‘मनलाग्दी तरिकाले गरिरहेको विकासले अन्ततः हामीलाई नै पिर्नेछ’
‘नदीमा बगेको पानी खेर गएको होइन, त्यो त बग्छ र फेरि फर्केर आउँछ। त्यसैले पानी कसैको पनि हुँदैन। त्यसलाई सदुपयोग गर्ने हो।’
आठ वर्षअघि समाजशास्त्री, भूगर्भशास्त्री र नदीविज्ञको टोली कर्णाली नदीको समग्र अवस्थाको अध्ययन र सदुपयोगबारे बुझ्न उद्गमस्थल तिब्बतको माप्चाचुंगुमा पुग्यो। त्यो टोली कर्णालीलाई पछ्याउँदै ४५ दिनमा भारतको घाघरा पुग्यो, जहाँ कणाली विसर्जन हुन्छ।
अध्ययन टोलीका सदस्य रमेश भुसालले यो यात्रालाई पुस्तकको रूप दिएका छन्, छालबाटो। १० पाठमा विभाजित ३१३ पृष्ठको पुस्तकमा झन्डै एक हजार १०० किलोमिटरको कर्णाली नदीको शिरदेखि पुछारसम्म र शिरमा पुग्न काठमाडौंदेखि तिब्बतसम्मको अर्को झन्डै एक हजार किलोमिटरको यात्रावृत्तान्त छ। यही पुस्तकमा केन्द्रित रहेर हिमालखबरको प्रस्तुति किताबका कुरामा लेखक भुसालसँग महेश्वर आचार्यले गरेको कुराकानी:
कर्णालीको शिरसम्म जाने र त्यहाँबाट हिंड्दै, बग्दै, गुड्दै कर्णाली मिसिने गंगासम्म पुग्ने योजना कसरी बन्यो?
यसको श्रेय मेघ आले दाइलाई जान्छ। उहाँले २० वर्षदेखि बागमती सफाइ अभियान चलाइरहनुभएको छ। अभियान शुरूआत हुँदा म स्नातक तहको विद्यार्थी थिएँ, त्यो वेला उहाँसँग चिनजान भयो।
पेशाले नेपालको पहिलो पुस्ताका र्याफ्टर मेघ दाइ नदीलाई माया गर्ने मान्छे हुनुहुन्छ। नदी मर्दै र प्रदूषित हुँदै गएकामा चिन्तित हुनुहुन्थ्यो। त्यही भएर नदी जोगाउने अभियान चलाउनुभएको थियो र युवालाई त्यसमा संलग्न गराउनुभयो। पछि म पत्रकारितामा लागे पनि उहाँसँग सम्पर्क र सहकार्य भइरह्यो।
२०७३ सालतिर हामी कर्णाली नदीमा र्याफ्टिङ गर्दै थियौं। र्याफ्ट गर्दै सुर्खेत र अछामको बीच भागमा पुगेको दिन बालुवामा टेन्ट गाडेर बसेको वेला उहाँले ‘भाइ, मलाई मर्नुभन्दा अगाडि नै यो नदीको शिरदेखि पुछारसम्म हिंडेर जान मन छ’ भन्नुभयो। त्यो भनेको तिब्बतदेखि गंगासम्मको यात्राको कुरा हो। उहाँले थप ‘त्यो यात्रामा म एक्लै जान्नँ, तपाईं पनि जानुपर्छ’ भन्नुभयो र मैले सहमति जनाएँ।
त्यसरी कर्णाली नदीको उद्गम कैलाश पवर्तको सेरोफेरोबाट गंगासम्म जाने मेघ दाइको महत्त्वाकांक्षी योजनामा मैले पत्रकारका रूपमा सहभागी हुने अवसर पाएँ।
कर्णाली नदीको उद्गमसम्म कसरी पुग्नुभयो?
