बुढाथोकीले ल्याए ‘जङ्गबहादुर इन इङ्गल्यान्ड’
वरिष्ठ पत्रकार गजेन्द्र बुढाथोकीको ‘जङ्गबहादुर इन इङ्गल्यान्ड’ पुस्तक सार्वजनिक भएको छ।
राणा प्रधानमन्त्री जंगबहादुरले काठमाडौंबाट बेलायत यात्रामा निस्केको १७५औं वर्षको अवसर पारेर पुस्तक सार्वजनिक गरिएको हो। पुस्तकमा जंगबहादुरका बेलायत यात्राका रोचक सामग्री समावेश छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा लेखक बुढाथोकीका बुबा भक्तबहादुर बुढाथोकी, ऐतिहासिक त्रिरत्न मानन्धर, वरिष्ठ पत्रकार कुन्द दीक्षित, लेखक यादव देवकोटा, श्री ३ जंग संस्थाका अध्यक्ष पूर्व रथी सरोजप्रताप राणा र प्रकाशक कुन्ता थापाले पुस्तकको विमोचन गरेका छन्।
कार्यक्रममा बोल्दै ऐतिहासिक त्रिरत्न मानन्धरले निकै मिहिनेत गरेर किताब तयार पारिएको उल्लेख गर्दै इतिहासका कुराबारे समय समयमा विमर्श गरिराख्नुपर्ने बताए। त्यस्तै, वरिष्ठ पत्रकार एवं मदन पुरस्कार पुस्तकालयका अध्यक्ष कुन्द दीक्षितले जंगबहादुरको बेलायत यात्रा अंग्रेजहरूको शक्तिको आकलन गर्ने, सूक्ष्म अध्ययन गर्ने मौका भएको त्यहाँका तोप-हतियारको निरीक्षण, सेनाको अवलोकन लगायतले पुष्टि गरेको बताए।
त्यस्तै, लेखक यादव देवकोटाले पुस्तकमा जंगबहादुरको बेलायत र फ्रान्स यात्राका धेरै नयाँ कुरा उल्लेख गरिएको बताए। श्री ३ जंग संस्थाका अध्यक्ष सरोजप्रताप राणाले जंगबहादुरको साहसिक यात्रालाई पुनःस्मरण गराएकामा लेखकलाई धन्यवाद दिए।
जंगबहादुरको बेलायत यात्रा हुँदा लागेको खर्च खोज्ने क्रममा प्रभावित भएर किताब नै तयार पारेको लेखक बुढाथोकीले बताए। “शुरूमा ई-बूक निकाल्छु भन्ने सोच बनाएको थिएँ। पछि किताब नै तयार भयो,” उनले भने। जंगबहादुर बेलायत प्रवेश गरेको दिन त्यहाँको अखबारले प्राथमिकताका साथ समाचार लेखेको कपी पहिलो पटक पुस्तक मार्फत सार्वजनिक गरेको उनले बताए।
लेखक बुढाथोकीको यो चौथो किताब हो। यसअघि आर्थिक उदारीकरणका २० वर्ष, समकालीन नेपाली अर्थतन्त्र र कोरोना कहरपछिको अर्थतन्त्र (ई-बूक) प्रकाशित छन्।