अमेरिकी स्थानीय प्रशासनमा मेरो आधा वर्ष
निर्वाचित प्रतिनिधिहरूले व्यक्तिगत आग्रह-पूर्वाग्रहभन्दा माथि उठेर शहरलाई प्रगतिशील ढंगले अघि बढाउनमा मात्र समय-स्रोत खर्चने अमेरिकी दृष्टान्त हाम्रो सार्वजनिक प्रशासनको पनि सूत्र बन्नुपर्छ।
सन् २०२४ मा मलाई अमेरिकाको उत्तर-पूर्वी राज्य डेलावेरको सबैभन्दा ठूलो शहर विल्मिङ्टनको सिटी काउन्सिल (शहर परिषद्)मा नीति अन्वेषकका रूपमा काम गर्ने अवसर मिल्यो। यो जिम्मेवारीमा रहनेले निर्वाचित स्थानीय प्रतिनिधिलाई नीतिगत अनुसन्धान र समग्र शहरको नीतिगत चयनमा सघाउनुपर्ने हुन्छ। विल्मिङ्टनमा शहरी नीति र अमेरिकाको स्थानीय प्रशासनको अनुभव बटुल्दै गर्दा म युनिभर्सिटी अफ डेलावेरस्थित बाइडेन स्कूल अफ पब्लिक पोलिसीमा सार्वजनिक नीतिबारे स्नातकोत्तर अध्ययन पनि गर्दै छु।
सार्वजनिक नीतिको विद्यार्थीका लागि सिंगो शहरको नीतिगत व्यवस्थापनलाई प्रयोगात्मक रूपमा बुझ्न पाउनु महत्त्वपूर्ण अवसर हो। त्यसमाथि प्रतिस्पर्धा मार्फत नेपाली मूलको विद्यार्थी छनोट हुनु त झन् विशेष भइहाल्यो।
नेपालको स्थानीय प्रशासनमा काम गरेको प्रत्यक्ष अनुभव मसँग छैन। यद्यपि नेपालको शहरी व्यवस्थापनको परिदृश्य, स्थानीय प्रशासनका समसामयिक चुनौती, राष्ट्रिय नीति एवं प्राथमिकताहरूको स्थानीयकरणमा देखिने समस्याहरू नियालेको छु। सोही अनुभवका आधारमा नेपालमा विकेन्द्रीकरण र स्थानीय प्रशासनिक सबलीकरणका सन्दर्भमा अमेरिकी दृष्टान्त निकै काम लाग्न सक्ने मैले पाएको छु।
शुरूमा त अमेरिकी शहर परिषद्को औचित्य, अधिकार र सीमा बुझौं। नेपालमा जस्तै अमेरिकी शहरहरूमा पनि कार्यकारीका रूपमा प्रत्यक्ष निर्वाचित मेयर रहन्छन्। शहर परिषद् भने शहरको व्यवस्थापिका हो। यसले शहरका लागि कानून बनाउन मुख्य भूमिका खेल्छ। नेपालमा वडा रहे जस्तो यहाँका शहरमा डिस्ट्रिकहरू हुन्छन्। डिस्ट्रिकबाट चुनिने प्रतिनिधि काउन्सिलम्यान वा काउन्सिलवुमनका रूपमा शहर परिषद्मा रहन्छन् र तिनले शहरभरबाट चुनिएर आएका अन्य प्रतिनिधिसँग मिलेर नियम, कानून र नीति तर्जुमा गर्छन्। परिषद्को नेतृत्व अध्यक्षले गर्छन् जसको काम परिषद्को बैठक सञ्चालन गर्ने पनि हो।
कार्यकारी जिम्मेवारीमा मेयर रहे पनि नीतिगत प्राथमिकता निर्धारण र शहरी विभागका लागि बजेट विनियोजनका काममा शहर परिषद्को भूमिका प्रभावकारी हुन्छ। शहरको कार्यपालिका र व्यवस्थापिकाका आआफ्नै अधिकार र सीमा हुन्छन्। शक्तिको पृथक्करण यथावत् रहन्छ। यतिसम्म कि मेयर वा कार्यपालिकाको सहमति वा चासो नरहेका विषयमा पनि परिषद्का बहुमत सदस्यले माग गरेको खण्डमा व्यवस्थापिका एक्लैले नयाँ नियम वा विभागको स्थापना र तिनको खारेज पनि गर्न सक्छ। यस किसिमका प्रावधान शहरको चार्टर वा विधानबाट निर्दिष्ट हुन्छन्। हरेक शहरको आ-आफ्नै व्यवस्था हुन सक्छ। तथापि शहरको व्यवस्थापिका कार्यपालिका जत्तिकै प्रभावशाली हुन्छ।
