नारीवाद बुझाउने मौलिक मन्त्र
अझै पनि धेरैलाई लाग्छ, नारीवाद एक आयातित अवधारणा हो। यस्तोमा ‘नारीवादी घोषणापत्रका लागि पन्ध्र सुझाव’ले नारीवादलाई मौलिक ढंगले बुझ्न सघाउँछ।
अघिल्लो महीना लैंगिक हिंसा विरुद्घको १६ दिने अभियान मनायौं। यो अभियान प्रत्येक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म महिला तथा बालिका विरुद्घ हुने हिंसा रोक्न मनाइन्छ। हिंसा विरुद्घका अभियानहरू सामूहिक रुपमा मनाउँदै आए पनि नारीवादी चेतनालाई भने पुरुष विरुद्घ लड्ने चेतनाको रुपमा ठान्छन्, धेरैले।
हुन त समय, ठाउँ र परिस्थिति अनुरुप नारीवादको फरकफरक परिभाषा होला, तर यो पुरुष विरुद्घ लड्ने विचारधारा भने पक्कै होइन। नारीवाद के हो र यसलाई कसरी बुझ्ने? त्यसका लागि चिमामान्डा आदिच्येको पुस्तक ‘डियर इजियावेले’ अर्थात ‘नारीवादी घोषणापत्रका लागि पन्ध्र सुझाव’को चर्चा गरौं।
नारीवादी लेखक र केही पुस्तकप्रेमीका लागि यो नौलो पुस्तक नरहे पनि आम पाठकको हातमा पुग्नुले भने अझै महत्त्व राख्छ। आदिच्येको ‘डियर इजियावेले’लाई भृकृटी राईले नेपालीमा अनुवाद गरेकी छन्।
अनुवादबारे राई लेख्छिन्, ‘यस पुस्तकले लैङ्गिक मुद्घाबारे विद्यमान भ्रम तथा लैङ्गिक समानताबारे विशेषगरी युवा जमातमा महत्त्वपूर्ण छलफल शुरू गर्ने बाटो पहिल्याउन सघाउनेछ भन्ने आशा लिएकी छु।’ उनले भने झै यस पुस्तकले सटिक भाषामा लैगिंक बहसलाई अघि बढाउन र बुझ्न सजिलो बनाउँछ।
त्यस्तै, पुस्तकबारे आदिच्ये लेख्छिन्, ‘हामी सबै नारीवादी हुनुपर्छ। समाजलाई आज पनि लाग्छ नारीवादी हुनु भनेको समाजको बहुसंख्यक खुशीहरूबाट टाढा रहनु हो। समाजले खाजे झै सग्लो मान्छे नहुनु हो। दुःखी हुनु हो। यो सुष्म लाग्ने समाजको गहिरो भाष्य हो। तथापि, नारीवादी हुनु भनेको कुनै आफू जस्तै मानिस विरोधी हुनु पक्कै होइन।’ आकारको हिसाबले सानो भए पनि पुस्तकभरी आदिच्ये नारीवादी हुनुको महत्त्वलाई दर्साउँछिन्।
पुस्तकमा आदिच्ये सानी छोरीलाई हुर्काउँदै गरेकी आफ्नी साथीलाई कसरी छोरीलाई नारीवादी बनाउने भनेर सुझाव दिन्छिन्। यी सुझावले हामी सबैलाई नारीवाद र लैंगिक समानताबारे केही न केही अवस्य बुझाउँनेछन्।
पहिलो सुझाव : पूर्ण व्यक्ति बन, मातृत्वले आफूलाई परिभाषित नगर। आज पनि हाम्रो समाज सन्तान भएका महिलालाई दोस्रो दर्जाको मानिस झै ब्यवहार गर्छ। यसको उदाहरण मेरै फुपू छिन्। सन्तान नभएका कारण कयौ पटक विचरी शब्दले परिभाषित भएकी छन्।
आज पनि समाजका लागि सन्तान विनाका महिला कि विचरा हुन् कि अलच्छिना। आमाहरूलाई महान् ठान्ने समाजले मातृत्वको बोझबाट महिलालाई मूक्त बनाउन सकेको छैन। वा हामी आफैं मुक्त हुन सकेका छौं कि छैनौं?
