दिदी, मलाई फेसबूकमा ‘वर्थ डे विस’ नगर्नू है!
भाइले धकाउँदै भन्यो- मेरो ‘बर्थ डे’ हो भन्ने कुरा साथीहरूले थाहा पाए भने पार्टी दिनुपर्छ। यसपटक पार्टी दिने पैसा हुँदैन मसँग।
भरखरै सकिएको पुस एक चिसो बिहान जापानबाट फेसबूक म्यासेन्जरमा भाइको ‘कल’ आयो। केही बेरको गफगाफपछि भन्यो, “दिदी, फेसबूकमा मेरो ‘हेप्पी बर्थ डे विस’ नगर्नु है!”
भाइको अनौंठो आग्रह थियो त्यो। किन, के भयो भनेर प्रश्न गरेँ। अलिकति धकायो, ऊ। अलमलिँदै भन्यो, “मेरो ‘बर्थ डे’ हो भन्ने कुरा साथीहरूले थाहा पाए, पार्टी दिनुपर्छ। यसपटक पार्टी दिने पैसा हुँदैन मसँग।”
पुसको चिसो बिहानीमा पनि पसिना आउला जस्तो भयो, उकुसमुकुस। केही सम्झाउन खोज्दै थिए, ऊ ‘ड्युटी’मा जानु भनेर साइकलमा हुँइकियो। मैले नै मेसेन्जरको ‘कल’ काटिदिए।
खासमा भाइ विद्यार्थी भिसामा जापान पुगेको हो। कलेज पढ्दै ‘पार्ट टाइम’ काम पनि गरिरहेको छ। आफ्नो सबै आवश्यकता पूरा गरिरहेको भाइले यसपटक ‘कलेज फि’ जुटाउनुपर्ने रहेछ। त्यसैले फाल्टु खर्च नगर्ने भाइको मनसाय बुझे।
भाइको कुरा सुनिसकेपछि गहिरो सोँचको तलाउमा खसेँ म। परिवारको सबैभन्दा कान्छो हो। तर, यति कलिलो उमेरमै जिम्मेवारीको कति गह्रुंगो भारी बोक्न पुगेछ।
दुई वर्ष भएछ, भाइ विदेशिएको। कलेज त्यसपछि रात्रिकालीन ‘ड्युटी’ गर्नुपर्ने भएकाले होला, प्रायः कमै कुराकानी गर्छ। बोलेर बस्ने फुर्सद मिल्दैन। खाने, बस्ने, निदाउँने ठेगानसम्म हुँदैन।
जति नै ब्यस्त भए पनि कहिलेकाहीँ ‘मेशेज’ छाड्छु, ‘के छ बाबु, सञ्चै छौैं’ भनेर। फुर्सद् भएको वेलामा जवाफ लेख्छ। सँगसँगै गाउँघरतिरको सञ्चोबिसञ्चो सोध्न भ्याउँछ।
भाइभन्दा पाँच वर्षअघि बहिनी पनि विदेश गएकी थिइन्। बहिनी भने हरेक दिन जसो कुराकानी गर्छे। कहिलेकाहीँ ‘कल’ गर्न भ्याइन वा फोन उठाउन भ्याइनँ भने पनि ‘किन हो के दिदी फोन पनि नगर्र्ने’ भनेर सोधपुछ गर्छे।
त्यसो त म पनि कहाँ नै फुर्सदिलो छु र! आफ्नै देशमा परदेशीजस्तो बाँचिरहेको धेरै वर्ष भयो। कहीँ पुग्न नसकिने दौडले आफ्नै जिन्दगीलाई फन्को मारेका कयौं हिउँद गइसके। त्यही ब्यस्तताको फेहेरिस्त सुनाएर सम्झाउँछु।
बहिनी पनि भाइकै उमेरमा विदेशिएकी थिइन्। दुवै जना किशोरावस्थामै देश छोडेर गए, उस्ताउस्तै प्रकृतिको ‘स्टुडेन्ट भिसा’मै।
कहिलेकाहीँ कुराकानी हुँदै गर्दा बहिनीले भनिरहन्छिन्, ‘यो अर्काको देशमा दुःख मात्रै हो के दिदी। यहाँ परिवार छैन, खुशी छैन, सम्वेदना छैन, चाडवाड छैन, हाँसो छैन। मेशिन जस्तै हो।’
म पनि यता (नेपालमा) उस्तै परिस्थितिसँग जुधिरहेकी छु। आफ्नै व्यक्तिगत समस्याका चाङ छन्। झन त्यसमा व्यावसायिक कामकाजका झमेला त हुने भए नै। आफू आबद्ध संघसंस्थाका गतिविधिमा सामेत हुनु परिहाल्यो। यस्तै अनेक कारणले कहिलेकाहिँ बहिनीलाई भनिदिन्छु, ‘म पनि विदेश आऊँ कि क्या हो!’