त्यसैगरी, मतदाताद्वारा चुनिएका प्रतिनिधिलाई नीतिगत खोज, छलफल र निर्णयहरूमा सघाउनमा परिषद् कर्मचारीको अत्यन्तै ठूलो भूमिका रहन्छ। मेरो जिम्मेवारी त्यही कर्मचारीका रूपमा हो। प्रतिनिधिहरूमा राजनीतिक उद्देश्य हुनु स्वाभाविक होला, तर कर्मचारीको हकमा त्यसो हुँदैन। नयाँ नीतिगत अध्ययन वा प्रयोग गर्ने कुरामा कर्मचारीहरू प्रतिनिधिभन्दा एक कदम अगाडि रहेर उनीहरूलाई सक्रियता साथ सघाउँछन्। प्रतिनिधिको उपस्थिति कार्यकक्षमा कम, स्थानीय कार्यक्रममा बढी रहने हुँदा कर्मचारीले नै कार्यालयलाई पूर्णतः चलायमान राख्ने गरेको मैले पाएँ।
सहयोगी कर्मचारी स्थायी भने हुँदैनन्। मेयरको होस् वा शहर परिषद्को कार्यालयका, कर्मचारी जुनसुकै समयमा प्रतिस्थापन हुन सक्छन्। त्यसकारण पनि प्रतिनिधिको चासो योग्य कर्मचारी चयनमा रहन्छ भने कर्मचारीको ध्येय निर्वाचित प्रतिनिधिको कार्यकाल सफल बनाउनमा केन्द्रित हुन्छ।
यद्यपि नयाँ नेतृत्व आउनासाथ सबै कर्मचारी स्वतः निष्कासित हुने होइनन्। विशेष ज्ञान-क्षमता भएका र निजी विचारलाई कार्यालय बाहिर थन्क्याएर व्यावसायिक रूपमा कार्यसम्पादन गर्नेहरू राजनीतिक रूपमा फेरिइरहने प्रशासनलाई दशकौंसम्म सघाएर बसिरहेको पनि मैले देखें। आफ्नो सुपरिवेक्षकले ‘प्रतिनिधिहरूलाई तथ्य मात्र दिनू, नमागिएको विचार कहिल्यै नदिनू’ भनेको कुरालाई मैले सूत्र नै बनाएको छु।
परिषद्मा मेरो खटाइ
आवासीय शर्त : शहरभित्र माथि चर्चा गरिए जस्तो नियुक्तिद्वारा गरिनुपर्ने २०० अधिक रिक्त पद पूर्ति हुन सकिरहेका थिएनन्। कारण थियो, अस्थायी कर्मचारी नियुक्तिपछि शहरमै बसाइँ सरी आउनुपर्ने व्यवस्था। यससँगै सार्वजनिक सेवाका पदमा निजी क्षेत्रका जागीरको तुलनामा खासै आकर्षण नहुने जस्ता चुनौती पनि थिए। यसबीच रिक्त पदमा आवेदकको आकर्षण बढाउने उपायदेखि आवासीय शर्त पुनर्विचार गर्न सकिने सम्भावनासम्मको अध्ययन गर्न समिति (टास्कफोर्स) बनाइएको थियो। त्यसमा मलाई परिषद् प्रतिनिधिका रूपमा सामेल गराइयो। एक महीनाभन्दा बढीको छलफल र खोजपछि समितिले परिषद्लाई अध्ययनको निष्कर्ष बुझायो। अन्तिम प्रतिवेदन तयार पार्न मलाई प्रमुख जिम्मेवारी दिइएको थियो।
घरविहीनको समस्या : अमेरिकामा घरविहीनको समस्या व्यापक छ। गरीबी, दुर्व्यसन, मनोवैज्ञानिक आघात, आपराधिक पृष्ठभूमि यसका मुख्य कारण हुन्। मैले काम गरिरहेको शहरमा जाडो महीना शुरू हुनुअघि नै परिषद्ले घरविहीनको संख्या र अस्थायी आवासको आँकडा प्रक्षेपण गर्न थालिसकेको थियो। त्यसैगरी, अस्थायी आवासको संख्या, बेड संख्या र सम्पर्क सूची बनाएर सम्भावित समस्या टार्न पूर्व तयारीमा जुटेको थियो।
प्रकाश एवं ध्वनि प्रदूषण : शहरमा भौतिक पूर्वाधार एवं संरचनाको वृद्धिसँगै प्रकाश र अनावश्यक ध्वनिले बसोबास गर्नेहरूलाई सताउँछ। विल्मिङ्टनमा पनि बढ्दै गएको यो समस्याबारे पर्याप्त अध्ययन र नियमन भएको थिएन। त्यसैले मलाई मध्यरातपछि पनि चल्ने कन्सर्ट, खेलकूद र अन्य जमघटलाई कसरी व्यवस्थापन गर्ने, चम्किला बत्तीका सम्बन्धमा केकस्ता नियम बनाउने भन्नेबारे अध्ययन गर्ने जिम्मा दिइयो। मैले अन्य सात वटा जति अमेरिकी शहरमा लागू गरिएका नियमको तुलनात्मक अध्ययन गरी परिषद्मा छलफल अघि बढाउन स्रोतसामग्री तयार गरें।
