सहकारीपीडितका वकील त्रिपाठीलाई आक्रमण गर्ने व्यक्ति को हुन्?
सहकारी ठगी सम्बन्धी मुद्दामा पीडितको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई हातपात गरेको आरोपमा प्रहरीले ललितकुमार केसीलाई पक्राउ गरेको छ।
माघ २ गते जिल्ला अदालत, काठमाडौंको गेटबाहिर वरिष्ठ अधिवक्ता त्रिपाठीलाई हातपात गरिएको थियो। सहकारी ठगीको आरोपमा मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने विरूद्ध माघ २ गते थुनचेक बहस भएको थियो। बहस सकिएपछि अदालतबाट बाहिरिने क्रममा त्रिपाठीलाई हातपात गरेको थियो।
त्यही दिन केसीलाई पक्राउ गरिएको प्रहरी वृत्त सिंहदरबारका प्रहरी निरीक्षक गंगा पौडेलले बताए। उनलाई अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ।
केसी दोलखाको तामाकोशी गाउँपालिका-१ का बासिन्दा हुन्। ललितपुरमा बस्ने उनले आफूलाई घरजग्गा कारोबारमा संलग्न भएको प्रहरी सोधपुछका क्रममा बताएका छन्। “राजनीति गर्दिनँ भन्छन्,” पौडेलले हिमालखबरसँग भने, “उनको राजीतिक आबद्धताबारे पनि हामीले अनुसन्धान गरिरहेका छौँ।”
लामिछानेको विपक्षमा बहस गरेको भन्दै वरिष्ठ अधिवक्ता त्रिपाठीलाई हातपात गरिएको थियो। तर, पक्राउ परेका केसी राष्ट्रिय स्वतन्त्र पार्टीको संगठित सदस्य रहेको प्रमाण भने अहिलेसम्म नभेटिएको पौडेलले बताए।
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई उद्धार गर्दा केसी त्यही रहेको प्रहरीले जनाएको छ। यूट्युबरहरूको भीडसँगै ‘बाइट’ लिने बहनामा केसीले वरिष्ठ अधिवक्ता त्रिपाठीसम्म पुगेर हातपात गरेको अनुसन्धानमा देखिएको प्रहरी निरीक्षक पौडेलले बताए।
आक्रमण गर्ने अन्य व्यक्तिको पनि पहिचान भएको छ। उनीहरू फरार रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका केसी र फरारहरूको संगठित योजनामा हातपात भए/नभएको खुल्न सकेको छैन। “सबै पक्राउ परेपछि उनीहरूबीचको सम्बन्ध प्रस्ट होला,” पौडेलले भने।
आजै त्रिपाठीले सिंहदरबार वृत्तमा जाहेरी समेत दिएका छन्। ज्यान मार्ने उद्योग र आपराधिक उपद्रो सम्बन्धी कसूरमा त्रिपाठीले जाहेरी दिएका हुन्। “तत्काल प्रहरी आईनपुगेको भए म आज तपाईंहरूसँग यसरी कुरा गर्न नपाउने अवस्था थियो,” त्रिपाठीले हिमालखबरसँग भने, “मलाई भुईँमा लडाइसकेका थिए। टाईमा तानेर मेरो किलकिले बन्द हुने अवस्था थियो। हत्याको एउटा उपाय यो पनि हुँदोरहेछ। मलाई मार्ने नै योजना रहेछ।” आज पनि कोखमा दुखिरहेको उनले बताए।
बहस गरेर निस्कँदै गर्दा भएको आक्रमण आफूमाथिको मात्र नभएर नागरिकको प्रजातान्त्रिक अधिकारको दायरा खुम्चाउने हिसाबले भएको त्रिपाठीको भनाइ छ। सर्वोच्च अदालत बार एशोसिएशनले पनि त्रिपाठीलाई गरिएको आक्रमण स्वतन्त्र न्यायपालिका र संविधानप्रतिकै प्रहार भनेर विरोध गर्दै विज्ञप्ति निकालेको छ।