नेपालबाट कैलाश जाने मुख्य तीन वटा बाटा छन्। एउटा, काठमाडौंबाट विमानमा ल्हासा र त्यहाँबाट गाडीमा कैलाशसम्म पुगिन्छ। दोस्रो, रसुवागढी हुँदै केरुङ पुगेर गाडीमा कैलाशसम्म पुग्न सकिन्छ। तेस्रो, नेपालगन्ज वा सुर्खेतबाट हुम्लाको सिमकोट हुँदै हेलिकोप्टरमा हिल्सा र त्यहाँबाट गाडीमा कैलाश जाने गरिन्छ।
हामी सडकमार्ग हुँदै रसुवाबाट गयौं। धेरै जना जुन बाटो जान्छन्, त्यही बाटो फर्कन्छन्, हामी भने अर्कै बाटो फर्कियौं। रसुवाबाट केरुङ, सागा हुँदै कैलाश पुग्यौं। दुई-तीन दिनमै पुगिन्छ, तर हामी केही दिन लगाएर पुग्यौं।
हाम्रो उद्देश्य कैलाश पर्वतको दक्षिण-पश्चिममा कर्णाली नदीको उद्गमस्थल पुग्नु थियो। कैलाशबाट तलतिर झरेर राक्षस ताल र मानसरोवर ताललाई छोडेर कर्णालीको उद्गम माप्चाचुंगु अर्थात् मयूरमुखी पहाडसम्म पुग्यौं। नवौं दिनमा चीन-नेपाल सिमाना हुम्लाको हिल्सा पुग्यौं।
कर्णालीको ठ्याक्कै उद्गमस्थल पुग्न नपाइएको हो?
तिब्बती गाइडको निर्देशनमा सामल बोकेर वस्तीविहीन माप्चाचुंगु अर्थात् मयूरमुखी पहाडबाट निस्केको मूलसम्म पुग्यौं। त्यसलाई कर्णालीको सांस्कृतिक मुहान पनि मानिन्छ। त्यस बाहेक अलि माथिबाट पनि पानी बगेर आउँदो रहेछ, जहाँसम्म पुग्न सकेनौं। कर्णाली नदीको वैज्ञानिक उद्गम हामी पुगेको ठाउँभन्दा आधा दिनको हिंडाइमा थियो।
माथिसम्म पुगेर फर्कन अर्को एक दिन लाग्ने देखियो। रासन बोकेका थिएनौं। तल आएर फेरि जान पनि सम्भव थिएन। फेरि तिब्बतमा मन लागेको ठाउँमा बस्न पाइँदैन। जुन दिन जहाँसम्म जाने, बस्ने अनुमति लिइएको छ, त्यही अनुसार गर्नुपर्छ। केही फेरबदल गर्नुपरेमा पुनः अनुमति लिनुपर्छ। त्यसैले हामीलाई धेरै बस्ने छूट थिएन। ठ्याक्कै मुहानमा पुग्न नसके पनि नजीकैसम्म भने पुग्यौं।
अध्ययन टोलीलाई कर्णाली राक्षस तालबाट उद्गम भएको हो कि होइन भन्ने पत्ता लगाउनु थियो। त्यसमा भने सफल हुनुभयो, होइन?
