घर खोज्दै स्वदेश फर्कंदा
धर्मपुत्र भएर विदेशिएकाहरू नेपाल फर्किंदा सामाजिक र कानूनी रुपमा मान्यता नदिने समाजलाई पनि सम्मान गरिरहेका छन्।
सन् १९८० देखि २००० को अवधिमा करीब पाँच हजार नेपाली बालबालिकालाई अमेरिका, फ्रान्स र स्पेन लगायत देशहरूमा धर्मसन्तान (दत्तक)का रूपमा लिइएको थियो। यो प्रक्रिया गरीब तथा असहाय बालबालिकाहरूलाई राम्रो जीवन दिने उद्देश्यले शुरू गरिएको थियो। तर बाल तस्करी र अनियमितताका कारण सन् २००७ मा सरकारले यस प्रक्रियालाई रोकेको थियो। त्यसपछि हेग एडप्शन कन्भेन्शन अनुसार कडा नियमहरू बनाइए, जसले गर्दा सन् २०१० पछि धर्मसन्तान ग्रहण गर्नेको संख्यामा ठूलो गिरावट आयो।
धर्मसन्तान बनाइएका ती बालबालिका अहिले वयस्क भइसकेका छन्। धेरै जना आफ्नो जन्मभूमि, आफ्नो परिवार र आफ्नो पहिचान खोज्न नेपाल फर्किरहेका छन्। तर उनीहरूको यो खोजी सजिलो छैन। कानूनी र सामाजिक रूपमा उनीहरू अपरिचित बनेका छन्।
यो केवल तथ्यांकको कुरा मात्र होइन। यसमा उनीहरूको गहिरो व्यक्तिगत र भावनात्मक यात्रा लुकेको छ, जो आफ्नो विगतसँग पुनः जोडिन, परिवार खोज्न र आफ्नो अस्तित्वको पुनः खोज गर्न फर्किरहेका छन्। यो खोजले नेपाली समाजमा पहिचान र अपनत्वको जटिल प्रश्नहरू उठाएको छ।
माया
आफ्नो जरा खोज्ने यात्रामा निस्किएकी मायाको कथा एकदमै मार्मिक छ। स्पेनको बार्सिलोना शहरको एक परिवारले ९ वर्षकी छँदा उनलाई धर्मपुत्री लिएको थियो। तर नेपालको आफ्नो बाल्यकालका केही टुक्रा सम्झनाहरू उनीसँग अझै ताजा छन्- खासगरी उनकी आमा र दिदी अचानक हराएको दिनको पीडादायी याद, जसले उनी र उनका भाइबहिनीलाई एक्लै छोडेर गएका थिए। आमाको मुहार, जेठी दिदीको रूप र आफू हुर्केको गाउँको धमिलो सम्झना उनको मनमा छ।
सन् २०१७ को जून महीनामा माया नेपाल फर्किइन्। उनीसँग चन्द्रकला र अरू दुई साथी जय र विक्रम थिए। उनीसँग केही पुराना तस्वीर थिए। आफ्नी आमा तुलसी, जेठी दिदी प्रगति र भिनाजु कमलका केही तस्वीर र एउटा सडकको नाम बोकेर, माया काठमाडौंबाट २० घण्टाको बसयात्रापछि वीरेन्द्रनगर पुगिन्।
तर आफ्नो पुरानो घर नजीक पुग्दा मायाको मन डरले थरथर काम्न थाल्यो। “अब यति नजीक आइसकेपछि मलाई लाग्छ, म उनीहरूको सामना गर्न सक्दिनँ,” उनले चन्द्रकलासँग मनको कुरा पोखिन्, “म एकदमै ‘नर्भस’ छु। मलाई थाहा छैन, म उनीहरूलाई चिन्न सक्छु कि सक्दिनँ, उनीहरूले मलाई चिन्लान् कि नचिन्लान्? उनीहरूको प्रतिक्रिया कस्तो होला? के भन्लान्? अनि त्यो कमल... उसका बारेमा मसँग धेरै नराम्रा यादहरू छन्। मलाई लाग्छ, म यो सबै थेग्न सक्दिनँ।”
“तिमीले यस क्षणका लागि धेरै साहस जुटाएकी छ्यौ,” चन्द्रकलाले मायालाई ढाडस दिइन्। माया र उनका साथीहरूले शहरभरि सोधपुछ गरे, तर खासै सफलता मिलेन। अन्त्यमा एक पसलेले कमललाई चिने र उनीहरूलाई नजीकैको एउटा गाउँतिर पठाए। उनका साथी जय त्यो गाउँमा गए र उत्साहित हुँदै फर्किएर भने, “तिम्री दिदी भेटिइन्!”
