अमेरिकामा टिकटक फेरि सञ्चालन
नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले कानूनी व्यवस्था गर्ने आश्वासन दिएपछि अमेरिकामा टिकटक फेरि सञ्चालन भएको छ।
सोमबारदेखि टिकटकले अमेरिकामा पुनः सेवा सञ्चालन गरेको जनाएको छ। सेवा सञ्चालनका लागि वातावरण बनाएको भन्दै नवनिर्वाचित राष्ट्रपति ट्रम्पलाई यसको श्रेय दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। टिकटकले आइतबार अमेरिकामा सेवा बन्द गरेको थियो।
टिकटकका चिनियाँ मालिक बाइटडान्सले आफ्नो अमेरिकी सहायक कम्पनी गैरचिनियाँ क्रेताहरूलाई बेच्ने समयसीमा नजिकिंदै गर्दा अमेरिकामा सेवा बन्द गरेका थिए। राष्ट्रिय सुरक्षाको कारण देखाउँदै सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने कानून लागू भएपछि टिकटक सेवा बन्द गर्न बाध्य भएको थियो। प्रतिबन्ध लाग्नुभन्दा एक दिनअघि नै टिकटकले सेवा बन्द गरेको जनाएको थियो।
त्यसपछि चीनले पनि अमेरिकालाई सामाजिक सञ्जाल प्लेटफर्म टिकटकको विषयमा ‘तर्कसंगत आवाज’ सुन्न आग्रह गरेको थियो। “अमेरिकी पक्षले तर्कसंगत आवाजलाई गम्भीरतापूर्वक सुन्नेछ र संयुक्त राज्य अमेरिकामा सञ्चालित सबै देशका बजार संस्थाहरूका लागि खुला, निष्पक्ष, न्यायपूर्ण र भेदभावरहित व्यावसायिक वातावरण प्रदान गर्नेछ भन्ने हामी आशा गर्दछौं,” चीनका विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भने।
धेरै वर्षदेखि अमेरिकामा टिकटक सञ्चालन भइरहेको उल्लेख गर्दै उनले घरेलु रोजगारीलाई बढावा दिन र उपभोग बढाउन यसले सकारात्मक भूमिका खेलेको जिकिर गरेका छन्।