मेघ आले दाइका लागि यस यात्रामा जानुको एउटा उद्देश्य नै कर्णाली राक्षस तालबाट आएको हो कि हैन भन्ने पत्ता लगाउनु थियो। किनभने हुम्लातिर कर्णालीलाई राक्षस तालबाट आएको राक्षस नदी भन्थे। सारा जीवन नै विश्वका सयौं नदीमा बगेर बिताएका मेघ दाइलाई यस्तो सुन्दर नदी कसरी राक्षस नदी हुन सक्छ भन्ने लागिरहेको थियो।
कर्णाली राक्षस तालबाट आएको हो/होइन जान्ने हुटहुटी थियो। तर हामीसँग गएका वैज्ञानिकले त्यो सम्भावना नरहेको बताए। किनभने कर्णालीको उद्गम राक्षस तालभन्दा धेरै पर छ, जहाँ हामी पुग्यौं। त्यहाँसम्म जाँदा कतै पनि राक्षस तालको पानी बगेर कर्णालीमा पसेको देखिएन।
खासमा कैलाश पर्वतबाट कुनै पनि नदीको उत्पत्ति हुँदैन। कैलाश पर्वतको १०० किलोमिटरको सेरोफेरोबाट चार वटा ठूला नदीको उद्गम हुन्छ, ब्रह्मपुत्र, सतलज, इन्डस र कर्णाली। ब्रह्मपुत्र पूर्व बग्दै गएर आसाम झरेर त्यहाँबाट बाङ्लादेश जान्छ। सतलज भारत र पाकिस्तान भएर बग्छ। इन्डस पाकिस्तान पुग्छ। कर्णाली नेपालतिर आउँछ।
धेरै मान्छे, जो हुम्लाबाट माथितिर गए, उनीहरूले राक्षस तालको नजीकैबाट कर्णाली नदी बगेको देखे। त्यसैले राक्षस तालको पानी कर्णालीमा आउँछ भन्ने ठानेको हुनुपर्छ। खासगरी हुम्लामा ‘कर्णाली नदी राक्षस तालबाट आएको हुँदा यो नदीले हामीलाई दुःख दियो, हामी गरीब हुनुको कारण यही हो’ भनेको पनि सुनियो।
तिब्बतमा चर्को निगरानी हुने रहेछ, घुम्न जाँदा पनि एक खालको सन्त्रासको अनुभव भइरहने। तपाईं त चीनको अन्यत्र पनि जानुभएको छ। त्यो क्षेत्रमा किन कडाइ हुन्छ?
चीन आफैंमा राज्यनियन्त्रित राज्य भएकाले निगरानी हुनु स्वाभाविकै हो। प्रजातान्त्रिक मुलुकमा जानु र चीन जानुमा फरक त हुने नै भयो। अर्को, तिब्बत राजनीतिक दृष्टिले संवेदनशील छ। चीनको भिसा हुँदैमा पनि तिब्बत जान पाइन्न, अनुमति लिनुपर्छ। त्यसकारण बढी निगरानीमा हुन्छ। कतिसम्म भने, आफूलाई मन लागेको गाडी चढ्न पाइन्न, तोकिएको गाडी चढ्नुपर्छ, जसमा सीसीटीभी जडान गरिएको हुन्छ। मान्छेहरू खुलेर बोल्दैनन्, बोल्न हिचकिचाउँछन्, डराउँछन्।
पत्रकार भएकाले पर्यटकभन्दा अलिकति चनाखो भइँदा आफैंलाई पनि अलि बढी डर लाग्दो रहेछ। जहाँ धेरै सोधखोज गर्न बन्देज छ, त्यहाँ अलिकति बुझ्न, जान्न खोज्दा डर हुन्छ नै। फेरि, त्यहाँ गाइड विना हिंड्न पाइँदैन। गाइडले पनि आफ्नो र आफ्नो पेशाको सुरक्षाका लागि तर्साउँदो रहेछ। हामीलाई पनि यात्राभरि ‘यताउति नजाओ है, भोटे कुकुरले टोक्छ’ भनेर तर्साइरह्यो।
कति धेरै चेकिङ हुन्छ भन्ने कुरै नगरौं। दुई-दुई घन्टामा चेकिङ! रसुवागढी नाकामा त मोबाइलमा भएका सबै फोटो, किताब खोजतलास गरेका थिए। अनि चामलको बोरामा ‘मेमोरी डिस्क’ लुकाएर हिंडेका थियौं।
लेख्नै नमिल्ने खालको अप्ठ्यारो केही पर्यो कि?
खास त्यस्तो परेन। भोगेका सबैजसो कुरा लेखेको छु। देखेको र भोगेको बाहेक मैले पात्र मार्फत कथा भन्ने प्रयास गरेको छु। यो यात्रा नदीको किनारैकिनार हिंडे पनि नदीको कथा मात्र होइन, नदीसँग जोडिएका धेरै विषयलाई उप्काउँदै अघि बढेको छु। त्यो क्रममा कहिले म देखिन्छु, कहिले अरू देखिन्छन्।
यात्रामा जाँदा नै पुस्तक लेख्ने योजना थियो कि पछि बनेको हो?
