निजी कम्पनीको अवार्ड समारोह, पर्यटन बोर्डको लाखौं खर्च
पर्यटनसँग साइनो न सम्बन्धको मनोरञ्जन क्षेत्रको कम्पनीले पर्यटनका नाममा आयोजना गरेको अवार्ड कार्यक्रममा नेपाल पर्यटन बोर्डले लाखौं रुपैयाँ खर्च गरेको पाइएको छ।
माघ २ गते विश्व पर्यटन दिवस वा सगरमाथा दिवस जस्ता पर्यटन सम्बन्धी कुनै दिवस पर्दैनन्। तर सोही दिन पर्यटनको नाममा काठमाडौंको सोल्टी होटलमा विभिन्न राष्ट्रका मन्त्री, सांसद लगायत १०० जनाभन्दा बढी विदेशी पाहुना र नेपालका पर्यटनमन्त्रीदेखि विभिन्न सेलिब्रेटीसम्मको उपस्थितिमा तामझामपूर्ण कार्यक्रम भयो।
अफ्रिकी महाद्वीपमा पर्ने नयाँ राज्य बिरल्यान्डकी प्रधानमन्त्री महारानी इडिनो सोरियानो त्रिनिदाद, कतारकी राजकुमारी आश्मा अल थानी, भारतको झारखण्ड राज्यका मन्त्री विजेन्द्र गोयल, बिहारका विवादित सांसद पप्पु यादव (राजेश रञ्जन) लगायत विदेशी र नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे तथा विभिन्न कलाकार निम्त्याएर ‘एभरेस्ट टुरिज्म अवार्ड–२०२५’ नामको कार्यक्रम आयोजना गरिएको थियो। तर यो कार्यक्रम आयोजना गर्ने कम्पनीको पर्यटनसँग कुनै साइनो छैन।
गीतसंगीत र मनोरञ्जन क्षेत्रमा काम गर्ने निजी कम्पनी ए.एम.एस म्युजिक एन्ड इन्टरटेन्मेन्ट प्रालिले आयोजना गरेको एभरेस्ट टुरिज्म अवार्ड कार्यक्रममा हिमाल आरोहण तथा पर्यटन क्षेत्रमा योगदान पुर्याउने ४२ जनालाई अवार्ड र २५ जनालाई सम्मान प्रदान गरिएको आयोजक प्रालिकी अध्यक्ष सत्यकला तामाङ लामाले हिमालखबरलाई बताइन्। कार्यक्रममा पहिलो पटक सगरमाथा आरोहण गर्ने टोलीका एक मात्र जीवित सदस्य कान्छा शेर्पालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड र जुन्को ताबेई, पासाङ ल्हामु शेर्पा, भूगोलविद् हर्क गुरुङ लगायत मृत तथा जीवित गरी २५ जनालाई सम्मान गरिएको थियो।
पाँच घण्टाभन्दा लामो समय चलेको कार्यक्रममा सम्मान तथा अवार्ड वितरण गर्दा गर्दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे थकित देखिन्थे। लामो र भद्रगोल कार्यक्रममा सम्मान थाप्न भनेर गएका कतिपय व्यक्ति कार्यक्रमको बीचैमा उठेर हिंडेका थिए। आयोजकले राष्ट्रपति रामचन्द्र पौडेलबाट सम्मान तथा अवार्ड प्रदान गर्ने जानकारी गराए पनि कार्यक्रममा मन्त्री पाण्डे, भारतको बिहारका विवादित सांसद पप्पु यादव लगायतले अवार्ड वितरण गरेका थिए।
बिहारमा हत्या, अपहरण जस्ता आपराधिक कार्यमा जोडिएर विवादित बनेका सांसद यादव लगायत नेपालको पर्यटनसँग सम्बन्ध नभएका विदेशी अतिथिहरू निम्याउनुको कारणबारे सोध्दा आयोजक प्रालिकी अध्यक्ष तामाङ भन्छिन्, “उहाँहरूले पर्यटकहरू पठाएर नेपालको पर्यटन विकासमा सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा गरेका छौं। नेपालको पर्यटनमा सहयोग गर्न सक्ने अतिथिहरूलाई नै बोलाएका हौं।”
