तीनबुँदे सहमतिपछि खुल्यो पोखरा महानगरको ताला
पोखरा महानगरपालिकाका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाइएको ताला बुधबार बिहान खुलेको छ।
पोखराका मेयर धनराज आचार्यले नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिसँग सहमति गरेपछि ताला खुलेको हो। उनीहरूसँग तीनबुँदे सहमति भएको मेयर आचार्यले बताए।
नेकपा (एमाले)का जनप्रतिनिधिले बहिष्कार गरेपछि मेयर आचार्यले नगर सभाको स्थगन गरेका थिए। त्यसपछि कांग्रेसका जनप्रतिनिधिले सोमबार मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका थिए। बुधबार ताला खुलेपछि मेयर आचार्यले सबै जनप्रतिनिधिलाई धन्यवाद दिएका छन्।
तीनबुँदे सहमतिमा गत मंसीर २३ मा बसेको विशेष नगर सभाले गरेका निर्णय कार्यान्वयन गर्ने उल्लेख छ। त्यस्तै, नगर सभा माघ ११ गते बोलाउने र योजनाको रकम रकमान्तर र शीर्षकान्तर गर्ने व्यवस्था मिलाउने सहमति भएको छ।
वडा कार्यालय, महाशाखा र शाखामा विनियोजित बजेट शीर्षकान्तर र रकमान्तर नहुँदा कार्यान्वयन गर्न समस्या भएको जनप्रतिनिधिको गुनासो थियो।
कांग्रेसका तर्फबाट पोखरा-४ का वडाध्यक्ष देवकृष्ण पराजुलीको नेतृत्वमा तालाबन्दी गरिएको थियो। मेयर आचार्यले माग पूरा गर्न सहमति गरेपछि ताला खोलिएको उनले बताए।