फर्केपछि मैले र साथी नवीन बरालले पाँच भागमा यात्राका कथा लेख्यौं। त्यो अंग्रेजीमा थियो। म काम गर्ने द थर्ड पोल, भारतको फर्स्ट पोस्ट र नेपालमा नेपाली टाइम्समा छापिए। त्यसले अंग्रेजीमा पहुँच भएका पाठकलाई राम्रै सन्देश दियो, तर नेपाली पाठकसम्म पुग्न कान्तिपुरको कोसेलीमा तीन हजार ५०० शब्दको ‘कर्णालीको शिर खोज्दा’ लेख प्रकाशन भएपछि राम्रो प्रतिक्रिया आयो। धेरैले सोधखोज गर्नुभयो।
प्रकाशन गृह फाइनप्रिन्टका अजित बरालले पनि ‘यो गजब किताब हुन्छ’ भन्नुभयो। त्यसपछि पो ‘ओहो, यो पहिल्यै थाहा पाएको भए अझ धेरै कुरा खोजिन्थ्यो’ भन्ने लाग्यो।
यद्यपि यात्राका धेरै सामग्री थिए। दुई-तीन वटा डायरी थिए। फोटो र भिडिओको डंगुर थियो। मोबाइलभरि ‘जीपीएस लोकेशन’ थियो। त्यसैका आधारमा किताबको काम अघि बढाएँ।
अनि, ‘छालबाटो’ नाम कसरी जुर्यो?
हुम्लातिर कर्णालीको किनारैकिनार हिंड्ने बाटोलाई छालबाटो भनिंदो रहेछ। एक जनासँग ‘कुन बाटो जाने होला’ भनेर सोध्दा ‘खच्चरको बाटो जाँदा धेरै समय लाग्छ, छालबाटो जाऊ’ भने। उनले बाटो बनाउँदा विस्फोट गराएकाले हिंड्न गाह्रो छ, छालबाटो जाने हो भने सजिलो हुन्छ भनेका थिए।
त्यसपछि त हाम्रो यात्रा पनि छालमा बग्दै अघि बढ्यो। दैलेखबाट नौ दिन र्याफ्ट गरेर चिसापानीभन्दा तल भारतको सीमासम्म पुगेका थियौं। त्यही भएर स्थानीय लवज ‘छालबाटो’ नाम राखियो।
किताबमा तिब्बत र नेपालको तुलनामा कर्णाली बग्दै जाने भारतको प्रसंग कम भयो कि भन्ने लाग्छ, होइन?
त्यो स्वाभाविक हो। एक त हाम्रो भारत यात्रा छोटो थियो। अर्को, धेरै दिन हिंडेकाले लखतरान परेका थियौं। भारतमा गाडीको यात्रा भएकाले पनि प्रसंग कम भएको हो।
किताबमा केरुङका बासिन्दालाई ‘रेल आउँछ भन्छन् नि’ भन्दा रिसाएको कुरा उद्धृत गर्नुभएको छ। रेलको कुराले राजनीतिक भाषणमा ठाउँ पाए पनि स्थानीय बासिन्दालाई भने विश्वास नलाग्ने रहेछ, हैन?