दोस्रो सुझाव : केटाकेटी हुर्काउने काममा बाआमा दुवै सहभागी हौं। उनी थप्छिन्, ‘हुर्काउने काम महिलाको एक्लो काम होइन।’ यसमा भने समाज अलि अघि बढे झै लाग्छ। सायद केही वर्षमा यो सुझाव दिनु पर्दैन कि भन्ने कल्पना गर्न सकिन्छ। तथापि कयौं नेपाली महिलाका लागि आज पनि छोराछोरी हुर्काउने एक्लो जिम्मेबारी हो।
तेस्रो सुझाव : केटा वा केटी भएकै कारण तिमी यस्तो गर्नुपर्छ भनेर नसिकाऊ। आज पनि समस्या यसैमा छ। छोरा भएर रुनुहुदैन, छोरी भएर हाँस्नुहुँदैन भन्ने समाजमा छोरा र छोरी हुनुको यर्थात नै अझै पनि प्राथमिकतामा पर्छ। हामी आफ्नो लैंगिकतापछि मात्र मानिस हुनुको थर्थाथ बुझ्छौ।
चौथो सुझाव : नारीवारी हुनु भनेको समानतावादी हुनु हो। कि मान्छे नारीवादी हुन्छ कि हुँदैन, त्योबीच तथापी र अनि रहँदैन। आज पनि नारीवादी हुनु भनेको महिलाबारे बोल्नु भन्ने बुझिन्छ। खासमा नारीवारी हुनुलाई उनी समानतावादी हुनु ठान्छिन्। सायद यो सुझावले हामी सबैलाई नारीवादको पहिलो सर्तबारे मज्जाले बुझाउँछ।
पाँचौ सुझाव : परम्पराभन्दा पर सोच्नको लागि पढ्ने बानी असाध्दै आवश्यक पर्ने उनी ठान्छिन्।
छैटौं सुझाव : भाषामाथि प्रतिप्रश्न गर्न सिकाऊ। पूर्वाग्रह सबैभन्दा पहिले भाषामा भेटिन्छ। त्यसैले भाषामाथि प्रश्न गर्नु भनेको समग्र संरचनालाई नै प्रश्न गर्नु हो। त्यसैले नानीहरूलाई सानैदेखि प्रतिप्रश्न गर्न सिकाउन आवश्यक उनी ठान्छिन्।
सातौं सुझाव : बिहेलाई उपलब्धिको रुपमा नठान्न आग्रह गर्छिन्। आज पनि समाजले बिहेलाई असाध्यै ठूलो उपलब्धिको रुपमा ठान्छ। उनी लेख्छिन्- छोरीहरूलाई बिहेको आकांक्षा राख्न नसिकाऊ।
आठौं सुझाव : छोरी हुँदैमा फरासिलो हुनुपर्ने आवश्यकता छैन। त्यसैले छोरीहरूलाई पूर्ण मानिस हुन मात्र सिकाऊ।
नवौं सुझाव : उनी आफ्नो पहिचानबारे जागरुक हुन आग्रह गर्छिन्। आफू र आफ्नो इतिहासबारे नबुझिकन सायद कसैले पनि आफैलाई बुझ्न सक्दैन। त्यसैले आफ्नो पहिचानबारे बुझ्ने मात्र नारीवादी हुनसक्ने उनी ठान्छिन्।
दशौं सुझाव : हुर्कदै गर्दा छोरीहरूसँग उनीहरूको रुपबारे कुरा गर्दा बिचार पु¥याऊ। उनी लेख्छिन्- छोरीहरूलाई थाहा हुनुपर्छ कि मूलधारको समाजले कस्तो चिजलाई सुन्दरता मान्छ।
एघारौं सुझाव : यसमा उनले ‘बायोलोजी’लाई लज्जाको विषय नठानीकन आफ्नो शरीरबारे बुझ्न आग्रह गरेकी छन्। आज पनि केटाकेटीहरू आकाशबाट झर्छन् भनेर सिकाउँने समाजको लागि यो राम्रो पाठ हुनसक्छ।
बाह्रौं सुझाव : छोरीसँग यौनबारे कुरा गर्न ढिला नगर। यौनिकतालाई आज पनि समाज लज्जाको विषय ठानिन्छ। छोरीको यौनिकतालाई त समाज र परिवार इज्जत र प्रतिष्ठाको मानक ठान्छ। त्यसैले नानीहरूलाई यसबारे बुझाउनु आवश्यक छ। आज पनि समाज महिललाले यौनबारे कुरा गर्नु भनेको प्रजननबारे कुरा गर्नु हो भन्ने ठान्छ। तर यौन र प्रजनन एकै होइन भनेर बुझाउँन उनी आग्रह गर्छिन्।
तेह्रौं सुझाव : छोरीहरूलाई माया पिरतीबारे बुझाउँन आवश्यक छ। प्रेमलाई स्वाभाविक प्रक्रियाको रुपमा बुझ्न आवश्यक रहेको उनको भनाइ छ। समाज अझै प्रेमबारे चर्चा गर्न लजाउँछ। अझै समाजमा प्रेम वर्जित छ, विशेष त्यो प्रेम जुनलाई हामी रोमान्स बनेर एक कित्तामा राख्छौं। तर, त्यो प्रेम बेगर समाज अपूरो छ। त्यो सामान्य प्रक्रियालाई नबुझी नारीवादलाई बुझ्न कठिन छ।
चौधौं सुझाव : उनले उत्पीडितहरू सन्त झै हुन्छन् भनेर नबुझाउँ भनेकी छन्। सम्मान पाउँन सन्त हुन आवश्यक छैन भन्ने उनको मान्यता छ।
पन्ध्रौं सुझाव : अन्तिम सुझावमा उनले भिन्नता र फरकपनलाई सामान्य रुपमा लिन आग्रह गरेकी छन्।
यसरी आदिच्येले दिएका १५ सुझावलाई भृकुटी राईले गरेको अनुवादले अझ चाखलाग्दो बनाएको छ। यो पुस्तकको नेपालीकरणले धेरैलाई नारीवाद बुझ्न र बुझाउँन सजिलो बनाएको छ।
अझै पनि धेरैलाई लाग्छ, नारीवाद एक आयातित अवधारणा हो। तर, यो पुस्तकले नारीवादलाई मौलिक ढंगले बुझ्न सहयोग गर्नेछ। विशेषत ति आमाहरूलाई पढ्न जरुरी छ, जो स-साना नानीलाई हुर्काउँदै छन्। यसलाई विद्यालयका पाठ्यपुस्तकमा राखियो भने अझ प्रभावकारीता बढ्नेछ।