मौन सम्वादमा शक्तिशाली अभिव्यक्ति
पितृसत्ताले महिलाको आवाज र अस्तित्वलाई कसरी दबाउँछ भन्ने यथार्थ उजागर गर्दै समकालीन नेपाली समाजमा व्याप्त लैंगिक असमानता विरुद्धको सशक्त आवाज बनेको छ, ‘द स्ट्रंगर’ नाटक।
एउटा कथन छ, शब्दहरूको समुद्रमा डुब्दै गर्दा कहिलेकाहीं मौनताको गहिराइले बढी अर्थपूर्ण सम्वाद गर्छ। नाटक ‘द स्ट्रंगर’ले यही कथनलाई प्रमाणित गरेको छ।
ललितपुरको महालक्ष्मीस्थानमा रहेको थिएटर भिलेज नेपालमा मञ्चन भइरहेको यो नाटक सन् १८८९ मा प्रकाशित स्विडेनका नाटककार अगस्ट स्ट्रिनबर्गको कृति ‘द रोड टु दमास्कस’मा आधारित छ। निर्देशक जेनी सुनुवारले यसलाई नेपाली परिवेशमा रूपान्तरण गरेकी छन्।
नाटकले महिलाको जीवनसँग जोडिएका विभिन्न पक्षलाई उजागर गर्छ। यसमा मुख्यतः दुई वटा प्रतीकात्मक पात्र छन्- एउटा रातो पोशाक र अर्कोे सेतो पोशाकमा। सरगम राईद्वारा अभिनित रातो वस्त्रधारी पात्रले शरीरको र जेनी सुनुवारले निभाएको सेतो वस्त्रधारी पात्रले आत्माको प्रतिनिधित्व गर्छन्। यी दुई पात्रबीचको अन्तद्र्वन्द्वमार्फत नाटकले महिलाको जीवनका विभिन्न पक्षलाई देखाउँछ।
बिम्बात्मक प्रस्तुति
नाटकको सबैभन्दा महत्तवपूर्ण पक्ष भनेको प्रस्तुति शैली हो। धेरै सम्वादको सट्टा शारीरिक हाउभाउ र गतिविधि मार्फत कथा भनिएको छ। शारीरिक हाउभाउ मार्फत नै गहन भावको सम्प्रेषण गरिएको छ। कलाकारक हरेक मुद्रा, हरेक चाल र हरेक हाउभाउले कथा भन्छ।
कलाकारको हेराइले आवाजभन्दा बढी बोल्छ, हातको सानो चालले लामो सम्वादभन्दा गहिरो अर्थ राख्छ। विशेष गरी रातो र सेतो वस्त्र लगाएका दुई पात्रबीचको मौन सम्वादले दर्शकलाई बाँधिराख्छ।
नाटकले परम्परागत लैंगिक भूमिका र सामाजिक अपेक्षामाथि गम्भीर प्रश्न उठाउछ। विशेष गरी शक्ति, सौन्दर्य र प्रभावका सामाजिक मान्यतालाई चुनौती दिन्छ। नाटकको शुरुआतमै काठको ‘फ्रेम’ समाएर बसेकी सेतो वस्त्रधारी पात्रले महिलालाई समाजले बनाएको ढाँचा वा ‘फ्रेम’भित्र अट्न बाध्य पारिएको अवस्थालाई चित्रित गर्छिन्।
‘एब्सर्ड’ शैलीमा निर्माण गरिएको नाटकले दर्शकलाई सोच्न बाध्य पार्छ। शब्द र संगीतको अनुपस्थितिले दृश्यहरूमा केन्द्रित हुन र तिनको गहिरो अर्थ खोज्न प्रेरित गर्छ। नाटकमा केही बिम्बात्मक सम्वाद प्रयोग भएका छन्।
एक दृश्यमा रातो वस्त्रधारी पात्रले सेतो वस्त्रधारी पात्रलाई सोध्छ- अरे हो शाम्बा, हाउ मेनी म्यान?