रेल हाम्रो क्षमता र स्रोतले भ्याउने कुरा होइन। दुई ठूला छिमेकी चीन र भारतले व्यापार विस्तार गर्न चाहँदा आउने हो। तर रेलको भाष्यलाई राजनीतिक रूपमा प्रयोग गरिएको छ।
अहिले उमेर पुगेका र सत्तामा भएका व्यक्तिलाई रेल देख्न गाह्रो छ। भावी पुस्ताले पनि तलतिर (भारत)बाट आएको रेल देख्ला, माथि (चीन)बाट गाह्रो छ। तलतिरबाट पनि रेल धेरै राजनीति जोडिएर आउँछ। रेल हाम्रा लागि सोचिएको विषय नै थिएन, भावी पुस्ताले देख्न पायो भने राम्रै होला।
त्यसैले त रेलको कुरा गर्दा मान्छे हाँस्छन्। काठमाडौंवासीका लागि त हाँसो लाग्ने हुन्छ भने झन् केरुङमा त कुरै भएन। रसुवागढीमा रेलको कुरा गर्दा मान्छे चिढिन्छन्। नाकामा एउटा प्रहरी चौकी बनाउन सकिएको छैन। तीन वर्षमा एउटा कार्यालय बनेको छैन। पारिपट्टि विशाल भवन छ। नेपालतिर प्रहरी बस्ने ठाउँ छैन, सुरक्षाकर्मी आत्तिएर बसेका छन्। कर्मचारी छैन, भन्सार छैन। तुरुन्तै गर्न सकिने यति काम त भएको छैन, अरू कुरा के गर्नु!
हाम्रो प्राथमिकता अरू नै विषयमा हुनुपर्नेमा रेलको बहसमा बहकिइरहेका त छैनौं?
एकदमै हो। रसुवागढीबाट तीन घन्टामा गल्छी, त्यहाँबाट दुई वटा सुरुङ हाल्ने बित्तिकै दुई घन्टामा वीरगन्ज । बाटो राम्रो बनाउँदा केरुङबाट ६ घन्टामा वीरगन्ज पुग्न सक्छौं। हामीलाई सजिलोसँग ओहोरदोहोर र व्यापार न गर्नुपरेको हो। हाम्रा बाटाहरू बाह्रै महीना चल्न सक्ने र केही रणनीतिक सडक सञ्जाललाई राम्रो बनाउने हो भने पुग्थ्यो। त्यसैले चीनसँग रेलभन्दा अरू धेरै गर्न सकिने काम छन्, भारतसँग पनि।
अन्त्यमा, सबै खोलामा बिजुली निकाल्ने धुन चलेको छ। छालबाटोले नदीलाई माया गर्ने कुरा उठाउँछ। यो तालमेल कसरी मिलाउने होला?
नदीमा बगेको पानी खेर गएको होइन, त्यो त बग्छ र फेरि फर्केर आउँछ। त्यसैले पानी कसैको पनि हुँदैन। त्यसलाई सदुपयोग गर्ने हो। उदाहरणका लागि अहिले देशभरका जलविद्युत् आयोजनाले १० प्रतिशत पानी बाह्रैमास खोलामा छोड्नुपर्ने नियम छ, तर कसैले पनि छोड्दैन।
हिउँदमा त नदीमा कमिला हिंडिरहेका हुन्छन्। यत्रो ठूलो ‘इकोसिस्टम’ लिएर बसेको देश यति धेरै दरिद्र हुनु हुँदैन। बिजुली उत्पादन गर्ने हो कि होइन भन्ने बहस नै होइन। चाहिएको, सकेको बनाउने, उपयोग गर्ने हो, तर यसरी चाहिं होइन।
अर्को, हामीले अत्यधिक बाटो खनिदियौं। त्यो भनेको पहाडलाई कोतरेर फाल्दिएको हो। पैसा भए पहाड काट्न सकिन्छ, तर जति पैसा भए पनि पहाड जोड्न सकिंदैन। त्यसकारण पहाडलाई पैसा हुँदैमा जथाभावी काट्ने होइन। त्यसलाई मिलाएर, सोचेर, बुझेर काट्नुपर्छ।
प्राकृतिक रूपमै सुन्दर ठाउँमा सिमेन्टका पूर्वाधार बनाएर कुरूप बनाइरहेका छौं। पहाडभरि भ्यूटावर, पार्क, भर्याङ बनेका छन्। प्राकृतिक रूपमै सुन्दर देशको सुन्दरताको परिभाषा नै बदलिदियौं। डाँडामा भ्यूटावर बनाएर हेर्ने चाहिं के? यो भनेको स्रोतलाई दुरुपयोग गरेको हो। विकासको बहस नै कता गयो, कता!
