एक वर्षमा बेचबिखन प्रभावित १४५ जनाको उद्धार
नेपाल र भारत हुने बेचबिखनमा परेका व्यक्तिहरूको उद्धार गर्दै आएको किन इन्डियाले १४५ जनाको उद्धार गरेको छ।
सन् २०२४ मा भारतका विभिन्न शहरमा बेचबिखनमा परेका र पर्ने उच्च जोखिममा रहेकालाई उद्धार गरेको जनाइएको छ। नेपाली तथा भारतीय महिला तथा बालबालिका सहित केही पुरुषको उद्धार गरी सबैलाई स्वदेश फिर्ता गरिएको संस्थाका निर्देशक नवीन जोशीले बताए।
संस्थाको बोर्ड बैठकपछि जारी विज्ञप्ति मार्फत पछिल्लो एक वर्षमा गरिएका कामको जानकारी दिइएको हो। बैठकमा संस्थाद्वारा पछिल्लो एक वर्षमा गरिएका कामको समीक्षा गर्नुका साथै आगामी दिनमा गरिने कामको योजना निर्माण गरिएको निर्देशक जोशीले बताए।
संस्थाका नेपाल संयोजक इन्द्रराज भट्टराईका अनुसार सन् २०२४ मा नेपाल र भारतमा गरी २६ वटा घटनामा आरोपित विरुद्ध मुद्दा दर्ता भएको छ। संस्थाले हाल जीएसआईएफ, शुभ अवसर ग्राम नेपाल, शक्ति समूह लगायत संस्थासँगको सहकार्यमा काम गरिरहेको छ।