‘मर्क्योरमा तीन अर्बभन्दा बढी लगानी गरेका छौं, अबको नयाँ गन्तव्य हो’
‘सजिलोसँग कोही पनि धनी बन्दैन। सामाजिक सञ्जालमा मात्रै हो, छिटो धनी बन्ने। धनी बन्न समर्पण र धैर्य चाहिन्छ।’
यूरोपमा सबैभन्दा ठूलो हस्पिटालिटी ब्रान्डका रूपमा रहेको मर्क्योर होटल सन् १९७३ मा स्थापना भएको हो। त्यसयता संसारका ६० भन्दा धेरै देशमा एक हजारभन्दा बढी होटल सञ्चालनमा छन्।
यही होटलको फ्रेन्चाइज नेपाल भित्रिएको छ। द मेट्रोपोलिटन होटल प्रालिले मर्क्योरलाई नेपाल भित्र्याएको हो। पाँचतारे होटल मर्क्योर काठमाडौंको सुकेधारामा सञ्चालन भएको छ।
यसलाई नेपाल भित्र्याएका द मेट्रोपोलिटन होटल प्रालिका अध्यक्ष देशबन्धु बस्नेत (अजित) काठमाडौंको मर्क्योर होटल विदेशी पर्यटकसँगै नेपालीका लागि नयाँ गन्तव्य बन्ने बताउँछन्। यसका साथै हस्पिटालिटी, पर्यटन र आगामी योजनाबारे अध्यक्ष बस्नेतसँग हिमालखबरका लागि धनु विश्वकर्माले गरेको कुराकानी :
यूरोपेली ‘ब्रान्ड’ का होटल अहिलेसम्म नेपालमा आइसकेका थिएन, तपाईंले ल्याउनुभयो। यो कस्तो खालको फ्रेन्चाइज होटल व्यवसाय हो?
विश्वका ५-६ वटा ठूला ब्रान्डमध्ये अक्कोर ग्रूप पनि एक हो। त्यसै मातहको होटल हो, मर्क्योर।
ब्रान्ड दुई किसिमले बनेका हुन्छन्, एक, फ्रेन्चाइज र अर्को, व्यवस्थापनका हिसाबले। व्यवस्थापनका आधारमा म्यारिएट, हिल्टोन र मर्क्योर विश्वका राम्रामध्ये पर्छन्।
मर्क्योरको राम्रो पक्ष भनेको यो यूरोपकै ठूलो ब्रान्डको हो। अहिलेको अवस्थामा दक्षिणएशियाको पनि ठूलो अक्कोर ग्रूप हो। त्यसैले अहिलेसम्म अक्कोर जस्तो ग्रूप नेपालमा आइसकेको थिएन, जुन हामीले ल्याउन पायौं। यो गर्वको कुरा हो।
यूरोपेली ब्रान्ड नै किन छान्नुभयो?
धेरै पटकको प्रयासपछि अक्कोर ग्रूप नेपाल आएको हो। नेपालका प्रायः ठूला व्यवसायी र होटलले कुरा गरेका थिए, कसैले ल्याउन सकेका थिएनन्।
म नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाई समितिको सभापति पनि हुँ। पर्यटन क्षेत्रलाई नजीकबाट हेरिरहेको छु। पछिल्लो समय नेपाल घुम्न आउने यूरोपेली पर्यटक बढेका छन्।
त्यसैले यूरोपेली पर्यटकलाई सहज वातावरण दिन पनि मर्क्योर छानेका हौं। यो यूरोपेली पर्यटकका लागि नयाँ गन्तव्य बन्न सक्छ।
फ्रेन्चाइज होटल अन्य होटलभन्दा के फरक हुन्छ?
त्यति धेरै फरक हुँदैन, ब्रान्ड हो। फेरि होटल भनेको भवन मात्रै होइन। ठूलो भवन छ, तर सुविधा दिंदैन भने त्यसको अर्थ रहँदैन। होटल सानो-ठूलो जेजस्तो भए पनि ग्राहकलाई सुविधा दिने नै हो। हामी राम्रो सुविधा दिन्छौं। बाहिरका मान्छे ल्याएर तालीम दिइएको छ। विदेशी आगन्तुक र स्थानीय बासिन्दाका लागि अबको नयाँ गन्तव्य बन्छ।
होटल रहेको स्थानले पनि व्यवसायमा केही फरक पर्छ?
