माओवादी नै प्रशंसा गर्छन् शिक्षक मुक्तिनाथ अधिकारीको
शिक्षक मुक्तिनाथ अधिकारीलाई माओवादीले कक्षाकोठाबाट लगेर गाउँछेउकै बारीमा गोली हानी हत्या गरेको २३ वर्ष बितिसक्दा पनि दुराडाँडावासीले बिर्सिन सकेका छैनन्।
यो त्यही कक्षाकोठा हो।
लमजुङको दुराडाँडास्थित पाणिनि संस्कृत माविको प्रांगणबाट औंलाले इशारा गर्दै नवराज अधिकारी बोल्दा सबैको नजर कक्षाकोठातिर सोझियो। एकछिन सन्नाटा छायो।
विद्यालयका तीन भवनमध्ये दायाँतिर पाँचकोठे भवन छ। स्थानीय बासिन्दा तथा हाल उक्त विद्यालयको प्रधानाध्यापक नवराज अधिकारीले अगाडितिरको कक्षाकोठातिर इशारा गरेका थिए। उनले थपे, “यही कक्षाकोठाबाट हाम्रो विद्यालयको अभिभावकलाई विद्यार्थीको सामुन्ने नै धरपकड गरिएको थियो।”
उनी २३ वर्षअघिको घटना सम्झिंदै थिए। २०५८ माघ ३ गते पाणिनि संस्कृत माविका प्रधानाध्यापक मुक्तिनाथ अधिकारीलाई तत्कालीन विद्रोही माओवादीले कक्षाकोठाबाट लगेका थिए। दिउँसो १ बजे कक्षाकोठाबाट लगेका माओवादीले अधिकारीलाई नजीकैको चन्द्रेश्वर डाँडास्थित खेतको कान्लाछेउमा उत्तिसको रूखमा उनकै गलबन्दीले झुन्ड्याएर अपराह्न ३ बजेतिर गोली हानी हत्या गरेका थिए।
सोही दिनको सम्झनामा यही माघ ३ गते दुराडाँडावासी र अधिकारकर्मी संस्कृति पाणिनि माविको प्रांगणमा भेला भएका थिए। २३ वर्षअघि हत्या गरिएका अधिकारीको स्मृतिमा उनीहरू श्रद्धासुमन अर्पण गरिरहेका थिए। “दुराडाँडाको एउटा नक्षत्र अन्त्य गरिएको दिन हो त्यो,” स्थानीय कृष्णप्रसाद कोइराला भन्छन्।
हत्याको एक दिनअघि मात्र शिक्षक अधिकारीले प्रधानाध्यापकको जिम्मेवारी पाएका थिए। त्यो दिन कोइराला र अधिकारी सुन्दरबजारस्थित गण्डकी होटलमा सँगसँगै थिए। “सिमसिम पानी पर्दै थियो, मुक्तिनाथ सर सुन्दरबजारबाट दुराडाँडा गाउँतिर लागेका थिए,” कोइराला सम्झिन्छन्।
भोलिपल्ट नेपाली कांग्रेसको पार्टी कार्यालयमा बसिरहेको वेला कोइरालाले खबर पाए, माओवादीले अधिकारीको हत्या गर्यो। त्यति वेलै घटनास्थल पुग्न खोजेको भए पनि नसकिएको उनी बताउँछन्। अहिले सुन्दरबजार नगरपालिकामा मेयर रहेका कोइराला भन्छन्, “समाजमा असल मान्छेको हत्या गरेर आतंक फैलाउने उद्देश्यले मुक्तिनाथ अधिकारीको हत्या गरिएको थियो।”
त्यति वेला समाजका अग्रज, सेना र प्रहरीका परिवारका सदस्य, शिक्षकको हत्या गरिएको कोइराला सम्झिन्छन्। त्यही क्रममा शिक्षक अधिकारीको हत्या गरिएको उनको भनाइ छ। शिक्षक अधिकारी शैक्षिक विकास र सामाजिक उत्थानमा केन्द्रित रहेको कोइराला सुनाउँछन्। “गाउँघरको विकासका लागि मलाई सल्लाह-सुझाव दिने साथी थिए,” उनी भन्छन्।
