संसद्को हिउँदे अधिवेशन आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले माघ १८ गते संघीय संसद्को अधिवेशन बोलाएका छन्।
प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन माघ १८ गते दिउँसो १ बजेलाई आह्वान गरिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अधिवेशन बोलाउन सिफारिश गर्ने निर्णय गरेको थियो। सरकारले संसद् छलेर अध्यादेश मार्फत शासन गर्न खोजेको आरोप लागिरहेका वेला अधिवेशन आह्वान भएको हो।
नेकपा (माओवादी केन्द्र) लगायत विपक्षी दलहरूले संसद्को अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने चेतावनी दिएका थिए।