माया त्यहीं ठिंग भइन्। डर र उत्सुकताले उनको मुटु ढुकढुक भयो। तैपनि अगाडि बढिन्। गाउँमा पुग्दा प्रगति दिदीले उनलाई तुरुन्तै चिनिनन्। जयले भने, “हेर्नुस् त राम्ररी। यो तपाईंकी बहिनी हो। स्पेनबाट तपाईंलाई खोज्दै आएकी।”
बिस्तारै प्रगतिले मायालाई चिनिन्। दुई दिदीबहिनीले एकअर्कालाई अँगालो हाले। बीसौं वर्षको बिछोड आँसुमा बग्यो। भोलिपल्ट मायाले आमा तुलसीलाई भेटिन्। आमाले कोठामा छिरेर छोरीलाई अँगालो हालिन्। रुँदै भनिन्, “मेरो छोरा-छोरी, गए, गए...”
जब सबैको आँसु सुक्यो, तुलसी र प्रगतिले बिछोडको कथा सुनाए। बुबाको मृत्युपछि कमल उनीहरूकै घरमा बसेका थिए। प्रगतिसँग बिहे गर्नुअघि घरमा बसेकाले त्यो समयमा गाउँलेले तुलसीलाई धेरै दुःख दिए। गाउँलेहरूले तुलसीलाई अनैतिकताको आरोप लगाए, पापी भन्दै गाउँबाट निकाल्न खोजे।
“हामी गाउँ छोड्न चाहँदैनथ्यौं,” प्रगतिले बताइन्। “तर गाउँलेको दबाब थेग्न सकेनौं। तिमीहरूलाई पछि लिन आउँछौं भनेर गएका थियौं। तर फर्केर आउँदा तिमीहरू त गइसकेका रहेछौ।”
विश्वास गरेर बालबालिकालाई आफन्तको जिम्मा लगाएर गएकी तुलसीले फर्केर आउँदा आफ्ना छोराछोरी माया र उनका भाइबहिनीहरूलाई अन्तै पठाइसकेको थाहा पाइन्। आफ्नो अनुपस्थितिमा बच्चाहरूलाई टाढा पठाइएको कुरा थाहा पाउँदा उनको मुटु नै रोयो।
“मसँग अरू कुनै उपाय थिएन, त्यसैले उनीहरूलाई भरोसा गरें,” तुलसीले रुँदै भनिन्, “मेरा बच्चाहरूलाई यसरी पठाउँछन् भन्ने कल्पना पनि गरेकी थिइनँ। म कस्ती अभागी आमा रहेछु! तिनीहरूले मलाई नराम्री आमा भने, तर मसँग अरू विकल्प नै के थियो र?”