आयोजकले अतिथिलाई पठाएको पत्र तथा प्रायोजकलाई पठाएको प्रस्तावपत्रमा ‘दिगो पर्यटनका लागि हिमाल बचाऔं’ भन्ने नारा सहित सचेतनाका लागि अवार्ड आयोजना गरिएको उल्लेख छ।
कार्यक्रममा नेपाल बाहेक भारत, इन्डोनेशिया, जापान, फिलिपिन्स, कतार, दक्षिण कोरिया, हंगेरी, चीन, फ्रान्स, दक्षिण अफ्रिका, अमेरिका, थाइल्यान्ड, बाङ्लादेश, संयुक्त अरब इमिरेट्स, बहराइन, हङकङ, क्यानडा लगायत देशबाट ११३ जना अतिथि सहभागी भएको आयोजकले जनाएको छ। कार्यक्रममा नेपाल तथा विभिन्न देशका कलाकारले नृत्य प्रस्तुत गरेका थिए। माघ २ मा आउन ढिला गरेको इन्डोनेशियाको कलाकार टोलीका लागि आयोजकले माघ ६ गते बेग्लै कार्यक्रम आयोजना गरेको थियो।
म्युजिक भिडिओ निर्माण तथा सांगीतिक र फिल्मी अवार्ड कार्यक्रम आयोजना गर्दै आएको र पर्यटनसँग सम्बन्ध नरहेको कम्पनीले पहिलो पटक आयोजना गरेको टुरिज्म अवार्डमा नेपाल पर्यटन बोर्डले लाखौं रुपैयाँ खर्च गरेको पाइएको छ।
आयोजक प्रालिकी अध्यक्ष तामाङका अनुसार अवार्ड समारोह गर्न रु. दुई करोड खर्च भएको छ। त्यसमध्ये नेपाल पर्यटन बोर्डले रु. १५ लाख सहयोग गरेको र नेपाल पर्वतारोहण संघ तथा विभिन्न ट्राभल एजेन्सी तथा पर्यटनसँग सम्बन्धित संघसंस्थाले सहयोग गरेका छन्। उनी भन्छिन्, “पहिला हामी संगीत र फिल्म सहित सबै क्षेत्र समेटेर अवार्ड कार्यक्रम आयोजना गर्थ्यौं, यस पटक पर्यटन क्षेत्रका लागि अवार्ड गर्दा दुई करोड रुपैयाँ जति खर्च भएको छ। ऋणमा छौं।”
पर्यटनसँग कुनै साइनो नभएको मनोरञ्जन क्षेत्रको कम्पनीले आयोजना गरेको अवार्डमा नेपाल पर्यटन बोर्डले लगानी गरेको विषयमा पर्यटन क्षेत्रका सरोकारवालाले प्रश्न उठाएका छन्। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी भने बोर्डले विदेशबाट आउने भ्लगर, इन्फ्लुएन्सर लगायत १६/१७ जनालाई पोखरा घुमाउन खर्च गरेको बताउँछन्। “विभिन्न देशका लोकप्रिय मान्छेहरू आउँछन्, उनीहरूलाई घुमाउन पाए नेपालको पर्यटन प्रवर्द्धन हुन्छ भनेर खर्च गरेका हौं,” उनी भन्छन्, “हाम्रो खास खर्च तीन लाख जति हो, तर गाडी र अन्य कुरा प्रयोग गर्दा जम्मा १०/१२ लाख बराबरको खर्च भएको होला।”
पर्यटनसँग कुनै सम्बन्ध नरहेका कम्पनीहरूले अवार्ड आयोजना गर्नु विकृति भएको नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पा बताउँछन्। अवार्डका आयोजकले अन्तर्राष्ट्रिय पाहुना आउने र आरोहीलाई समेत अवार्ड र सम्मान प्रदान गर्ने भनेपछि संघले पनि नाइँ भन्न नसकेको उनी बताउँछन्। “कुनै क्लब वा जुनसुकै संस्थाले मनखुशी अवार्ड गर्नु विकृति हो, यसबाट अवार्ड लिने व्यक्तिहरूलाई पनि केही फाइदा छैन। यस्तो विकृति रोकिनुपर्छ। अवार्ड पनि कसले गर्न पाउने भनेर मापदण्ड बन्नु आवश्यक छ,” अध्यक्ष शेर्पा भन्छन्।