जहिल्यै बहिनीको जवाफ हुन्छ, ‘अहँ, नेपालमै ठीक छ। त्यत्रो संघर्ष गरेर आफ्नो परिचय बनाएको मान्छे, विदेशिनु हुँदैन।’
बहिनीले भनेजस्तो म पुगेको ठाउँ हेर्छु। खै, कहाँनेर पुगेको रहेछु र म! यहिँ गल्ली र घुम्तीहरू छिचोलीरहेको छु, वर्षौँदेखि। यहीँ सडक नापिरहेको छु, हरेक साँझ-बिहान। उमेरको यो देउरालीमा बसेर आफू हिँडि आएको बाटाहरू हेर्छु। सिधा, सरल रेखाजस्तो बाटो कतै देखिन्न। अनेक घुम्तीहरू छिचोल्दै, अनेक अवरोधहरू पन्छाउँदै यो देउरालीमा आइपुगेको हुँ।
हुन पनि, मध्यम वर्गीय परिवारको जेठा सन्तानले कति दुःख र संघर्षका जंघार तर्नुपछ। उनीहरूले पाउने दुःख, अभाव र गर्नुपर्ने संघर्षको हिस्सा स्वाभाविक रूपले घरको जेठो सन्तानका रूपमा मेरो भागमा पर्ने नै भयो। हुर्किए, पढ्दै जाँदा भाइबहिनी पनि घर, परिवार र समाजको समस्यासँग परिचति हुँदै गए। उनीहरूले आफ्नै भविस्य, सपनाको लागि परदेशिने निर्णय लिए।
हरेक मध्यम वर्गीय परिवारका सन्ताको सपना सपना हुन्छ, ऋणले थिचिएर उठ्नै नसक्नेगरी थचारिएका आमा-बाबाको भार हल्का गर्ने। एउटा सानो घर बनाउने सपना। ऋभिभावकको जिम्मेवारी आफ्नै थाप्लोमा लिने लक्ष्य। अनि वर्षौँदेखि हराएको आमाबुवाको अनुहारमा खुशी फर्काउने अभिलाषा। जसका लागि मेरो भाइजस्तै कति भाइबहिनीहरू सामाजिक सञ्जालमा आफ्नो जन्मदिनको शुभकामना समेत नदिन आग्रह गरिरहेका होलान् प्रदेशबाट।
आँखिर परदेश र घरदेशमा के नै फरक छ र! अहिलेको पुस्ता विदेश पुग्दै छ, मेरो पुस्ता गाउँबाट शहर पुगेको थियो। अझ मोफसलबाट काठमाडौं छिरेको थियो।
म पनि २०७३ सालतिर हो, दाङ छाडेर राजधानी (काठमाडौं) भित्रिएको। केही समयपछि कान्छी बहिनी पनि आइन्। भाषा पढ्न थालिन्। त्यसपछि आमा, भाइ र बुवा पनि काठमाडौं आइपुगे।
त्यसको एक वर्षपछि २०७४ सालको अन्तिमतिर बहिनीले विद्यार्थी भिसामा विदेशको प्रक्रिया अघि बढाइन्। त्यसको एक वर्षपछि बहिनी जापान उडिन्।
कलेजको पढाइ पूरा गरेर कामदार भिसामा परिवर्तन भएको पनि केही वर्ष भइसक्यो। कामदार भिसामा काम गर्नेहरूको निश्चित समय हुने हुँदा केही आराम पाउने रहेछन्। तर विद्यार्थीलाई बिदाको दिनबाहेक अरू दिन सास फेर्न समेत गाह्रो हुँदोरहेछ।
त्यसैले त भाइसँग कमै कुराकानी हुन्छ। तैपनि वेला-वेलामा फोन गरेर भन्छ, “दिदी, मेरो पिर नगर्नु है। मलाई धेरै गफ पनि आउँदैन। चिन्ता नगर्नुस्, विस्तारै सबै ठीक हुन्छ।”
विदेशिएका सबैले घरमा यस्तै भन्दा होलान्। तर भोक, निद्रा बिर्सेर आफ्ना सपना पूरा गर्न दिनरात गर्ने परिश्रम त सुनाउँदैनन्। बासी खाना र उधारो निद्रा बोकेर हिँडिरहेका कयौं भाइबिहनीहरू गाह्रोसाह्रो देखाउँदैनन्, विदेशबाट।
कहिलेकाहीँ त सोच्छु, कलिला भाइबहिनीलाई विदेश पठाएर हामीले अपराध त गरिरहेका छैनौं? कलिलो उमेरमै परदेश खेदेर उनीहरूको स्वतन्त्रता र रहर कुण्ठित गरिरहेका छैनौं? हाँस्ने, खेल्ने, रमाउने उमेरका छन्। उनीहरूलाई देशमै केही गर्न सक्ने वातावरण बनाउनु पर्नेे होइन र?