यो पुनर्मिलनले धेरै कुराको जवाफ त दियो। साथै, यसले मायाको परिवारलाई टुक्र्याउने समाजको दबाबलाई पनि देखायो। यी सबै कठिनाइका बावजूद मायाले आफ्नो बसाइको बाँकी समय दिदी, भान्जा-भान्जीहरू र सौतेनी बहिनी सुनीतासँग बिताइन्। बिस्तारै समय र दूरीले बनाएका खाडलहरू पुर्दै गइन्।
मायाको यात्राले बितेको समयको सामना गर्न चाहिने साहस, पीडादायी सत्यको खोजी र हराएका सम्बन्धहरूलाई फेरि जोड्ने आशाको कथा बोक्छ। उनको कहानीले धर्मपुत्र/धर्मपुत्रीले आफ्नो इतिहास र पहिचान खोज्दा भोग्नुपर्ने जटिल भावनात्मक यात्रालाई उजागर गर्छ।
अस्मिता
धेरै धर्मपुत्र/धर्मपुत्री आफ्नो जन्मदिने परिवार खोज्न व्यस्त हुँदा २६ वर्षीया अस्मिताको चाहना भने फरक छ। उनी आफ्नो धर्मपुत्री बनाउने प्रक्रियामा संलग्न संस्थाहरूको भूमिका बुझ्न चाहन्छिन्। अनाथालय र सरकारी कार्यालयहरूसँग आफ्ना बारेमा केकति जानकारी छ र किन ती कुराहरू लुकाइएका छन् भन्नेमा उनको जिज्ञासा छ।
“म केवल आफू कहाँबाट आएकी हुँ भन्ने जान्न चाहन्छु,” उनले भनिन्, “मैले कहिल्यै आफ्नो जैविक परिवार नभेटे पनि मेरो कथासँग जोडिएका ठाउँहरू र मान्छेहरूका बारेमा राम्रो जानकारी पाउन सके त्यो मेरा लागि धेरै ठूलो कुरा हुनेछ।”
विदेशमा हुर्केका धर्मपुत्र/धर्मपुत्री नेपाल फर्कंदा मात्र भावनात्मक पुनर्मिलन खोज्दैनन्, उनीहरू आफूलाई नेपाली समाजको अभिन्न अंगका रूपमा स्वीकार गरियोस् भन्ने पनि चाहन्छन्। तर दुर्भाग्यवश, नेपालको कानूनी व्यवस्थाले उनीहरूको यस्तो विशेष अवस्थालाई मान्यता दिन सकेको छैन।
नेपालको कानूनले धर्मपुत्र/धर्मपुत्रीलाई अलमलमा पारेको छ। न त उनीहरूका जन्म दिने आमाबुबालाई कानूनी अभिभावक मानिन्छ न त धर्मपुत्र/धर्मपुत्री बनेपछि उनीहरूको नेपालसँगको नाता नै कायम रहन्छ। यस्तो अस्पष्ट कानूनी व्यवस्थाले विशेषगरी दुई ठाउँमा समस्या निम्त्याएको छ- धर्मपुत्र/धर्मपुत्री बन्नुअघिका कागजातहरू हेर्न पाउने अधिकार र गैरआवासीय नेपालीको मान्यता पाउने विषय।
हरेक व्यक्तिलाई आफ्नो उत्पत्तिबारे जान्न पाउने अधिकार बालअधिकार महासन्धिले सुनिश्चित गरे पनि नेपालका संस्थाहरू यस विषयमा सहयोग गर्न तयार छैनन्। जन्मदर्ता र नागरिकता जस्ता महत्त्वपूर्ण कागजातहरू भएका अनाथालय र गैरसरकारी संस्थाहरूले प्राय: यस्ता जानकारी लुकाउँछन्। यसले पारदर्शिताप्रति संस्थागत उदासीनता देखाउँछ।
अधिकांश मामिलामा परिवारको नाम, ठेगाना वा बच्चा छोड्ने सम्बन्धी कागजातहरू या त अधुरा छन् या झूटा बनाइएका छन्। यस्तो कार्यले धर्मपुत्र/धर्मपुत्रीलाई आफ्नो वास्तविक पहिचान थाहा पाउनबाट वञ्चित गर्नुका साथै उनीहरूको आफ्नै संस्कृति र परम्परासँगको सम्बन्धलाई पनि कमजोर बनाउँछ।