नाटकमा बलिउड फिल्म ‘शोले’को प्रसिद्ध सम्वादको प्रयोग एक बिम्बात्मक छनोट हो। ‘अरे ओ सांभा! कितने आदमी थे?’ भन्ने हिन्दी सम्वादलाई ‘हाउ मेनी म्यान?’ मा रूपान्तरण गरिएको छ। यो रूपान्तरण केवल भाषिक परिवर्तन मात्र होइन, यसले गहिरो सामाजिक सन्दर्भलाई समेटेको छ। ‘शोले’ फिल्ममा यो सम्वाद शक्ति र वर्चस्वको प्रतीक थियो। नाटकमा यसैलाई पितृसत्तात्मक शक्तिको प्रतीकको रूपमा प्रयोग गरिएको छ।
रातो वस्त्रधारी पात्रले यो प्रश्न सोध्दा उसको स्वरमा त्यही धम्की र पितृसत्तात्मक वर्चस्व झल्किन्छ, जुन ‘शोले’को सम्वादमा थियो। यहाँ ‘म्यान’ शब्दको प्रयोग अझ महत्त्वपूर्ण देखिन्छ। यसले पुरुष-केन्द्रित समाजको सोचलाई प्रतिनिधित्व गर्छ, जहाँ मानवीय अस्तित्वलाई केवल पुरुषत्वसँग जोडेर हेरिन्छ।
यसरी, एउटा लोकप्रिय फिल्मी सम्वादको पुनप्र्रयोग मार्फत नाटकले पितृसत्तात्मक समाजको शक्ति-संरचना र त्यसको दमनकारी स्वरूपलाई प्रभावकारी ढंगले उजागर गरेको छ।
रातो वस्त्रधारी पात्रले बारम्बार ‘कति जना पुरुष?’ भनेर सोधिरहँदा पितृसत्तात्मक सोचको प्रतिबिम्ब झल्किन्छ, जहाँ मानवीय अस्तित्वलाई केवल पुरुषत्वसँग जोडेर हेरिन्छ। त्यसको जवाफमा सेतो वस्त्रधारी पात्रको शब्द छनोट सार्थक लाग्छ। पहिलो पटक ‘म्यान, वुमन, ह्युमन’ भन्दै मानव जातिको समग्रतालाई जोड दिन्छ, जसमा पुरुष र महिला दुवै समान रूपमा सम्मिलित छन्।
जब रातो वस्त्रधारी पात्र रिसाउँदै फेरि पनि पुरुषको संख्या मात्र सोध्छ, तब सेतो वस्त्रधारी पात्रले झन् सशक्त जवाफ दिन्छ- ‘वुमन, ह्युमन।’ यो जवाफले पितृसत्तात्मक सोचलाई चुनौती दिँदै महिलाको स्वतन्त्र अस्तित्व र मानवीय मूल्यलाई अगाडि सार्छ।
दोस्रो जवाफमा ‘म्यान’ शब्द हटाइएको छ, जसले पुरुष वर्चस्वको अस्वीकारलाई संकेत गर्छ। यसरी, यो छोटो सम्वादले पितृसत्तात्मक सोच विरुद्धको प्रतिरोध र मानवीय समानताको पक्षमा सशक्त आवाज उठाएको छ।
नाटकमा अर्को दृश्य छ, दुवै पात्रले आफूले पहिरिएका मोतीका माला चुँडाएर फाल्छन्। माला चुँडाएर फाल्नु विद्रोहको प्रतीकमा रुपमा प्रस्तुत गरिएको छ। यसले महिलाले आफूमाथि लादिएका सामाजिक, सांस्कृतिक र शारीरिक बन्धनलाई तोड्न गरिरहेको संघर्षलाई देखाउँछ। नाटकमा यस्ता थुप्रै दृश्य छन्, जसले दर्शकलाई पटकपटक सोच्न बाध्य पार्छन्।
‘सिंगिङ बाउल’को थेरापी
नाटकको लागि तयार गरिएको मञ्च ‘डिजाइन’ले दर्शकलाई पहिलो झलकमै आकर्षित गर्छ। मञ्चको दुवैतिर पंक्तिबद्ध रूपमा राखिएका मैनबत्तीले एकातिर रहस्यमय वातावरण सिर्जना गर्छन् भने अर्कातिर दृश्यलाई थप प्रभावकारी बनाई रहन्छन्। मैनबत्तीको कहिले निभाइने त कहिले बालिने क्रमले नाटकको भावनात्मक उतारचढावलाई प्रतिबिम्बित गर्छ। अझै प्रष्ट रुपमा भन्दा यसले महिलाको जीवनमा आउने उतारचढावलाई देखाउँछ।
मञ्चमा चारैतिर झुन्ड्याइएका आयातकार ऐनाले बहुआयामिक प्रभाव सिर्जना गरेका छन्। ऐनाले एकै पटक धेरै दृश्य प्रतिबिम्बित गर्छन्, जसले महिला जीवनका विभिन्न पाटालाई एकै चोटी देखाउँछन्। ऐनाका विभिन्न आकारले समाजमा महिलामाथि लादिएका विभिन्न आकारका अपेक्षालाई प्रतिबिम्बित गर्छ।
ऐनाको प्रतिबिम्बले महिलाको आत्म छविको खोजीलाई पनि प्रस्तुत गर्छ। समाजले देखाएको प्रतिबिम्ब र आफूले देख्न चाहेको प्रतिबिम्बबीचको द्वन्द्व नाटकभरि देख्न सकिन्छ। यो द्वन्द्वले महिलाको पहिचान र अस्तित्वको खोजीलाई प्रस्तुत गर्छ, ‘के म त्यही हुँ, जस्तो समाजले मलाई देख्छ? कि म भिन्न छु?’