भाइबहिनीलाई पनि यस्तै कुरा सुनाउँछु। भाइ त खासै बोल्दैन, बहिनी सम्झाउँन खोज्दै भन्छिन्, “हामीलाई हुर्काउनुभो, पढाउनुभो। नेपालमा एउटा मान्छेले जागिर गरेर गर्न सक्ने जति गर्नुभो। अब जिम्मेवारी बोक्ने हाम्रो पालो!”
अरुले पनि यस्तै त भन्दा हुन्, परिवारजनसँग। आखिर सबैका उस्ताउस्तै त समस्या छन्। तैपनि मलाई भने पिरोलिरहन्छ, मन चिमोटिरहन्छ। उनीहरूको किशोरावस्था खोसिदियौं कि झै लाग्छ।
मलाई अझै सम्झना छ, भाइ सानो हुँदा हरेक वर्ष टोलभरिका साथीहरू बोलाएर जन्मदिन बनाउन उत्साहित हुन्थ्यो। घरमा के छ, के छैन भन्ने कुरा उसलाई थाहै हुदैनथ्यो। साँझ परिसक्दा घरभरि साथीहरू जम्मा गरिसकेको हुन्थ्यो। हामी भाइको खुशी र रहरमा सामेल हुन्थ्यौं।
ऋाज समुन्द्र पार पुगेको उही भाइ भन्छ, “दिदी, आज मेरो ‘बर्थ डे’ हो। सामाजिक सञ्जालमा ‘हेप्पी बर्थ डे’ नभन्नू है!”
परदेशमा मेरै जस्ता कति भाइबहिनीहरू छन्, जसले निद्रा र छाक कटाएर पैसा जोड्दै होलान्। घरको जिम्मेवारी पूरा गरुँला भनेर आफ्ना रहर, सपना, खुशी मारेर बसिरहेका होलान्। मेरै भाइले जस्तो परिवारलाई जन्मदिनमा शुभकामना नदिनू है भनेर अनुरोध गरिरहेका होलान्।
सानो भाइ, तिमीले विदेशमा पाइरहेको दुःख र संघर्षले जिन्दगी जिउन अझ बलियो बनाउला। गाह्रोसाह्रोका पहाड उक्लिन सघाउँला। तिमीले परदेशमा पाइरहेको दुःखको कारण म हुँला÷नहुँला, त्यो बेग्लै कुरा भयो। तर, परदेशमा गरिरहेको संघर्षले तिमी र तिमीजस्तै भाइबहिनीभित्रको मानिसलाई यस्तो इस्पात बनाउन सकोस्, जसलाई हजारौं दुःखका प्रहारले समेत गलाउन नसकोस्।
तिमीलाई भने यतैबाट जन्मदिनको अनन्त शुभकामना, ‘हेप्पी बर्थ डे’ भाइ! घर छाडेर परदेशिएका र तिमीजस्तै जन्मदिन लुकाएर बसिरहेका तमाम भाइबहिनीलाई पनि ‘हेप्पी बर्थ डे!’