पूर्व डीआईजी जोशीलाई ५० लाख धरौटीमा छाड्न आदेश
सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशीलाई ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश ठाकुरप्रसाद खरेलको एकल इजलासले जोशीलाई धरौटीमा छाड्न आदेश दिएको स्रेस्तेदार तीर्थराज भट्टराईले बताए। “इजलासले ५० लाख धरौटीमा छाड्न आदेश गरेको छ,” भट्टराईले भने।
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा रकम लगेर ठगी गरेको आरोपमा पूर्व डीआईजी जोशी विरुद्ध मुद्दा दर्ता भएको थियो। उनी आइतबार अदालतमा हाजिर भएका थिए।
उनी विरुद्धको मुद्दामा सोमबार पुर्पक्षका लागि थुनछेक बहस भएको थियो। अदालतको आदेश अनुसार ब्यांक ग्यारेन्टी राख्ने प्रक्रिया चलिरहेको स्रेस्तेदार भट्टराईले बताए।
यसअघि जोशी विरुद्ध जिल्ला अदालत, कास्कीमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसूरमा मुद्दा दर्ता भएको थियो। सो मुद्दामा उनी ८८ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए।
स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा ३९ जनालाई प्रतिवादी बनाइएको छ। सहकारीका ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको अभियोग छ।
यसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध पनि मुद्दा छ। उनी ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।
त्यस्तै, स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा पक्राउ परेका कमल लामा र सुनीता नेवालाई पनि अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो।