इतिहासको पानामा हराएका पहिलो ओलम्पियनको इच्छा
नेपालका पहिलो ओलम्पियन ८० वर्षीय बक्सर क्या. नामसिंह थापा मगर भन्छन्, “म मर्नुअघि कसैले ओलम्पिक पदक जितेको हेर्नु मन छ।”
नेपालले ओलम्पिक गेम्समा सहभागिता जनाउन थालेको ६० वर्ष पुगिसक्यो। सन् १९६४ मा एशियामै पहिलो चोटि जापानको टोकियोमा सम्पन्न १८औं ओलम्पिक गेम्समा नेपालले पनि पहिलो चोटि भाग लिएको थियो। विश्व खेलकूदको कुम्भमेलामा नेपाली खेलाडीको सहभागिता कसरी गराइएको थियो? त्यस पछाडिका पात्र को को थिए? लामो कालखण्डसम्म पनि यसको ऐतिहासिक पक्षमाथि चर्चा नै चलाइएन। १०–२४ अक्टोबरसम्म टोकियोमा सम्पन्न यो महामेलामा नेपालले चार बक्सर र दुई धावकलाई सहभागी गराएको थियो। तर ती खेलाडीलाई कहाँबाट खोजेर कसरी सहभागी गराइएको थियो भन्ने तथ्य निकै रोचक छ। नेपालले सहभागिता जनाएको पहिलो ओलम्पिकका ६ जनामध्ये जीवित दुईमध्येका ८० वर्षीय नामसिंहलाई भने हामीले हङकङमा भेट्टाएका छौं।
नाम जस्तै नामसिंह
आजभन्दा ७४ वर्षअघि बेलायती सेनामा कार्यरत बुबासँग सुनौली–नौतनवा–गोरखपुर हुँदै कलकत्ता पुगेका स्याङ्जाका ६ वर्षीय बालक नामसिंह भविष्यमा नेपाली इतिहासको स्मरणीय पात्रका रूपमा स्थापित हुनेछन् भन्ने कुरा उनका फौजी बुबालाई केको हेक्का, भयो त्यस्तै। कलकत्ता बन्दरगाहबाट पानीजहाज हुँदै एकमहीने सामुद्रिक यात्रा तय गरी बुबाको पल्टन मलाया (अहिलेको मलेशिया) पुगेका नामसिंह शुरूमै बेलायती शिक्षादीक्षामा हुर्कन पाए। गोरा अफिसर्सहरूको निगरानीमा हुर्किएका उनलाई १४ वर्षको उमेरमा जुनियर ब्वाइजमा भर्ती गरियो। निकै छरिता नामसिंहलाई गोरा अफिसरले बक्सिङ रिङमा छिराइदिए। त्यहाँ उनले राम्रो प्रदर्शन गर्दै गए। शुरूमा गोर्खाहरूबीचको प्रतिस्पर्धामा भिडेका उनलाई बिस्तारै स्थानीयहरूसँग पनि लडाउन रिङभित्र छिराउन थालियो। मले, चिनियाँ र इन्डियनहरूबीच हुने यस्ता प्रतियोगिता उनले जित्दै गए। दुईवर्षे सिनियर ब्वाइजको तालीम सकाएपछि नामसिंहलाई १७ वर्षको उमेरमा पदोन्नति गरी पल्टन पठाइयो।
नामसिंहको पल्टन ‘सिक्स क्विन्स एलिजावेथ गोर्खा राइफल्स’ हङकङमा भएकाले सन् १९६२ मा उनी पनि हङकङ छिरे। मार्शल आर्टस्मा ख्याति कमाएको हङकङ बक्सिङका लागि झन् उर्वरथलो थियो। त्यहाँ पनि नामसिंहले बक्सिङप्रेमीहरूको मन जित्दै गए। गोर्खाली युवाको बक्सिङ क्षमता देखेर होला, अस्ट्रेलियन मूलका प्रशिक्षक बिली टिंगलले नामसिंह लगायत ४ नेपाली युवालाई १८औं ओलम्पिक गेम्समा नेपालका तर्फबाट भाग लिन जापान पठाउने चाँजोपाँजो मिलाउन थाले। यसका निम्ति बिलीले बेलायती राजलाई त विश्वासमा लिए नै, तत्कालीन राजा महेन्द्रलाई पनि ‘कन्भिन्स’ गरे। त्यतिन्जेल नेपालले ओलम्पिकमा सहभागिता जनाएको थिएन। बक्सिङतर्फ नामसिंह सहित बेलायती गोर्खा सेनाका जवानहरू रामप्रसाद गुरुङ, भीमबहादुर गुरुङ, ओमप्रसाद पुन सहभागी हुने भए भने नेपालबाट एथलेटिक्सतर्फका दुई खेलाडी भूपेन्द्रबहादुर केसी र गंगाबहादुर थापा जापान उड्ने भए। चार बक्सर बेलायती सेनाको जहाजमा हङकङबाटै सीधा टोकियो जाने र बाँकी दुई खेलाडी चाहिं अफिसियल्सहरूसँगै काठमाडौंबाट उड्ने छलफल बमोजिम सबैको भेट ओलम्पिक मैदानमा हुने भयो।
