पूर्व मुख्यमन्त्री थापामाथि आक्रमण गर्ने दुई जना पक्राउ
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापामाथि हातपात गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
शिवसताक्षीस्थित दोमुखा पर्यटकीयस्थलमा सम्पन्न नेपाल प्रेस युनियन, झापाको साधारणसभामा सहभागी भएर अर्जुनधारास्थित निवास फर्किंदै गर्दा शनिबार साँझ थापामाथि आक्रमण भएको थियो। उनीमाथि पूर्व-पश्चिम राजमार्गको सुरुंगा खण्डमा हातपात भएको थियो।
आफू चढेको बा १ झ ६५३ नम्बरको गाडीलाई अवरोध गरी अपरिचित समूहले अचानक आक्रमण गरेको पूर्व मुख्यमन्त्री थापाले बताए। “हामी निवास फर्किंदै थियौं, सुरुंगामा आइसकेपछि अपरिचित समूहले हाम्रो सवारीसाधनलाई रोकेर ममाथि हातपात गर्यो,” थापाले भने।
आक्रमणमा परी थापाको आँखा र अनुहारमा चोट लागेको छ। बिर्तासिटी अस्पतालमा उपचारपछि घर फर्किसकेको उनले बताए।
पूर्व मुख्यमन्त्री थापामाथि हातपात गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए। “पूर्व मुख्यमन्त्रीज्यू कार्यक्रममा सहभागी भएर निवास फर्किंदै हुनुहुन्थ्यो। बाटोमा हातपात भएछ,” अधिकारीले भने, “हातपात गर्ने व्यक्ति नेपाल विद्युत् प्राधिकरणको कर्मचारी भएको जानकारी आएको छ। उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।”
प्रहरीले आक्रमणस्थलमा रहेको नेपाल विद्युत् प्राधिकरणको सवारीसाधन समेत नियन्त्रणमा लिएको जनाएको छ।