धर्मपुत्री बनाउने संस्थासँग जानकारी माग्दा अस्मिताले पटक पटक आश्वासन र अपुरो जवाफ मात्रै पाइन्। आफू सानैमा बसेको अनाथालयमा खोज्न जाँदा त झन् बढी अड्चन आयो। एक पटक त अनाथालयका सञ्चालकले उनलाई अप्रत्यक्ष धम्की समेत दिए। तैपनि अस्मिताले हार मानिनन् र आफूलाई अनाथालयमा ल्याउने व्यक्तिको नाम पत्ता लगाउन सफल भइन्। तर त्यो व्यक्ति बेपत्ता भइसकेको थियो, जसले उनको कथामा अर्को रिक्तता थपिदियो।
एउटा प्रहरी प्रतिवेदनले उनको जन्म धर्मपुत्री बनाउने प्रक्रियाको कागजातमा उल्लेख भएभन्दा फरक नगरपालिकामा भएको हुन सक्ने संकेत गरेपछि उनले स्थानीय अधिकारीहरूको सहयोग खोजिन्। प्रहरीले उनको मामिलामा चासो देखायो र जन्म दिने परिवारसँग सम्भावित सम्बन्धको खोजी शुरू गर्यो। काम बिस्तारै अघि बढे पनि प्रहरीले हरेक सुराकको सूक्ष्म अनुसन्धान गरिरहेको छ।
“यो सजिलो यात्रा होइन,” अस्मिताले भनिन्। “तर हरेक सानो कदमले मेरो जीवनको हराएका टुक्राहरू जोडिँदै छन्।”
उनले समाजको धारणाले पनि यो यात्रालाई कठिन बनाउने गरेको बताइन्। कहिलेकाहीं उनको पहिचान र जवाफ खोज्ने अधिकारमाथि नै प्रश्न उठ्ने गरेको उनले महसुस गरिन्। “मानिसहरूले मलाई किन यति धेरै चासो राख्छेस् भनेर सोध्छन्, कतिपयले त विदेशमा धर्मपुत्री भएकीले तिमी अब नेपाली होइनौ पनि भन्छन्,” उनले सम्झिँदै भनिन्।
अस्मिताको जीवनकथा एक संघर्षपूर्ण यात्राको चित्रण हो। संस्थागत बाधा र व्यक्तिगत चुनौतीको बीचमा पनि उनले आफ्नो खोजलाई निरन्तरता दिइरहेकी छिन्। आफ्नो बाल्यकाल र धर्मपुत्री बनाउने प्रक्रियाबारे थाहा पाउने उनको प्रयास जारी छ, जसले उनलाई नयाँ नयाँ जानकारी दिइरहेको छ।
तर बाधाहरू कम छैनन्। “कानूनी कारणले यी कागजात बन्द राखिएका हुन्। यिनलाई खोल्न मिल्दैन,” प्रशासनिक अधिकारीले भने। एक सामाजिक संस्थाका प्रतिनिधिले त झन् पुरानो कुरा पुरानै रहन दिनु राम्रो हुन्छ भने। अनाथालयका सञ्चालकले भने, “किन यी सबै कुरा खोज्दै हुनुहुन्छ? अब यो तपाईंको संसार होइन।”
हरि प्रसाद साक्रे
एनआरएन कार्ड विदेशमा बस्ने नेपालीका लागि एउटा महत्वपूर्ण दस्तावेज हो। यो कार्डले उनीहरूलाई नेपालमा बस्न र सम्पत्ति राख्न पाउने अधिकार दिन्छ। तर यो सुविधाबाट विदेशमा धर्मसन्तान बनाएर लगिएका नेपाली मूलका व्यक्तिहरू वञ्चित छन्। कानूनले भन्छ- तपाईंका बाबुआमा वा हजुरबा-हजुरआमा नेपाली नागरिक भएको हुनुपर्छ। तर धर्मसन्तानको प्रक्रियाले नै नेपाली आमाबुबासँगको कानूनी नाता तोडिदिने भएकोले धर्मपुत्र/धर्मपुत्रीहरूको हकमा यो व्यवस्था लागू स्पष्ट छैन।
