पाकिस्तानका पूर्व प्रधानमन्त्री खान भ्रष्टाचार मुद्दामा दोषी ठहर, १४ वर्ष जेल
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको नयाँ मुद्दामा १४ वर्षको जेल सजाय तोकिएको छ।
पूर्व क्रिकेटर खानको जीवनमा यो अहिलेसम्मकै सबैभन्दा लामो कारावास सजाय हो। उनी गत वर्षको अगस्त महीनादेखि नै थुनामा छन्।
उनीमाथि विभिन्न प्रकृतिका सयभन्दा बढी मुद्दा दायर गरिएका छन्। ती मुद्दामा राष्ट्रिय गोपनीयता भङ्ग गरेकोदेखि राज्यका उपहारहरू बेचेको आरोपसम्म लगाइएको छ। खानले भने सबै मुद्दा राजनीतिक प्रेरित रहेको बताउँदै आएका छन्।
पछिल्लो मुद्दामा खान र उनकी श्रीमती बुशरा बिबीले अल-कादिर ट्रस्टमार्फत एक रियल स्टेट व्यवसायीबाट घूस स्वरूप जग्गा लिएको आरोप छ। यो ट्रस्ट खान प्रधानमन्त्री हुँदा स्थापना गरिएको थियो। पाकिस्तानी अधिकारीहरूका अनुसार यो देशकै सबैभन्दा ठूलो भ्रष्टाचार मुद्दा हो, यद्यपि विगतमा पनि पूर्व नेताहरू संलग्न भएका ठूला आर्थिक घोटालाहरू भएका छन्।
अनुसन्धानकर्ताहरूको भनाइमा इमरान खानले बेलायतको नेशनल क्राइम एजेन्सीबाट फिर्ता भएको १९० मिलियन पाउन्ड (२३२ मिलियन डलर) उक्त व्यवसायीको अदालती जरिवाना तिर्नमा प्रयोग गरेको आरोप छ।
खानको राजनीतिक दल पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई)ले भने विवादित जग्गा आध्यात्मिक शिक्षा केन्द्र स्थापनाका लागि ट्रस्टलाई दान स्वरूप प्राप्त भएको दाबी गरेको छ। यसबाट खानले कुनै व्यक्तिगत लाभ नलिएको पीटीआईको भनाइ छ।
पीटीआईका अध्यक्ष गोहर अली खानले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘इमरान खानले कुनै गलत काम गरेका छैनन्। यो एक राजनीतिक प्रेरित र अन्यायपूर्ण मुद्दा हो। इमरान खान न झुक्नेछन्, न हार मान्नेछन्, न त टुट्नेछन्।’
सरकारसँग पीटीआईको वार्ता चलिरहेको थियो। वार्ता स्थगित भएपछि यो फैसला आएको जनाइएको छ। फैसलापछि अदालतमा पत्रकारहरूसँग कुरा गर्दै खानले भने, “म न कुनै सम्झौता गर्छु, न कुनै राहत माग्छु।”
यस मुद्दामा खानलाई दिन सकिने अधिकतम सजाय १४ वर्ष जेल र चार हजार पाउन्डभन्दा बढी जरिवाना तोकिएको छ। उनकी श्रीमती बुशरा बिबीलाई सात वर्षको कारावास र दुई हजार पाउन्डभन्दा बढी जरिवानाको सजाय सुनाइएको छ। गत अक्टोबरदेखि जमानतमा रिहा भएकी बिबीलाई सजाय सुनाए लगत्तै अदालतबाटै हिरासतमा लिइएको छ।
पाकिस्तानका पूर्व प्रधानमन्त्री खानलाई सन् २०२३ मा पहिलो पटक सार्वजनिक पदमा रहँदा पाएका उपहारहरू बेचेर आर्जित रकम नदेखाएको आरोपमा तीन वर्षको जेल सजाय भएको थियो।
त्यसपछि उनलाई राज्यका उपहारहरू बेचेको मुद्दामा १४ वर्ष र राष्ट्रिय गोपनीयता भङ्ग गरेको मुद्दामा १० वर्षको थप जेल सजाय तोकिएको थियो। यी दुवै सजायहरू केही महीनापछि स्थगित गरिएका थिए।
जेलमा रहेका र सार्वजनिक पद धारण गर्न नपाउने गरी प्रतिबन्ध लगाइएको भए पनि खानको प्रभाव पाकिस्तानी राजनीतिमा अझै बलियो छ। यसको प्रमाण गत निर्वाचनमा देखियो, जहाँ खान समर्थित उम्मेदवारहरूले सबैभन्दा धेरै संसदीय सिट जितेका थिए।
खान विरुद्धको कानूनी कारबाहीको विरोधमा उनका समर्थकहरूले देशभर प्रदर्शन गरिरहेका छन्। यी प्रदर्शनलाई सरकारले दबाइरहेको छ। हजारौं प्रदर्शनकारी पक्राउ परेका छन् भने प्रहरीसँगको झडपमा धेरै घाइते भएका छन्। (बीबीसीबाट)