आवतजावतका लागि पनि सुकेधारा सहज ठाउँमा छ। प्रायः रातिको ‘फ्लाइट’ हुन्छ। पर्यटक एक रात कतै बस्ने ठाउँ खोज्छन् र भोलिपल्ट अर्को गन्तव्यतिर लाग्छन्। त्यसका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नजीक भएकाले सजिलो गन्तव्य पनि हो।
मर्क्योर काठमाडौंले होटल उद्योगमा नयाँ आयाम थप्नेछ। होटल मात्र भएर हुँदैन, ठाउँको पनि विकास हुनुपर्छ। हामी त्यही हिसाबले लाग्नेछौं।
अक्कोर होटलको लक्षित वर्ग को हो?
यात्रा गरिराख्ने मान्छेले कुन देशमा कुन होटल छ भनेर खोजिराखेको हुन्छ। अक्कोर लगायत होटलका ब्रान्ड हेरिराखेको हुन्छ। नयाँ यात्री भने जहाँ पनि बस्छ। हामी गुणस्तरीय पर्यटक खोजिरहेका छौं। नयाँ सेवा दिएर पर्यटक तान्न सक्छौं।
नेपालमा अक्कोरको एक मात्र होटल छ। फेरि अक्कोरको आफ्नै किसिमको परिचय छ। त्यसैले आगन्तुकको त्यति धेरै समस्या हुँदैन। यूरोपेली पर्यटक हाम्रोमा आइपुग्छन्।
अर्को, यो होटल विदेशीका लागि मात्रै होइन, नेपालीका लागि पनि हो। पर्यटकले मात्रै होटल चल्दैन। स्थानीय बासिन्दाको आउजाउ हुनुपर्छ। अहिले नेपालमा पनि घर बाहिर गएर खानपिन गर्ने प्रचलन बढ्दो छ। उनीहरूका लागि पनि मर्क्योर सही ठाउँ बन्नेछ।
प्रायः होटल दुई किसिमले चल्छ, एउटा ब्यांकेट, रूम र अर्को रेस्टुरेन्टले। हामीसँग यी दुवै छन्। त्यसैले यो होटलले कोठा मात्रै बेच्दैन, यहाँ रेस्टुरेन्ट पनि छ। इन्डियन र इटालियन रेस्टुरेन्ट छ। यससँगै स्वीमिङ पुल र बार पनि छ। यो सबैका वर्गका लागि उपयुक्त हुन्छ।
कोभिड-१९ पछि होटल व्यवसाय थला नै परेको छ भन्ने सुन्नमा आउँछ। यस्तो अवस्थामा जोखिम मोल्ने आँट कसरी गर्नुभयो? वा होटलमा लगानी गर्ने वातावरण राम्रै छ?
होटल उद्योगका सन्दर्भमा मेरो फरक विचार छ। मैले लाइसेन्स पाउँदा मर्क्योर काठमाडौंमा पाँचेतारे २४औं होटल भएको छ। काठमाडौंमा यति धेरै पाँचतारे होटल भइसके। अब यसमा अध्ययन गर्नुपर्छ। नेपालमा ४० वर्षको अवधिमा कति होटल सञ्चालनमा थिए र कति बन्द भए। त्यो पनि हेरिनुपर्छ।
अर्को, होटल आफैंमा ‘ग्ल्यामर’ भएको व्यवसाय हो। मान्छेलाई होटलबारे थरीथरी कुरा थाहा हुन्छन्। जस्तो- पछिल्लो ४० वर्षको अवधिमा ३०० सिमेन्ट उद्योग खुले होलान्। रड उद्योग ४०० पुगे होलान्। तिनका विषयमा त खासै चर्चा हुँदैन। होटलका विषयमा समाचार बढी आउने भएर पनि होला, समस्याका कुरा पनि आउँछन्।
अहिले पर्यटक नयाँ ढंगले आउन थालेका छन्। गुणस्तरीय सुविधा खोज्छन्। त्यो अनुसारको सुविधा दिन नेपाल तयार हुनुपर्छ।
हामी नेपाली पनि बिस्तारै ‘अपडेट’ भइराखेका छौं। शुरूमा चिया पसलमा जान्थ्यौं। पछि रेस्टुरेन्टमा जान थाल्यौं। रेस्टुरेन्टबाट दुईतारे हुँदै अब पाँचतारेमा जान थालेका छौं। समाजको पनि आर्थिक स्तर बढेको छ। त्यसैले आन्तरिक ग्राहकलाई पनि तान्न सकियो भने जोखिम हुँदैन।
फेरि होटल खोल्न मात्र गाह्रो हो। राम्रो सेवासुविधा दियौं भने पर्यटक आएर खाने-बस्ने गरेपछि घाटामा जाने कुरा हुँदैन। कसैसँग निर्भर पनि हुनुभएन।
होटल व्यवसायको भविष्य राम्रै छ भन्न खोज्नुभएको हो?