यही समस्या भोगे हरि प्रसाद साक्रेले। बेल्जियममा रहेको नेपाली दूतावासमा एनआरएन कार्डका लागि निवेदन दिन पुगेका उनी पहिलो धर्मपुत्र नेपाली थिए जसले यस्तो माग राखेका थिए। दूतावासका कर्मचारीलाई यस्तो अवस्थामा के गर्ने भन्ने थाहै थिएन। उनको केसले एउटा नयाँ बाटो त खोल्यो, तर साथै धर्मपुत्र/धर्मपुत्रीहरूले सामना गर्नुपर्ने प्रणालीगत बाधाहरूलाई पनि उजागर गर्यो।
“तपाईंको थर त साक्रे रहेछ, यो नेपाली थर होइन। त्यसैले तपाईं योग्य हुनुहुन्न,” दूतावासका एक कर्मचारीले भने। यो भनाइले नै धर्मसन्तान नेपालीहरूप्रति रहेको संकीर्ण दृष्टिकोणलाई देखाउँछ।
हरि प्रसादको अवस्था कानूनी रूपमा अस्पष्ट थियो। एकातिर जैविक बुबा कुलप्रसाद अधिकारी सहित परिवारका सदस्यहरूसँग उनको सम्बन्ध/सम्पर्क कायम छ। तर कानूनी रूपमा उनको नेपालसँगको नाता धर्मसन्तान प्रक्रियाले तोडिदिएको छ। यो द्वैध अवस्थाले उनको एनआरएन आवेदनलाई जटिल बनायो।
दूतावासका कर्मचारीका लागि साक्रे भन्ने विदेशी थर नै ठूलो बाधा बन्यो। उनीहरूलाई लाग्यो- यस्तो थर भएको व्यक्ति कसरी नेपाली मूलको हुन सक्छ? अर्कातिर नेपाली कानून पनि बाधक बन्यो। किनभने कानूनले बच्चा धर्मसन्तान बनेपछि जैविक आमाबुबालाई कानूनी अभिभावक मान्दैन।
यो गाँठो फुकाउन साक्रेले आफ्ना बुबाको मद्दत लिए। कास्कीको स्थानीय सरकारबाट एउटा सिफारिश ल्याए जसमा उनी नेपाली मूलका हुन् र धर्मसन्तान दिइएका हुन् भन्ने उल्लेख थियो। यो कागजातले अन्ततः उनलाई एनआरएन कार्ड दिलायो। तर यो यात्रा सजिलो थिएन। लामो र झन्झटिलो प्रक्रिया, भावनात्मक तनाव र अनेकौं चुनौतीहरू। साक्रेको कथाले देखाउँछ- धर्मसन्तानहरूको विशेष अवस्थालाई सम्बोधन गर्न हाम्रा नीतिनियमहरू कति अपुरा छन्।
साक्रेको घटना एक दुर्लभ उदाहरण हो, जहाँ जैविक आमाबुबा जीवित थिए र उनको पक्षमा बोलिदिन तयार भए, तर धेरै धर्मपुत्रहरू उनी जस्तै भाग्यमानी छैनन्। धेरै धर्मपुत्र/धर्मपुत्रीलाई धर्मसन्तान प्रक्रियाका क्रममा ‘अनाथ’ घोषित गरियो, जबकि उनीहरूका आमाबुबा जीवितै थिए।
यस्तो कागजी प्रक्रियाले उनीहरूको नेपालसँगको कानूनी नाता तोडिदियो र भविष्यमा आफ्नो मूल पहिचान प्रमाणित गर्न सक्ने कागजातबाट पनि वञ्चित गरायो। कतिपयको त झन् दुःखद अवस्था छ- न आफन्त भेटिन्छन् न पुराना कागजात नै फेला पर्छन्।