अर्की स्थानीय बासिन्दा भवानी केसी समाजमा शैक्षिक परिवर्तन ल्याउने अधिकारीको विचारको विरोधमा कक्षाकोठाबाटै अपहरण गरेर हत्या गरिएको सुनाउँछिन्। “मुक्तिनाथ अधिकारी शिक्षामा सबै वर्ग, जातिको समान पहुँच हुनुपर्ने उद्देश्य राखी समाजका सबै बालबालिकालाई विद्यालय ल्याउने अभियन्ता थिए,” सुन्दरबजारकी उपमेयर समेत रहेकी केसी भन्छिन्।
विद्यार्थीको स्मरणमा पनि अधिकारीले छोडेको छाप जस्ताको तस्तै छ। उनका विद्यार्थी महेन्द्र अधिकारी असल गुरुका रूपमा सम्झिन्छन्। आफूलाई गणित विषय पढाएको स्मरण गर्दै उनी भन्छन्, “मेरा गुरुको सन्देश र चेतनालाई आत्मसात् गर्दै अगाडि बढ्ने प्रयत्न गरिरहेको छु।”
उनी माओवादीको सुन्दरबजार नगरका अध्यक्ष पनि हुन्। शिक्षक अधिकारीको प्रशंसा गर्दै उनी भन्छन्, “राजनीतिक उतारचढावमा एउटा राम्रो शिक्षकको हत्या भयो।”
अधिकारीको हत्या गरिएको ठाउँमा रातभर जाग्राम बसेका अधिकारकर्मी कृष्णप्रसाद अधिकारी हत्याको खबरले स्तब्ध बनाएको बताउँछन्। त्यति वेला अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)मा कार्यरत तीन जना साथीसँगै अधिकारीको हत्या गरिएको ठाउँमा पुगेको सुनाउँछन्। “बजार सुनसान थियो, सबै त्रस्त थिए,” उनी भन्छन्, “आगो बालेर मुक्तिनाथ सरको शवनिर बसेर रात बिताएका थियौं।”
सशस्त्र द्वन्द्वका समयमा लमजुङमा अधिकारीसँगै १७२ जना मारिएका थिए। त्यो समय कहालीलाग्दो रहेको उनी सुनाउँछन्। “कक्षा ९ मा पढाउँदै गरेको शिक्षकलाई विद्यार्थीको बीचबाट लगेर हत्या गरिएको थियो,” उनी भन्छन्, “संसारमा सबैभन्दा ठूलो आपराधिक घटनाका रूपमा स्मरण गर्न बाध्य भएका छौं।”
उनका अनुसार अधिकारीको हत्यापछि धेरै शिक्षक विस्थापन भएका थिए। कतिपय फर्किए भने कतिपयले जागीर नै छाडे। हत्याको २३ वर्ष बितिसक्दा पनि राज्यले न्याय गर्न नसकेको उनको भनाइ छ।
शिक्षक अधिकारीका सहकर्मीहरू पनि उनलाई संघर्षशील व्यक्तिका रूपमा सम्झिन्छन्। “बाल्यकालदेखि नै संघर्षमय जीवन थियो उहाँको,” सहकर्मी ठाकुरप्रसाद तिवारी भन्छन्।
अधिकारी डेढ वर्षकै छँदा बुबाको मृत्यु भएको थियो। आमाले हुर्काएका अधिकारी साह्रै मिहिनेती थिए। गाह्रोसाह्रो गरेर पढेका थिए। पछि उनी विज्ञान र गणितका शिक्षक भए।
अहिलेसम्म न्याय नमिलेकोमा भने समाजसेवी तिवारी असन्तोष व्यक्त गर्छन्। न्यायका लागि सबैले दबाब दिनुपर्ने उनको भनाइ छ। “एउटा प्रधानाध्यापक मार्नुको अर्थ के हो? २३ वर्ष बितिसक्दा पनि हत्यारा नसमातिनुको कारण के हो?” उनी प्रश्न गर्छन्।