अब नेपाललाई कायापलट गराउने दुई वटा क्षेत्र देख्छु, पर्यटन र प्रविधि। त्यसैले यी दुवै क्षेत्रमा लगानी बढाउनुपर्छ।
अबको समय दिगो लगानीको हो। आजको भोलि नै कमाइहाल्ने भन्ने होइन। मैले होटलमा लगानी गरेको आजका लागि होइन, भोलिको नाफाका लागि हो। आउँदो वैशाखमा ईटहरीमा पनि होटल व्यवसाय नै खोल्दै छु। त्यो पनि पाँचतारे नै हुन्छ।
यसमा राज्यको पनि सहयोग चाहिन्छ। सरकारले भ्याट सहुलियत र उद्योगका रूपमा कानूनी मान्यता दिनुपर्छ। निजी क्षेत्रले नगरीकन देश विकास हुँदैन। होटल, पूर्वाधार जताततै निजी क्षेत्रले गरेको छ।
सरकार खुकुलो भयो भने आउने दिनमा लगानीकर्ता बढ्नेछन्। जस्तो- नेपालमा अनलाइन मिडिया कति छन् कति, तर नाम आउने २०-२५ नै हुन्। त्यो भनेको तिनको विश्वसनीयता नै हो। होटलमा पनि जसले राम्रो सेवा दियो, तिनैमा पर्यटक वा अतिथि आउने हुन्। गुणस्तरीय सेवा र सुविधा ब्रान्डले नै चल्ने हो। होटलमा राम्रो सुविधा दिन सके पक्कै गुणस्तरीय पर्यटक नेपालमा आउँछन्।
जोखिम पनि पक्कै छन्। दिगो योजना हुनुपर्छ। अब पर्यटनभन्दा राम्रो अर्को व्यवसाय छैन।
यसको मतलब पर्यटक भित्रिने सम्भावना धेरै छ?
म जस्तो ४० वर्षको युवाले लगानी गर्ने भनेको पर्यटनको अथाह सम्भावना देखेर नै हो। मर्क्योर होटलमा तीन अर्बभन्दा बढी लगानी गरेका छौं। ५० वर्षअघि खुलेको होटल र भर्खरै खुलेको होटलको तुलना गरेर हुँदैन। तैपनि पुरानो भएर मात्रै हुँदैन, समय अनुसार आफूलाई परिमार्जन पनि गर्नुपर्छ।
हिल्टन होटलको कुरा गरौं न, महीनाको १८ करोड हाराहारीको व्यापार गरिराखेको छ। त्यो सबैले गर्न सकेका छैनन्। योजना र त्यसको समय अनुसारको परिष्कृत सेवा र सुविधा नै प्रमुख कारण हो।
अब नेपाल कुन मोडलमा जाने भनेर त्यसमा तयार हुनुपर्छ। होटलमा रोयल्टी, भ्याट लगाइयोस् वा महंगो होस् वा भूटान मोडलमा जाओस्, प्रतिस्पर्धी मोडलमा जानुपर्छ।
अहिले पनि हामी पर्यटन ऐन, २०३५ बोकेर हिंडिराखेका छौं। समस्या त्यसैमा छ। कुनै पनि प्रोजेक्टको मापदण्ड हुन्छ, तर होटलको मापदण्ड ४० वर्ष पुरानो छ। नयाँ ऐन आउन जरूरी छ। उद्योग, पर्यटन, अर्थ र कानून मन्त्रालयले यो विचार गुर्नपर्छ।
अहिले होटल खोल्नै ग्राहो छ। चल्नु त त्यसपछिको कुरा हो। यो होटलको संरचना बनाउँदा ९० प्रतिशत सामग्री विदेशबाट आयात गरिएको हो। सरकारले यो कुरा बुझिदिनुपर्ने हो।
नेपालमा मर्क्योरको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली आएर शुभकामना दिनुभयो। आगामी दिनमा सरकारबाट के अपेक्षा गर्नुभएको छ?