चार फिट आठ इन्च अग्लो कदकाठीका नामसिंहले मलाया र हङकङका रिङमा निकै वाहवाही बटुलेका भए पनि ओलम्पिक रिङमा आफूभन्दा जब्बर र अनुभवी खेलाडीको अगाडि एक राउन्डभन्दा बढी टिक्नै सकेनन्। हारे। अन्य खेलाडीको पनि जित भएन। नामसिंहसँगै गएका ओमबहादुर पुनले पहिलो प्रतिस्पर्धा जिते पनि अर्काे प्रतिस्पर्धा हारेकाले देशले पहिलो चोटिको सहभागिताबाट कुनै मेडल प्राप्त गर्न सकेन। ओलम्पिकको दुई साताको रौनक सकिएपछि नामसिंहहरूलाई जसरी त्यहाँ लगिएको थियो, त्यसरी नै हङकङ कर्मथलोमा फर्काइयो, बाँकी नेपाल फर्किए।
‘खोला तर्यो, लौरो बिर्सियो’
त्यसपछि ती खेलाडीलाई न राज्यले खोज्यो न सम्बन्धित खेलकूद संस्थाले स्मृतिमा राख्यो। स्वदेश फर्किएका दुई जना बाहेक बेलायती सेनामा कार्यरत चार जनाको त झन् अत्तोपत्तो थिएन। पहिलो चोटि ओलम्पिकमा भाग लिने खेलाडीहरू को थिए? कहाँ गए? कसैलाई थाहा थिएन। हङकङमा भेटिएका बेलायती सेनाका सेवानिवृत्त क्याप्टेन तथा टोक्यो ओलम्पिकमा बक्सिङ खेलमा सहभागी नामसिंहका अनुसार एक्कासि ४८ वर्षपछि सोधखोज भयो। सन् २०१२ मा लन्डनमा आयोजित ‘ओलम्पिक गेम’ हेर्न नेपालबाट दुई धावकलाई लगिएको थियो। मिडियामा चर्चा उठेपछि त्यसपछि अन्य चार जनाको पनि खोजीनिधी शुरू भयो। त्यति वेला लन्डन लगिएका दुई जना अहिले दैहिक लोकमा छैनन्। त्यसो त चार बक्सरमध्ये दुई जना मात्र बाँकी छन्, एउटा स्वयं नामसिंह र अर्का चितवनका रामप्रसाद गुरुङ। गुरुङ चाहिं पक्षाघातका कारण यताउति हिंडडुल गर्न सक्दैनन् भनिन्छ। तर ८० वर्षीय नामसिंहको सक्रियता सुनाइनसक्नु छ। उनी कहिले हङकङ सरकारको सहयोगमा सञ्चालित चाइनिज भाषा कक्षामा भेटिन्छन्, कहिले एआई सम्बन्धी तालीममा युवामाझ आज्ञाकारी विद्यार्थी बनेर बसेको देख्न सकिन्छ। उनको जीवनशैली अत्यन्त सक्रियतामा बितिरहेको हुन्छ। हिमालखबरका निम्ति आफ्नो विगत र वर्तमान सुनाउन डेढ घण्टा लामो बाटो छिचोल्दै जोर्डन आइपुगेका नामसिंहले आफूले संग्रह गरेका दस्तावेज र पुरस्कार राखिएको ठूलो ब्याकप्याक समेत बोकेर आएका थिए।
आफूले आर्जन गरेका कागजपत्र संग्रह गरिराख्ने बानी भएकाले नामसिंहसँग ओलम्पिकमा खेल्दा प्राप्त गरेका सबै कागजात र मायाको चिनो जति सुरक्षित छन्। तत्कालीन राजा महेन्द्र र रानी रत्नले खेलाडीहरूलाई पठाएको व्यक्तिगत शुभकामना समेत उनीसँग संगृहीत थिए, जुन ओलम्पिक कमिटीमा नभएपछि उनले नै कपी गरेर दिएका छन्। सम्बन्धित निकायको संग्रहालयमा नभएका ओलम्पियनको परिचयपत्रदेखि त्यति वेला खिचिएका तस्वीर समेत उनले जतनका साथ राखेका छन्।
राज्यको नजरमै नपरेका र इतिहासका पानाबाट समेत लामो कालखण्ड गुमनाम नामसिंहसँग हिमालखबरका जेबी पुन मगरले ऐतिहासिक अध्यायका यी पत्रहरूमाथि केन्द्रित रहेर लामो कुराकानी गरेका छन्। यो कुराकानीमा ओलम्पिक बाहेक नामसिंहले मलायामा प्राप्त गरेको शिक्षादीक्षा, मलायामा गोर्खालीले विद्रोही कम्युनिस्ट दबाउन लडेको गोरिल्ला युद्ध, हङकङ बनाउन बेलायती सेनाले खेलेको भूमिका, नेपालमा फर्किएर थापाले गरेको कृषि प्रयत्न र बेलायती पेन्सन क्याम्प सञ्चालनको नेतृत्वदायी भूमिका, त्यसपछि पुनः हङकङ फर्किएर त्यहाँ सेक्युरिटी उद्योग स्थापनामा खेलेको भूमिका सँगसँगै उनको बक्सिङ करिअर लगायत विषय समेटिएका छन्।
प्रस्तुत छ, नामसिंहसँग हङकङमा रेकर्ड गरिएको यो भिडिओ वार्ता :