मैनबत्ती र ऐनाको संयोजनमा सिर्जित वातावरणले दर्शकलाई अलग संसारमा लैजान्छ। मैनबत्तीको मधुरो उज्यालोमा ऐनाबाट परावर्तित छायाँले मञ्चमा एक किसिमको छुट्टै वातावरण सिर्जना गर्छ। यो वातावरणले नाटकको मूल विषयवस्तु महिलाको आन्तरिक र बाह्य संघर्षलाई अझ प्रभावकारी ढङ्गले प्रस्तुत गर्न सघाउँछ।
समग्रमा, मञ्चमा प्रयोग गरिएका हरेक बस्तुले प्रतीकात्मक अर्थ बोकेका छन्। मैनबत्तीको उज्यालोले आशा र चेतनाको प्रतीक बनेको छ भने ऐनाले समाजको यथार्थ र व्यक्तिको बहुआयामिक अस्तित्वलाई प्रतिबिम्बित गरेको छ। यी सबैको सामूहिक प्रयोगले नाटकको विषयवस्तुलाई अझ गहिरो र अर्थपूर्ण बनाएको छ।
यो नाटक रिहर्सल गरिने हलमा मञ्चन भइरहेको छ। त्यसका बाबजुद पनि नाटकमा जसरी मञ्च ‘डिजाइन’ गरिएको छ, त्यसले नाटकप्रतिको मेहनतलाई स्पष्ट पार्छ। मञ्चसँगै प्रकाश र ध्वनिले पनि नाटकलाई अझ बलियो बनाएको छ।
यसमा प्रयोग गरिएको ‘सिंगिङ बाउल’को ध्वनिले विशेष प्रभाव सिर्जना गर्छ। यो ध्वनिले दर्शकलाई एक किसिमको ध्यानस्थ अवस्थामा पुर्याउँछ, जहाँ महिला जीवनका विभिन्न पक्षलाई गहिराइमा महसूस गर्न सक्छन्। यसको गुञ्जनले नाटकलाई एउटा सामूहिक थेरापी सत्रजस्तै बनाएको छ।
ध्वनिको उतारचडावसँगै पात्रको अवस्था पनि फरक देखिन्छ। जब ‘सिंगिङ बाउल’को स्वर उच्च हुन्छ, त्यसले पात्रहरूको आन्तरिक द्वन्द्व र संघर्षको तीव्रतालाई प्रस्तुत गर्छ। जब यसको स्वर मन्द हुन्छ, त्यसले शान्ति र स्थिरताको खोजीलाई संकेत गर्छ। यो ध्वनि नाटकको भावनात्मक यात्राको एक अभिन्न अङ्ग बनेको छ।
नाटक अघि बढ्दै जाँदा भुइँभरि छरिएका मोतीका दाना टल्किन्छन्। यस दृश्यले समाजमा छरिएर रहेका महिलाको प्रतिनिधित्व गर्छ, जसको पहिचान र अस्तित्व टुक्रा टुक्रा पारिएको छ। भुइँमा छरिएका मोतीमार्फत विखण्डित भएको महिलाको आत्मसम्मान र स्वाभिमानलाई देखाउन खोजिएको छ। साथै, यसले विभिन्न रूपमा छरिएका महिलाका सपना र आकांक्षलाई पनि संकेत गर्छ।
भुँइमा छरिएका मोतीले महिलाको अवमूल्यन र क्षमताको अनादरलाई प्रतीकात्मक रूपमा देखाएका छन्। यसरी मोतीका रुपमा महिला जीवनका विभिन्न पक्षलाई सूक्ष्म र प्रभावकारी ढंगले प्रस्तुत गरिएको छ, जसले दर्शकलाई सोच्न र विचार गर्न बाध्य पार्छ।
समग्रमा यो नाटकले पितृसत्ताले महिलाको आवाज र अस्तित्वलाई कसरी दबाउँछ भन्ने यथार्थ देखाउँदै समकालीन नेपाली समाजमा व्याप्त लैंगिक असमानता र पितृसत्तात्मक सोचको विरुद्ध सशक्त आवाज बनेको छ।
रिहर्सल हलमै प्रदर्शन भइरहेकाले भुईमै बसेर नाटक हेर्नुपर्छ। हलभित्र छिर्नुअघि रातो वा सेतो स्कार्फ दिएर स्वागत गरिन्छ भने कफी चुस्की लिन पाइन्छ। अनि हलभित्र छिर्ने बित्तिकै ‘सिंगिङ बाउल’को ध्वनिले अर्कै संसारमा पुर्याइहाल्छ।
पुस २६ गतेदेखि शुरू भएको नाटक माघ १२ गतेसम्म मञ्चन हुनेछ।