न्यायाधीश योगीको इजलासमा रवि लामिछानेको बयान
सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग जिल्ला अदालत, रुपन्देहीको इजलास नं. ५ मा बयान लिइँदै छ।
बुटवलको सुप्रिम सहकारीको रकम अपचलनमा लामिछाने सहित २८ जना विरुद्ध जिल्ला अदालत, रुपन्देहीमा मुद्दा दर्ता भएको छ। त्यसका लागि लामिछाने बुधबार बिहान जिल्ला अदालतमा उपस्थित भएको सूचना अधिकारी अनन्तराज मरासिनीले बताए।
अदालतको इजलास नं. ५ मा लामिछानेको मुद्दाको पेशी तोकिएको छ। न्यायाधीश प्रह्लादकुमार योगीको एकल इजलासमा लामिछानेको बयान लिइनेछ।
शुरूआतमा मुद्दाको मिसिल अध्ययन हुन्छ। त्यसपछि आजै बयान लिइने सूचना अधिकारी मरासिनीले बताए। “अहिले इजलास बस्ने बित्तिकै मिसिल अध्ययन हुन्छ, त्यसपछि आजै बयान हुन्छ,” उनले भने।
समयमै बयान सकियो भने आजै र नत्र बिहीबार थुनछेक बहस शुरू हुनेछ। त्यसपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने भन्ने आदेश हुनेछ।
लामिछाने सहित २८ जना विरुद्ध एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको अभियोग लागेको छ। यसमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईलाई पनि विपक्षी बनाइएको छ।
जिल्ला अदालतमा दर्ता गरिएको अभियोगपत्रमा सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा लगिएको उल्लेख छ। त्यसमध्ये दुई करोड रुपैयाँ प्रक्रिया पूरा नगरी लामिछानेको नाममा ऋण लगिएको अभियोगपत्रमा दाबी गरिएको छ।
लामिछाने विरुद्ध पोखरा र काठमाडौंमा पनि मुद्दा दर्ता छ। पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए भने काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा ५० लाख धरौटी बुझाएका थिए।
जिल्ला अदालत, कास्कीको निर्णय विरुद्ध उच्च अदालत, पोखरामा निवेदन परेको छ। जिल्ला सरकारी वकीलको कार्यालयले लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न माग गर्दै निवेदन दिएको हो। त्यसमा उच्च अदालतले जिल्ला अदालतको निर्णय सहितको प्रतिवेदन मगाएको छ।