मधेशमा मोर्चाबन्दी गर्न महन्थ ठाकुरले बनाए उच्चस्तरीय वार्ता समिति
मधेशकेन्द्रित दलहरूसँग मोर्चाबन्दी गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले उच्चस्तरीय वार्ता समिति गठन गरेको छ।
लोसपाका वरिष्ठ सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्ल र वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्ण सदस्य रहेको वार्ता समिति गठन गरिएको हो। अध्यक्ष महन्थ ठाकुरले प्रेस विज्ञप्ति जारी गरी वार्तालाई छिटो निष्कर्षमा पुर्याउन वार्ता समिति गठन गरिएको जनाएका छन्।
यसअघि लोसपाले पाँच सदस्यीय कार्यदल बनाएको थियो। कार्यदलमा वरिष्ठ उपाध्यक्ष एवं मधेश प्रदेश अध्यक्ष जितेन्द्रप्रसाद सोनार, वरिष्ठ उपाध्यक्ष उमाकान्त झा, उपाध्यक्ष रामप्रकाश चौधरी, महासचिव डा. सुरेन्द्रकुमार झा र महासचिव मनीषकुमार मिश्र सदस्य थिए।
त्यो कार्यदललाई खारेज गर्दै उच्चस्तरीय वार्ता समिति गठन गरेको हो। राजनीतिक अधिकार प्राप्तिका लागि संघर्षशील राजनीतिक शक्तिबीच संवाद, सहकार्य र कार्यगत एकता आवश्यक रहेको लोसपाले जनाएको छ।
त्यस्तै, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले पनि वार्ता समिति बनाएको थियो। राजकिशोर यादवको नेतृत्वमा बनेको समितिले पनि काम गरिरहेको जनाएको छ।
यसअघि नै जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले पनि वार्ता समिति गठन गरिसकेका छन्। उनी मधेशकेन्द्रित दलबीच मोर्चाबन्दीका लागि संवाद गरिरहेका छन्।
यो पनि पढ्नुहोस् : ‘भय र विवेकले मोर्चा बनाउन लागेका हौं’