प्रहरी क्लब बन्यो च्याम्पियन
त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल प्रहरी क्लबले जय ट्रफी इलिट कपको उपाधि जितेको छ।
वीरगञ्जस्थित नारायणी खेलमैदानमा बिहीबार आर्मी क्लबलाई २८ रनले प्रहरी क्लब च्याम्पियन बनेको हो। प्रहरी क्लबले दिएको १०३ रनको लक्ष्य पछ्याउने क्रममा आर्मी क्लब ७४ रनमै समेटियो।
आर्मीका लागि इम्रान शेखले २८, विनोद भण्डारी र सोमपाल कामीले ११-११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
प्रहरी क्लबका सागर ढकाल र ललित राजवंशीले कसिलो बलिङ गरे। ढकालले ६ र राजवंशीले चार विकेट लिए।
पहिलो इनिङमा नौ विकेटको क्षतिमा १३३ रनमा पारी समाप्तिको घोषणा गरेको प्रहरी क्लबले दोस्रो इनिङमा १३९ रन बनाएको थियो। प्रहरी क्लबका लागि पहिलो इनिङमा कुशल भुर्तेलले अर्धशतक बनाएका थिए। उनले दोस्रो इनिङमा पनि ४५ रन बनाए।
त्यस्तै, आर्मी क्लबले पहिलो इनिङमा १७० रन बनाएको थियो भने दोस्रो इनिङमा १०३ रन बनायो। आर्मीका लागि पहिलो इनिङमा भीम सार्कीले अर्धशतक र बसिर अहमदले ४० रन बनाए।
प्रहरी क्लबका लागि सागर ढकालले पहिलो इनिङमा पाँच र दोस्रो इनिङमा ६ विकेट लिए। त्यस्तै, पहिलो इनिङमा कुशल भुर्तेलले तीन र दोस्रो इनिङमा ललित राजवंशीले चार विकेट लिए।
आर्मी क्लबका लागि शहाब आलमले पहिलो इनिङमा सात र दोस्रो इनिङमा पाँच विकेट लिए। त्यस्तै, पहिलो इनिङमा एक विकेट लिएका बसिर अहमदले दोस्रो इनिङमा पाँच विकेट लिए।
प्रतियोगितामा चार टोलीले प्रतिस्पर्धा गरेका थिए। बागमती र मधेश प्रदेश लिग चरणबाट बाहिरिएका थिए भने आर्मी र प्रहरी क्लबले फाइनलको यात्रा तय गरेका थिए। लिग चरणका खेल दुई दिवसीय थिए भने फाइनल खेल तीन दिवसीय थियो।