आवास पुनर्निर्माण र मर्मतसम्भार : शहरले गरीब परिवार बस्ने सीमित घरहरूको मर्मत तथा पुनर्निर्माणलाई आफ्नो कार्यक्रममा राख्दै आएको छ। संघीय सरकारको आवास तथा शहरी विकास मन्त्रालयबाट उपलब्ध हुन सक्ने थप सहयोगबारे अध्ययन गर्न र शहरवासीका लागि अपनाइँदै आएको कार्यक्रम कसरी थप वैज्ञानिक र उपयोगी बनाउन सकिन्छ भन्नेबारेको अध्ययनमा पनि सहभागी हुन पाएँ।
सार्वजनिक सुरक्षामा पुनर्विचार : प्रहरी र अपराधलाई हेर्ने दृष्टिकोण अमेरिकी समाजमा परिवर्तन हुँदै छ। ‘ब्ल्याक लाइभ्स म्याटर’ जस्ता अभियान र आन्दोलनले सार्वजनिक सुरक्षा र अपराधलाई व्यक्ति वा समाजको मनोवैज्ञानिक, आर्थिक र सामाजिक यथार्थसँग जोडेर हेर्नुपर्नेमा जोड दिइरहेका छन्। यस्तोमा अपराध नियन्त्रणको प्रमुख औजार प्रहरी नभएर व्यक्ति र समाजको मनोवैज्ञानिक, आर्थिक र सामाजिक अवस्था सुधार्न थप्नुपर्ने लगानी हो भन्ने कोणबाट बहस हुन थालेको छ।
यस विषयमा सबैको एउटै बुझाइ छैन र सोही ढंगबाट प्रहरी विभागलाई नयाँ शैली र संरचनामा लैजान तयार शहर पनि धेरै छैनन्। तर विल्मिङ्टन नयाँ सोच लिएर अघि बढिरहेका तिनै थोरै शहरमध्ये पर्छ। परिषद्का केही निर्वाचित प्रतिनिधिको मागमा अध्ययन पनि भइरहेको छ। विगत केही समययता म यसै अध्ययनमा जुटिरहेको छ।
यो ६ महीने अवधिमा मलाई जिम्मा दिइएका कुनै पनि काम हलुका थिएनन्। सबैभन्दा अनुकरणीय कुरा, कार्यालयमा प्रायः करदाताको चासो, शहरको आवश्यकता र स्थानीय बासिन्दाको जनजीविकासँग जोडिएका विषयमा मात्र चर्चा र काम हुने गर्थ्यो। अबको केही सातापछि यो जिम्मेवारीलाई बिट मार्दै छु। सार्वजनिक नीतिको विद्यार्थीका रूपमा मैले यो जिम्मेवारीबाट धेरै कुरा सिक्ने मौका पाएँ। एक अर्थमा अमेरिकी सफलताको गहिराइ र यसका अन्तर्निहित कारणहरू बुझ्न पाएँ।
निर्वाचित प्रतिनिधिले व्यक्तिगत आग्रह-पूर्वाग्रहभन्दा माथि उठेर शहरलाई हर हिसाबले प्रगतिशील ढंगबाट अघि बढाउनमा मात्र समय-स्रोत खर्चने अमेरिकी नीति हरेक विकासशील देशका लागि पाठ हो। नीतिगत छलफल र बहसको केन्द्रमा राजनीतिक चयन होइन, शहरको हित, तथ्यांकले उजागर गर्ने तथ्य र स्रोतको न्यायोचित सदुपयोगलाई सर्वाधिक महत्त्व दिने कुरा हाम्रो सार्वजनिक प्रशासनको पनि सूत्र बन्नुपर्छ।
निर्वाचित प्रतिनिधिको उत्सुकता, इमानदारी र सरलतालाई नजीकबाट नियाल्दा स्थानीय प्रशासनले अमेरिकाको लोकतन्त्रको जग कसरी मजबूत बनाइरहेको छ भन्ने प्रस्ट हुन्छ। विदेशी मूलका म जस्ता करोडौं विद्यार्थीलाई अवसरका ढोका खोलिदिने र स्वतन्त्र रूपमा काम गर्न दिने संस्कारले यस देशको सांस्कृतिक विशालता र उदारता समेत उजागर गर्छ। योग्यताको कदर, क्षमता अनुरूप जिम्मेवारी र मिहिनेत अनुरूप प्रतिफलको सुनिश्चितता ‘राइट मेन इन राइट प्लेस’ लाई सधैं सुरक्षित राख्छ। हामीकहाँ पनि सार्वजनिक सेवाको मान्यता यसै अनुरूप स्थापित हुनुपर्छ।
(न्याशनल पोलिसी फोरमका संस्थापक कटुवाल युनिभर्सिटी अफ डेलावेरमा सार्वजनिक नीति विषयमा स्नातकोत्तर गर्दै छन्।)