कर्णाली सरकारबाट बाहिरिने पूर्व मुख्यमन्त्री शाहीको चेतावनी
कर्णाली प्रदेशको सत्ता साझेदार नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारबाट बाहिरिने चेतावनी दिएका छन्।
वाइडबडी प्रकरण मुद्दामा सफाइ पाएसँगै शाही प्रदेश सभाको पाँचौं अधिवेशनको पहिलो बैठकमा आक्रामक रूपमा प्रस्तुत भएपछि कांग्रेस सरकारबाट बाहिरिने आशंका गरिएको छ। कांग्रेसको समर्थनमा एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बनेको ६ महीनामै गठबन्धनभित्रको विवाद बाहिर आएको छ।
“यसै साताभित्र आठबुँदे सहमति कार्यान्वयनको अवस्थाका बारेमा जानकारी दिन माग गर्दछु,” शाहीले सोमबारको प्रदेश सभा बैठकमा चेतावनी दिंदै भने, “यदि कार्यान्वयन नभएको पाइए पवित्र गठबन्धन गर्नेहरू बस्नुहोला, हामी सरकारबाट बाहिर बस्नेछौं।”
सरकार छोड्दा कारबाही भोग्नुपरे पनि आफू तयार रहेको उनले बताए। “यता सरकार छोड्दा कारबाहीको पनि तयारी होला, त्यो पनि भोग्न तयार छु,” कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री शाहीले भने, “अन्याय सहेर सरकारमा बसिन्नँ।”
शाहीको भनाइलाई लिएर एमाले नेताहरूले फरक फरक धारणा व्यक्त गरेका छन्। चित्त नबुझेको कुरामा गठबन्धनभित्र छलफल र बहस गर्नुको साटो एक्कासि संसद्मै बोल्नु उचित नभएको तर्क कतिपयको छ। एमालेका प्रमुख सचेतक टेकराज पछाईंले शाहीको भनाइले गठबन्धनमा समस्या नहुने बताए। “उहाँले आफूलाई चित्त नबुझेको कुरा राख्नु उहाँको व्यक्तिगत कुरा हो,” उनले भने, “यसले गर्दा गठबन्धनमा कुनै समस्या पर्दैन।” यस्ता विषय गठबन्धनभित्रै छलफल गर्नु उचित हुने उनको भनाइ छ।
यता कांग्रेसका सांसदहरूले शाहीको अभिव्यक्ति स्वाभाविक भएको प्रतिक्रिया दिएका छन्।