२३ अर्ब लागतको जगदुल्ला जलविद्युत् आयोजनाको पुनः ठेक्का आह्वान
डोल्पाको मुडकेचुला गाउँपालिकाको इलस्थित जगदुल्ला जलविद्युत् आयोजना निर्माण गर्न पुनः ठेक्का आह्वान गरिएको छ।
यसअघिका प्रस्ताव रद्द भएपछि आयोजनाको पुनः ठेक्का आह्वान गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले बताए। यो आयोजना निर्माणमा २३ अर्ब रुपैयाँ लाग्ने आकलन छ।
यसअघि गत जेठ २० गते सिभिल र हाइड्रोमेकानिकलतर्फको ठेक्का आह्वान गरिएको थियो। आयोजनामा हाई हिमालयन हाइड्रो र एजिई कम्पनीको जेभी, झोङदिङ इन्टरन्याशनल, पटेल इन्जिनीयरिङ, लामा कन्सट्रक्शन लगायत सात वटा कम्पनीले आवेदन दिएका थिए। कुनै पनि कम्पनीको प्राविधिक प्रस्ताव पास नभएपछि पुस २१ मा प्रक्रिया रद्द गरिएको हो।
यस आयोजनाको जेठ पहिलो साता फाइनान्सियल क्लोजर भएको थियो। नबिल ब्यांकको नेतृत्वमा फाइनान्सियल क्लोजर भएको हो। फाइनान्सियल क्लोजरका लागि बनेको सहवित्तीयकरण (कन्सोर्टियम फर्म)को नेतृत्व नबिल ब्यांकले गर्दै चार अर्ब ४० करोड रुपैयाँ लगानी गरेको छ। सहवित्तीयकरणमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल), कर्मचारी सञ्चयकोष, लक्ष्मी सन्राइज र एभरेष्ट ब्यांक छन्।
एचआईडीसीएलले चार अर्ब लगानी गर्नेछ भने कर्मचारी सञ्चयकोषले चार अर्ब, लक्ष्मी सन्राइज ब्यांकले दुई अर्ब र एभरेष्ट ब्यांकले एक अर्ब ५० करोड लगानी गर्नेछन्। आयोजना निर्माणका लागि २३ अर्ब लाग्ने अनुमान छ। जसमध्ये करीब १६ अर्ब ऋण र सात अर्ब इक्विटी (शेयर)बाट जुटाउन लागिएको हो।
कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरीदबिक्री सम्झौता (पीपीए) भइसकेको छ।आयोजनासम्म पहुँचमार्ग निर्माणको काम भइरहेको छ। त्यहाँ नौ वटा बेलिब्रिज बनाउनुपर्छ, जसको काम शुरू भइसकेको कम्पनीले जनाएको छ। धेरैजसो पूर्वतयारीका काम अन्तिम चरणमा रहेको बताइएको छ।
यस आयोजनाबाट निर्माण थालेको पाँच वर्षमा विद्युत् उत्पादन गर्ने लक्ष्य छ। डोल्पामा बन्ने यो आयोजना कर्णालीको विकासका लागि समेत महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ। कम्पनीले १२० मेगावाट जगदुल्ला ‘ए’ जलविद्युत् आयोजनाको समेत निर्माण गर्न लागेको छ। (रासस)