बन्द रहेका उद्योगलाई नयाँ ढाँचामा सञ्चालन गर्छौं : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले बन्द रहेका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भइरहेकाले उत्पादित ऊर्जाको खपतको चिन्ता लिइरहनुनपर्ने बताएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान)को रजतजयन्तीका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ऊर्जा उत्पादकले उत्पादित ऊर्जा खपतका ठाउँ आफैं बनाउने भएकाले बिक्रीको चिन्ता गरिरहनुनपर्ने बताए। सरकारले आगामी ११ वर्षभित्र २८ हजार ५०० मेगावाट बिजुली उत्पादनको मार्गचित्र तयार गरेको उनको भनाइ थियो।
“हामीसँग आठ वटा औद्योगिक क्षेत्र छन्। धौवादी फलाम खानी र मल कारखाना खोल्दै छौं। दैलेखमा ग्यास उत्पादन हुँदै छ। ध्वस्त भएका उद्योगले पुनर्जीवन पाउँदै छन्। ती सबैमा ऊर्जाको खपत हुनेछ,” प्रधानमन्त्री ओलीले भने।
उनले ऊर्जा उत्पादकहरूको प्रशंसा गरे। “ग्रीन हाइड्रोजन इनर्जी उत्पादन गर्न पनि अनुसन्धान भइरहेको छ। यस क्षेत्रमा नयाँ नयाँ सम्भावनाको खोजी गर्नुपर्नेछ,” उनले भने, “देशलाई आधुनिकीकरण र विकास गर्दै अँध्यारोबाट उज्यालोमा लाने प्रयासमा लागेका ऊर्जा उत्पादकको योगदानको म प्रशंसा गर्दछु। तपाईंहरू लगानी गर्नुस्, लगानी खोज्दै अरूलाई खोला दिइरहनुपर्दैन।”
प्रधानमन्त्री ओलीले ऊर्जा क्षेत्रमा सरकारको लगानीका साथै निजी र वैदेशिक क्षेत्रको लगानीलाई पनि उत्तिकै महत्त्व दिइएको बताए। ‘व्यवस्था बदलियो, अवस्था बदलिएन’ भन्नेहरूलाई ऊर्जा उत्पादकहरूले हासिल गरेको सफलताले देशको अवस्थामा परिवर्तन ल्याएको उनको भनाइ थियो।
फरक प्रसंगमा प्रधानमन्त्री ओलीले जनतालाई सेवा दिन र विकासलाई गति दिन अध्यादेश जारी भएको जिकिर गरे। आगामी १५ दिनपछि हुने संसद्को अधिवेशनमा अध्यादेशलाई पेश गरी दुई महीनाभित्र पारित गरिने बताए।
प्रधानमन्त्री ओलीले आयातीत कोइला, पेट्रोल, डिजेल लगायत वातावरणमा समेत प्रभाव पार्ने ‘फोसिल फ्यूल’ को प्रयोग घटाउँदै अधिकभन्दा अधिक नवीकरणीय ऊर्जा उत्पादन बढाउनुपर्नेमा जोड दिए।