राजनीतिकर्मीहरू द्वैध चरित्रका भए। ठाउँ अनुसार कुरा गर्छन्। यहाँ हुँदा ‘वन छुन नदिंदा विकासमा बाधा भयो’ भन्छन्। जहाज चढेर विदेश जानासाथ ‘वन जोगाएका छौं, बाघगैंडा जोगाएका छौं, नेपाल हेर्न आउनुस्, सुन्दर छ, हामी त उदाहरण हौं’ भनेर भाषण गर्छन्। आफूसँग भएको भ्रष्टाचारलाई ढाकछोप चाहिं गर्ने, तर फेरि विकास गर्न वातावरणले दिएन भन्ने भाष्य पनि स्थापित गर्न लागेका छन्।
हाम्रो राजनीतिज्ञमा विज्ञान वा ज्ञानप्रति खासै ठूलो लगाव छैन। ‘ठोक्दिम्’ भन्ने हुन्छ नि, त्यस्तै गरिदिने परिपाटी छ। ज्ञानविज्ञानलाई बुझ्न सक्ने वा बुझेर त्यसको आधारमा नीतिगत निर्णय गरौं भन्ने नै छैन।
खोलामा पनि त्यसै गरिएको हो। देशभरका खोलाको लाइसेन्स खोलियो। एउटै खोलामा ५० वटासम्म लाइसेन्स जारी भए। कति क्षमता हो, कसरी गर्ने हो? अध्ययन, आधार केही छैन। एउटै खोलामा ५०० मेगावाटको आयोजना बन्थ्यो होला। अहिले १२ ठाउँमा थुनिएको छ, ३०० मेगावाट आइरहेको छ। मन लागेको तरीकाले विकास आयोजना बनायौं, जसले अन्ततः दुःख नै दिनेछ।
हामी जुन भूखण्डमा छौं, यी सामान्य हिमाल-पहाड होइनन्। संसारको सबैभन्दा अग्लो र लामो हिमशृंखलाप्रति संवेदनशील हुनुपर्छ भन्ने ‘न्यारेटिभ’ लाई स्थापित गर्ने प्रसास गरेको छु। कर्णालीको एक मान्छेले सोधेका थिए, “यो देशका मान्छेले सय वर्षअघि नै बिजुली देखेर मरे, म चाहिं अँध्यारोमै बस्नुपर्ने?”
उज्यालोमा बस्न पाउनुपर्ने कर्णालीका बासिन्दाको पनि त अधिकार छ नि! मैले किताबमा मान्छेका प्रश्नलाई उजागर गर्ने प्रयास गरेको छु।
किताबका कुराका थप सामग्री
- ‘सबै आन्दोलन असफल भएपछि यो किताब लेख्न बाध्य भएँ’
- ‘इतिहास बंग्याउने शासकहरूको इतिवृत्तान्त लामो छ’
- ‘हिन्दूत्वको बहानामा भारतीय हस्तक्षेप स्वीकार्य हुँदैन’
- ‘बुबालाई आज या भोलि झुन्ड्याउँछन् भन्ने परिस्थितिमा हुर्किएँ’
- ‘आक्रामक चीन र भारतलाई नबुझेमा दुवैले ठड्याइरहेका आर्थिक टावरले च्यापिनेछौं’
- ‘कर्णालीबाट काठमाडौं पनि उत्तिकै दुर्गम छ’
- ‘नेपालमा कविताका समीक्षक नै छैनन्’
- ‘एकैसाथ धेरै किताब प्रकाशन गर्दैमा गुणस्तर नहुने भन्ने हुँदैन’
- ‘हाम्रो राजनीतिले सद्भाव नसिकाउँदा समाजमा असहिष्णुता झाँगिइरहेछ’
- ‘मेरा कविताले मलाई पनि व्यंग्य गर्छन्’
- ‘काठमाडौंको सभ्यता जोगाउने श्रेय ज्यापू समुदायलाई दिनुपर्छ’
