यू-१९ विश्वकपको पहिलो खेलमा नेपाल पराजित
आईसीसी महिला यू-१९ विश्वकपको पहिलो खेलमा नेपाल बाङ्लादेशसँग पराजित भएको छ।
मलेशियामा शनिबार भएको खेलमा नेपाल बाङ्लादेशसँग पाँच विकेटले पराजित भएको हो। नेपालले दिएको ५३ रनको लक्ष्य बाङ्लादेशले पाँच विकेटको क्षतिमा १३.२ ओभरमा पूरा गरेको हो।
बाङ्लादेशका लागि सादिया इस्लामले १६, सुमैया अख्तरले १२, आशिमा इराले नौ, जन्नतुल मौउवाले पाँच र सुमैया अख्तर सुवर्नाले चार रन बनाइन्।
नेपालका लागि रचना चौधरी, रिया शर्मा, सीमाना केसी र पूजा महतोले एक-एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको नेपालले १८.२ ओभरमा सबै विकट गुमाएर ५२ रन बनाएको थियो। नेपालका लागि साना प्रवीनले १९ र सीमा केसीले १० रन बनाइन्। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
बाङ्लादेशका लागि जन्नतुल मौउवाले दुई, निशिता अख्तर, फहोमिदा चोया र अनिशा अख्तरले एक-एक विकेट लिए। नेपालका पाँच खेलाडी रन आउट भए।
नेपालले दोस्रो खेलमा सोमबार स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल रहेको समूह ‘डी’मा बाङ्लादेश र स्कटल्यान्डसँगै अस्ट्रेलिया छ। लिग चरणमा नेपालको तेस्रो खेल अस्ट्रेलियासँग हुनेछ।