रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको छैन: जनमोर्चा
राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधले मुद्दा चलाइयो भन्ने आरोप सही नभएको जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले आफ्ना सभापति विरुद्ध राजनीतिक प्रतिशोधले कारबाही अघि बढाइयो भनिरहेका बेलाले जनमोर्चाले आफ्नो धारणा सार्वजनिक गरेको हो। जनमोर्चा उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलद्वारा मंगलबार जारी विज्ञप्तीमा भनिएको छ, “सहकारी रकमको ठगी प्रकरणमा हाम्रो यो पनि स्पष्ट सोचाइ छ कि उनीमाथि उक्त विषयमा चलाइएको मुद्दा राजनीतिक प्रतिशोधद्वारा चलाइएको भन्ने आरोप सही छैन।”
पूर्व गृहमन्त्री समेत रहेका लामिछानेमाथि अनुसन्धान गर्ने पर्याप्त आधार रहेको जनमोर्चाको निश्कर्ष छ। उसले भनेको छ, “उक्त मुद्दामा उनी दोषी छन् वा छैनन्? त्यो कुरा अदालतले नै फैसला गरेपछि थाहा हुने कुरा हो। तर उनीमाथि पुर्पक्षको जुन कारबाही भइरहेको छ, त्यसका लागि पर्याप्त आधारहरू छन्।”
सहकारी ठगी प्रकरणमा लामिछाने बाहेक अन्य धेरै व्यक्तिहरूमाथि भइरहेको कारबाहीलाई स्मरण गर्नुपर्ने जनमोर्चाले उल्लेख गरेको छ। कुनै दल निकट भएकै आधारमा कसैलाई उन्मुक्ति दिन नहुनेमा जनमोर्चाको जोड छ।
\सूर्यदर्शन सहकारी र स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको आरोप लागेका लामिछाने कास्की जिल्ला अदालतको आदेशपछि ६५ लाख र काठमाडौं जिल्ला अदालतको आदेशपछि ६० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। सुप्रिम सहकारी प्रकरणमा लामिछाने लगायत विरुद्ध जिल्ला अदालत रुपन्देहीमा अर्को मुद्दा दायर भएको छ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि लामिछानेका समर्थकद्वारा काठमाडौं जिल्ला अदालत परिसरमा भएको आक्रमणको जनमोर्चाले विरोध गरेको छ।