निजी क्षेत्र भनेकोे सानो ठाउँ हो। म सरकारमा हुन्थें वा मन्त्री हुन्थें भने नीतिमा काम गर्थें। अहिले पनि सबै कुरा सरकारी नीतिले रोकेको देखिन्छ। सरकारले नीति खुकुलो बनाइदिनुपर्यो। जस्तै- पर्यटन व्यवसायमा अर्बौं लगानी गरेका छौं, तर धेरै कुरा विदेशबाट आयात गर्दै छौं।
यस्तोमा सानोभन्दा सानो काम गर्न सरकारी कार्यालयका १० जना चिन्नुपर्छ। म कोठामा बस्ने मान्छे हुँ, कोठामै काम गर्ने हो। मान्छे भेट्दै जाने होइन। अहिले नेपालमा व्यवसायीले कामभन्दा धेरै मान्छे भेट्न धाउनुपर्छ। सरकारले यी सबै सहज हुने वातावरण गरिदिनुपर्यो। कसैलाई नभेटीकन काम हुने वातावरण बनाइदिनुपर्यो।
हरेक कोणबाट हेर्दा नेपाल जस्तो मुलुक कहीं पनि छैन। सकारात्मक हुने ठाउँ राखिदिनुपर्यो। विकास गर्ने निजी क्षेत्रले हो भने सरकारले सहजीकरण गर्ने हो।
होटल व्यवसायले रोजगारी सिर्जना गरिरहेको छ। मर्क्योरको अवस्था के छ?
रोजगारी सिर्जना त हुन्छ नै। यस्तो क्षेत्रमा बहुसंख्यक महिला नै हुन्छन्। महिलाको भूमिका पनि बढी हुन्छ। यो प्रतिस्पर्धाको जमाना हो। जसले राम्रो गर्यो, उसले नै जागीर पाउँछ।
विदेशसँग तुलना गर्दा नेपालमा अनुशासन छैन। दक्ष जनशक्तिको अभाव छ। हामीले मर्क्योरमा आबद्ध सबैलाई समयानुकूल राम्रो तालीम दिएका छौं। अहिले १८० जना आबद्ध छन्। अब सुकेधारामा मात्र पनि २०० जनाले रोजगारी पाउनेछन्।
स्थानीय समुदायको कुरा गर्नुभयो। उनीहरूसँग कसरी जोडिनुहुन्छ?
मैथली कलालाई राखेका छौं। पहिलो तलामा मैथली कला राखिएको छ। अन्य समुदायको संस्कृति झल्किने कलालाई पनि राखिनेछ।
अर्को, सुकेधाराको पुरानो धारा पनि बनाएका छौं। सडक अवस्था एकदमै खराब थियो। मर्मतसम्भार गरेका छौं।
म नाफाघाटा मात्र हेर्दिनँ। व्यापारमा लागेको तीन पुस्ता भयो। बाजेले चामल मिलको व्यवसाय गर्नुभयो। बुबाले इँटाभट्टाको व्यवसाय गर्नुभयो। म होटल व्यवसायमा छु। बुबा नेपाल उद्योग वाणिज्य महांसघका संस्थापक अध्यक्ष पनि हुनुहुन्थ्यो। यो लामो प्रक्रिया भयो। धैर्य र मिहिनेत गर्ने हो। समुदायसँग राम्रो सम्बन्ध बनाउँदै आएका छौं, भविष्यमा पनि बनाउनेछौं।
अन्त्यमा, नयाँ लगानीकर्ता होटल व्यवसायमा आउन चाहन्छन्। उनीहरूका लागि तपाईंको सुझाव के छ?
म बिहान साढे ४ बजे उठ्छु। पूजा गरेर ७ बजे अफिस पुग्छु। यो रुटिङमा चल्न थालेको १६ वर्ष भयो। मिहिनेत, इमानदारी र लगन हुनुपर्छ। यति कुरा भए सफलता टाढा छैन। यसका लागि किताब, यूट्यूब हेरेर हुँदैन, मिहिनेत नै गर्नुपर्छ। सफल हुन दशक लाग्छ। धैर्य राख्नुपर्छ। हामी तीन पुस्ता भयो व्यापारमा लागेको, तैपनि गाह्रो छ।
आजका युवालाई चाँडो सफल हुनुपरेको छ। चाँडो पैसा कमाउने कुरा मात्रै दिमागमा छ। त्यसका लागि समर्पण र धैर्य चाहिन्छ। सजिलोसँग कोही पनि धनी बन्दैन। सामाजिक सञ्जालमा मात्रै हो, छिटो धनी बन्ने। एउटा चर्चित भनाइ नि, ‘तिमी मलाई तिम्रो दिनचर्या बताऊ, तिमी कहाँ पुग्छौं म भन्दिन्छु।’ लामो यात्रा गर्न मिहिनेत, इमानदारी र लगन हुनै पर्छ, समर्पित भएर लाग्नै पर्छ, धैर्य राख्नै पर्छ।