शीतलहरबाट जोगिन नेपालगन्जका विद्यालय बन्द
पश्चिम तराईमा शीतलहरका कारण चिसो बढेपछि जनजीवन प्रभावित भएको छ।
चिसोका कारण बुधबारदेखि नेपालगन्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन बिदा दिइएको छ। माघ ११ गतेसम्म जाडो बिदा दिइएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ।
उपमहानगरका शिक्षा, युवा तथा खेलकूद महाशाखा प्रमुख गोर्खबहादुर थापाका अनुसार मौसमी प्रतिकूलताका कारण शीतकालीन बिदाबाट कट्टी हुने गरी बिदा दिइएको हो। शीतलहरले विद्यालय सञ्चालनमा कठिनाइ भएको उनको भनाइ छ।
अभिभावकले पनि अनौपचारिक रूपमा विद्यालयका साथै पालिकामा बिदाका निम्ति अनुरोध गर्दै आएका थिए। शीतलहरका कारण मध्याह्नसम्म घाम लाग्ने गरेको छैन।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिनदेखि तराईमा हुस्सु र कुहिरो लागिरहेको छ। बुधबार पनि तराईका सबै जिल्लामा हुस्सु लागेको छ। मध्याह्नदेखि बिस्तारै आकाश खुल्ने महाशाखाको आकलन छ।