बेंसीशहरका कृष्णबहादुर अधिकारीका अनुसार शिक्षक मुक्तिनाथ अधिकारी सामाजिक कार्यमा पनि संलग्न हुन्थे। यससँगै भौतिक पूर्वाधार निर्माण, खानेपानी व्यवस्थापन गर्न र बाटोघाटोको निर्माणका लागि सम्बन्धित निकायलाई झकझक्याउने गरेका थिए।
उनी मानव अधिकारको क्षेत्रमा पनि क्रियाशील थिए। एम्नेस्टी इन्टरन्याशनल नेपालमा आबद्ध थिए। अधिकारर्मी एवं एम्नेस्टी इन्टरन्याशनल नेपालका तत्कालीन अध्यक्ष चरण प्रसाईं शिक्षक अधिकारी सिद्धान्तमा अडिग व्यक्ति भएको बताउँछन्। “न्यायका पक्षधर थिए,” प्रसाईं भन्छन्।
हरेक वर्ष माघ ३ मा एम्नेस्टी इन्टरन्याशनल नेपालले मुक्तिनाथ अधिकारीको स्मृति दिवसमा कार्यक्रम गर्दै आएको छ। यस पटक पनि दुराडाँडा पुगेका अधिकारकर्मी प्रसाईं संसारभर भएका मानव अधिकार विरुद्ध हत्याहिंसाको प्रतीकका रूपमा मुक्तिनाथ अधिकारीको हत्यालाई सम्झिन्छन्। “सरकारले इतिहास सम्झिने र त्यस्तो कालो दिन फेरि नदोहोरियोस् भन्ने सन्देशका दिन नयाँ पुस्ताका लागि अध्ययन-अनुसन्धान केन्द्र बनाउनुपर्छ,” उनी भन्छन्।
चन्द्रेश्वर डाँडा पुगेका अधिकारीका छोरा सुमन अधिकारी पनि माघ ३ लाई कालो दिनका रूपमा सम्झिन्छन्। “अहिले उत्तिसको रूख छैन। कुन ठाउँमा हत्या भएको थियो, पत्ता लगाउन गाह्रो छ,” सुमन भन्छन्, “बुबा मारिएको दिन हाम्रा लागि कालो दिन हो।”
शिक्षक अधिकारीको हत्या गरिएको चन्द्रेश्वर डाँडास्थित उत्तिसको रूख काटिएको छ। स्कूलबाट उनलाई लगेको बाटो र हत्या गरिएको स्थानमा पनि उनलाई सम्झिने गरी कुनै स्मारक बनाइएको छैन।
अहिले त्यहाँ स्मृतिद्वार बनाउन लागिएको स्थानीय बासिन्दा बताउँछन्। दुराडाँडा र चन्द्रेश्वर डाँडा रहेको सुन्दरबजार-३ का वडाध्यक्ष अमृत न्यौपाने शिक्षक अधिकारीको हत्यासँग सम्बन्धित वस्तुको संरक्षण गर्न नगरपालिका प्रयासरत रहेको बताउँछन्।
अधिकारकर्मी चरण प्रसाईं मुक्तिनाथ अधिकारीलाई सम्झिने गरी यस क्षेत्रमा संरचना बनाउनुपर्ने बताउँछन्। “बाटोघाटोको नाम दिनुका साथै मुक्तिनाथको जीवनलाई दर्शाउने गरी तत्कालीन समयको सन्देश दिने गरी संरचना निर्माण हुनु जरूरी छ,” उनी भन्छन्।
स्थानीय बासिन्दा तथा राजनीतिकर्मी शिक्षक अधिकारीको हत्यामा संलग्न व्यक्तिलाई कारबाही हुनुपर्ने बताउँछन्। सुन्दरबजारका मेयर कोइराला संक्रमणकालीन न्यायका लागि आयोग बने पनि अधिकारीको परिवारले न्याय पाउन नसकेकामा दुःख व्यक्त गर्छन्। शिक्षक अधिकारीलाई अपहरण गरेर लगिएको कक्षाकोठा अगाडि उभिएर कोइराला भन्छन्, “मुक्तिनाथ अधिकारी सरको हत्या घटनाको छानबिन गरेर दोषीलाई कानूनी कारबाही हुनुपर्छ।”