ज्यान गुमाए। यिनमा २५५ महिला छन्। यो तथ्यांक वैदेशिक रोजगार बोर्डमा आर्थिक सहायताका लागि मृतकका परिवारले दिएको निवेदनका आधारमा निकालिएको हो। यस्तो आर्थिक सहायता श्रम स्वीकृति लिएर वैध बाटो गएकाका परिवारले मात्र पाउने हुन्। अरूको त बोर्डमा अभिलेख नै हुँदैन।
यसको अर्थ अवैध बाटो गएर विदेशी भूमिमा ज्यान गुमाएका महिलाका परिवार सरकारले उपलब्ध गराउने सुविधाबाट पनि वञ्चित छन्। वैदेशिक रोजगार बोर्डका प्रवक्ता टीकाराम ढकालका अनुसार श्रम स्वीकृति लिएर गएकाको जुनसुकै कारणले मृत्यु भए बोर्डबाट परिवारले १० लाख रुपैयाँ आर्थिक सहायता पाउँछ। यस बाहेक बीमा, सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम पनि कानूनी हकदारले पाउँछ। सम्बन्धित मुलुक वा रोजगारदाताले दिने छुट्टै सुविधा पनि हुन्छ। तर श्रम स्वीकृति नभएकाको हकमा सुविधा शून्य हुन्छ। “रोजगारका लागि गएको मुलुकको सरकार, कम्पनी वा मालिकले दियो भने एउटा कुरा। हाम्रो सरकारले त्यसमा केही गर्न सक्दैन,” ढकाल भन्छन्।
देशकै बदनामी
अन्तरदेशीय संगठित अपराध विरुद्ध काम गर्ने संस्था ग्लोबल इनिसिएटिभको संगठित अपराधको विश्वव्यापी सूचकांकमा नेपालको अवस्था झन् झन् खस्कँदो छ। सन् २०२१ मा ३५औं स्थानमा रहेको नेपाल पछिल्लो चोटि १९३ देशमध्ये २७औं स्थानमा खस्किएको छ। सार्क राष्ट्रमा पनि अघिल्लो चोटि तेस्रो स्थानमा रहेकोमा यसपालि दोस्रोमा झरेको छ।
नेपालबाट चोरबाटो हुँदै मानव तस्करी व्यापक विस्तार भइरहेको पनि इनिसिएटिभको रिपोर्टमा उल्लेख छ। घूस लिएर जाली कागजात बनाइदिन खप्पिस सरकारी अधिकृत, राजनीतिक अस्थिरता, आर्थिक विपन्नता, वैदेशिक रोजगारीमा पठाउन नेपालले लिएको लिंगभेदी नीतिलाई तस्करी मौलाउनुको मूल कारक भनी संस्थाको प्रतिवेदनमा औंल्याइएको छ।
महिला श्रमिकलाई मलेशिया र खाडी मुलुक पठाउने विषयमा सरकारको नीति स्थिर छैन। कहिले शर्त सहित खोल्ने त कहिले प्रतिबन्ध लगाउने गर्छ। सन् १९९८ मा कानी शेर्पाले कुवेतमा आत्महत्या गरे लगत्तै सरकारले महिलालाई घरेलु श्रमिकका रूपमा खाडी मुलुक जान रोक लगाएको थियो। सन् २००३ मा खाडी मुलुकबाट बिदामा फर्किएका महिला सरकारसँग स्वीकृति लिएर पुनः जान सक्ने व्यवस्था ल्याई यो नीति केही खुकुलो बनाइयो। स्वीकृतिका लागि स्थानीय निकायको सिफारिश र अभिभावकको अनुमति चाहिने व्यवस्था गरिएको थियो।
सन् २००५ मा खाडी र मलेशियामा महिला श्रमिक पठाउन नेपालले फेरि रोक लगायो जुन सन् २०१० मा शर्त तोकेर केही खुकुलो पारियो। त्यतिखेर घरेलु श्रमिकका रूपमा जान तालीम लिएको हुनुपर्ने, दूतावासबाट अनुमति लिनुपर्ने, गइसकेपछि परिवार र दूतावाससँग नियमित सम्पर्कमा बस्नुपर्ने र रोजगारदाताले श्रमिकको सुरक्षा सुनिश्चित गर्नुपर्ने शर्त राखिएका थिए। सन् २०१२ मा ३० वर्षमुनिका महिला श्रमिकलाई खाडी मुलुक जान रोक लगाइयो। यसको दुई वर्षपछि नेपाली महिलालाई हुने दुर्व्यवहार र शोषण नियमन गर्ने भन्दै यो प्रतिबन्ध सबै देशमा लागू गरियो। सन् २०१५ मा उमेरहद २४ मा झारेर दुबई, ओमान, बहराइन, कतार, कुवेत, साउदी अरब जस्ता खाडी मुलुकमा फेरि खुला गरियो। तर यसरी गएका महिलालाई शारीरिक र मानसिक शोषण बढेको भन्दै सन् २०१७ मा संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निर्देशनमा खाडी र मलेशियामा घरेलु श्रमिक लैजान फेरि प्रतिबन्ध लाग्यो। त्यसपछि केही वर्ष प्रावधान खुकुलो पारिए पनि सरकारले २०८० माघ १० मा गरेको निर्णययता महिला श्रमिकका रूपमा खाडी जान प्रतिबन्धकै स्थिति छ।
यति हुँदा पनि दलालहरूले सरकारी कर्मचारीसँग सेटिङ मिलाएर टीआईएबाटै हुलका हुल मानिस उडाइरहेकै छन्। जस्तै, २०८० कात्तिक र मंसीरमा उपत्यका अपराध अनुसन्धान कार्यालयको दुई महीना लामो अनुसन्धानबाट विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले टोली बनाएर भिजिट भिसामा मानव तस्करी गरेको खुलेको थियो। अध्यागमनका अधिकृत नरवीर खड्का सहित २२ जना विरुद्ध मुद्दा चलेको थियो। यो समूहले भिजिट भिसामा जाने मान्छे खोज्ने, कागजपत्र बनाउने र विमानस्थलबाट पार गराउने तहगत जिम्मेवारी बाँडफाँड गरी प्रतिव्यक्ति पुरुषको १५ हजार र महिलाको ४० हजार रुपैयाँ लिने गरेको पाइएको थियो। नरवीर भिजिट भिसामा नेपालीलाई रूसी सेनामा पठाउने अलग्गै मुद्दामा समेत अभियुक्त हुन्।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सात वर्षअघिको प्रतिवेदनमा पनि विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीको सेटिङमा बेरोकतोक मानव तस्करी हुने गरेको उल्लेख छ। सेटिङ नमिल्दा कहिलेकाहीं कतिपयलाई विमानस्थलबाटै फर्काइने गरेको पनि छ। जस्तो- २०७९ वैशाखदेखि २०८० कात्तिकसम्म मात्र टीआईएबाट भिजिट भिसामा खाडी जान लागेका ६ हजार ६४७ जनालाई नियन्त्रणमा लिएर मानव बेचबिखन अनुसन्धान ब्यूरोमा बुझाइएको विवरण छ। तीमध्ये चार हजार ६१ महिला थिए।
विमानस्थलमा कडाइ हुँदा दलालहरूले स्थलमार्गबाट भारत, श्रीलंका हुँदै नेपाली महिलालाई खाडी मुलुक पुर्याउने गरेका छन्। सन् २०१९ मा मानव तस्करको जालमा परेर खाडी हिंडेका १७९ महिलालाई एकसाथ भारतबाट फर्काइएको थियो। कोभिड-१९ कालमा पनि उक्त रूटबाट हिंडेका थुप्रै महिलालाई श्रीलंका तथा भारतको मणिपुरबाट फर्काइएको थियो।
भिजिट भिसामा श्रमिक लैजाने प्रवृत्ति नियन्त्रण गर्न पछिल्लो चोटि सरकारले कागजातमा कडाइ गर्न थालेको छ। भिजिट भिसामा यात्रा गर्ने नेपालीका लागि २०८० माघमा जारी गरिएको यात्रा परामर्श सम्बन्धी सूचनामा दुईतर्फी हवाई टिकट, भ्रमण अवधिभरको होटल बूकिङ, आफन्तले बोलाएको भएमा तीनपुस्ते विवरण जस्ता कागजात चाहिने उल्लेख छ। बहराइन, कुवेत, दुबई, कतार, ओमान, साउदी अरबमा जानेले यी विवरण सहित स्वघोषणा फाराम समेत भर्नुपर्छ। उक्त फाराममा कसैको प्रलोभन, करकापमा नपरी आफूखुशी भ्रमणमा गएको भनेर स्वघोषणा गर्नुपर्छ। स्वघोषणामा लेखिएको प्रमाण पुर्याउने जिम्मा पनि सोही व्यक्तिको हुन्छ। तर पनि अवैध बाटोबाट गएर उतै ज्यान गुमाउनेको संख्यामा कमी आएको छैन।