- ‘आप्रवासनले छुट्याएका दम्पतीको यौन-भोक र छटपटी जस्तो देखें, त्यस्तै लेखें’
- ‘संगीत विरोधी थिएनन् पृथ्वीनारायण शाह’
- ‘यौन, प्रेम र अपराध जनावरको संसारमा पनि छ’
- ‘डोरबहादुर विष्ट फर्केपछि पुस्तकको अनुवाद देखाउँला भनेको, फर्कनु नै भएन’
- ‘क्षमता छ भने कसैले पनि रोक्न सक्दैन’
- “म ‘पर्फेक्सनिस्ट’ होइन, छरिएको लेखक हुँ”
- ‘अभिभावक आफूलाई किताब किन्छन्, छोराछोरीलाई चटक्कै बिर्सन्छन्’
- “पाठकले ‘साला देशमें क्या है’ लेख्नुस् भन्न थालेका छन्”
- ‘बाँच्ने काइदा राउटेबाट सिक्नुपर्छ’
- ‘बीपीको जस्तोसुकै व्यस्त समयमा पनि किताब पढ्ने बानी रहेछ’
- ‘हजुरआमा पुस्ताले संघर्ष नगरेको भए नातिनी पुस्ताले यत्तिको स्वतन्त्रता पाउँदैनथ्यो’
- ‘प्रेम विनाको यौन अपराध हो’
- ‘बुद्ध जातिवाद विरोधी थिए, समान आर्थिक अधिकार हुनुपर्छ भन्ने मान्यता राख्थे’
- ‘सुवर्णशमशेरको पैसा नभएको भए प्रजातन्त्र ढिलो आउन सक्थ्यो’
- ‘गाउँदेखि शहरसम्म विकासको मानक नै उल्टो भयो’
- ‘उपचारको व्यवस्था नहुँदा थुप्रै वन्यजन्तु गुमाइरहेका छौं’
- ‘समुदायलाई वन हस्तान्तरण गर्दा पुरस्कार होइन, तिरस्कार पाएँ’
- ‘बीपीको साहित्य उच्च कोटिको छ, राजनीति असफल’
- ‘सबैभन्दा धेरै पढ्नुपर्ने शिक्षकले हो, तर पढ्दैनन्’
- ‘हाम्रा शासक थेत्तरो होइन, पाखण्डी छन्’
- ‘भैरव अर्यालको छुटेको जीवनी भग्न भैरवमा छ’
- ‘युवराज दीपेन्द्रले हाम्रो घरमा आउँदा धानका बोरा बोकेर भित्र राखेछन्’
- ‘भविष्यमा बाआमा अझै एक्ला हुनेछन्’
- ‘फरुवा बोकेर जनतासँगै पहाड फोड्ने नेताको खाँचाे छ’
- ‘नतीजा खोज्न राजनीतिमै घुस्नुपर्छ’
- ‘सामाजिक पागलपन झन् झन् चुलिंदै गएको छ’
- ‘प्रेम र यौन मानिसबाट अलग गर्न सकिंदैन’
- २५ वर्ष लगाएर लेखिएको पुस्तकमा के छ?
- ‘ढिलोचाँडो समाज पुस्तकमै फर्किन्छ’
- ‘किताब पढ्नु मेरो लागि ध्यान गर्नु जस्तै हो’
- ‘निकुञ्ज क्षेत्रमा भएको बाटो सूर्योदयदेखि सूर्यास्तसम्म मात्रै खोल्नुपर्छ’
- ‘लुकीछिपी विदेश गइरहेका मान्छेलाई जिउँदै समुद्रमा फालेको पनि देखें’
- ‘नेपाल र भारतमा विद्यापति जस्ता कवि अर्का जन्मिएका छैनन्’
- ‘द्वन्द्वका दागबारे लेख्न र बोल्न छाड्नु हुन्न’
- ‘उमेर जति बढ्दै गयो त्यति नै बीपीको लेखनले प्रभावित पार्दै गयो’
- ‘मुन्धुम मानव सभ्यताको इतिहास हो’