बेचन झालाई थुनामा राख्नुको कारण देखाउन आदेश
सर्वोच्च अदालतले नक्कली भूटानी शरणार्थी प्रकरणका अभियुक्त बेचन झालाई थुनामा राख्नुको कारण देखाउन आदेश दिएको छ।
झाले दिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि बिहीबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले कारण देखाउ आदेश दिएको हो। सर्वोच्चले ‘यसमा केकसो भएको हो? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनुनपर्ने हो? जारी हुनुनपर्ने भए आधार कारण’ देखाउन भनेको छ।
आफूलाई गैरकानूनी थुनामा राखेको भन्दै झाले पुस २ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमा गृह मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय, उच्च अदालत, पाटन लगायतलाई विपक्षी बनाएका थिए। उनलाई केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवलमा थुनामा राखिएको छ।
नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका झालाई जिल्ला अदालत, काठमाडौंका न्यायाधीश तीर्थराज केसीको इजलासले गत भदौ २ मा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।
त्यस विरुद्ध उनी उच्च अदालत, पाटन पुगेका थिए। उच्च अदालतले पनि गत मंसीर २७ मा जिल्ला अदालतको आदेश सदर गरेको थियो। त्यसपछि उनी सर्वोच्च अदालत पुगेका हुन्।