यस्ता धर्मपुत्र/धर्मपुत्रीका समस्या थुप्रै छन्। उनीहरूसँग न त स्पष्ट कागजात छन् न त नेपाली वंश प्रमाणित गर्न कोही आफन्त नै। यसैले उनीहरू एनआरएन कार्डको सुविधाबाट वञ्चित छन्। यो कार्डले दिने सम्पत्तिको अधिकार, कानूनी मान्यता र जन्मभूमिसँगको औपचारिक सम्बन्ध जस्ता महत्त्वपूर्ण अधिकार पाउन सकेका छैनन्।
वर्तमान कानून यस विषयमा मौन छ। धर्मपुत्र/धर्मपुत्रीको विशिष्ट अवस्थालाई यसले बुझ्न सकेको छैन। फलस्वरूप उनीहरू आफ्नो संस्कृति र कानूनी अधिकारबाट टाढिएका छन्। यसको समाधानका लागि धर्मसन्तान सम्बन्धी कागजातलाई नै नेपाली वंशको प्रमाणका रूपमा स्वीकार गरिनुपर्छ। यसो गर्न सके मात्र उनीहरूले एनआरएन कार्ड पाउन सक्छन् र नेपाली प्रवासी समुदायमा समावेश हुन सक्छन्।
यो केवल कागजी प्रक्रिया मात्र होइन। यो हजारौं धर्मपुत्र/धर्मपुत्रीको पहिचान, अधिकार र भविष्यसँग जोडिएको छ। उनीहरूको मौलिक अधिकार सुनिश्चित गर्न कानूनी सुधार अपरिहार्य छ।
अन्तर्राष्ट्रिय धर्मपुत्र/धर्मपुत्रीका विषयमा साक्रेको केस महत्त्वपूर्ण उदाहरण हो। यसले धर्मपुत्र/धर्मपुत्रीले सामना गर्नुपर्ने प्रशासनिक जटिलता र त्यसमाथिको विजयलाई देखाउँछ। साथै, यसले उनीहरूलाई आफ्नो जन्मभूमिसँग जोड्न समावेशी र समतामूलक पहुँचको आवश्यकतालाई पनि दर्शाउँछ।
यस विषयमा नेपालले दक्षिण कोरियाबाट सिक्न सक्छ। त्यहाँको सरकारले धर्मपुत्र/धर्मपुत्रीलाई समाजमा पुनरेकीकरण गर्न विशेष सहयोग गरिरहेको छ। ग्लोबल ओभरसिज एडप्टीज लिंक जस्ता संस्थाको प्रयासले स्थापित भएको एफ-४ भिसाले धर्मपुत्र/धर्मपुत्रीलाई कोरियामा बसोबास र रोजगारीको अधिकार दिएको छ। यसैगरी, दोहोरो नागरिकताको व्यवस्थाले उनीहरूको दोहोरो पहिचान- प्रवासी र मूल देशको नागरिकका रूपमा स्वीकार गरेको छ।
ग्लोबल ओभरसिज एडप्टीज लिंकले भाषा कक्षा र सांस्कृतिक आदानप्रदान कार्यक्रम सञ्चालन गरेर धर्मपुत्र/धर्मपुत्रीलाई आफ्नो मूल समाजसँग जोडिन सहयोग गरिरहेको छ। यसले उनीहरूलाई अर्थपूर्ण पुनरेकीकरण र अपनत्वको अनुभूति दिन मद्दत गर्छ।
नेपालले पनि गैरआवासीय नेपाली (एनआरएन) नागरिकताको ढाँचालाई सुधार गर्दै जाँदा धर्मपुत्र/धर्मपुत्रीलाई विशेष रूपमा समावेश गर्न सक्छ। यसो गर्दा अन्तर्राष्ट्रिय धर्मसन्तान ग्रहणका कारण टुटेका कानूनी र सांस्कृतिक सम्बन्धलाई पुन:स्थापित गर्न मद्दत पुग्नेछ।
यस्तो समावेशीकरणबाट धर्मपुत्र/धर्मपुत्रीले बसोबास गर्ने अधिकार, नागरिकता र अन्य अधिकार पाउन सक्नेछन्। यसले उनीहरूलाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोडिन सहज बनाउनेछ। साथै, भाषा सिक्ने, सांस्कृतिक गतिविधिमा सहभागी हुने र ऐतिहासिक ज्ञान हासिल गर्ने कार्यक्रमको व्यवस्था गर्दा विदेशिएका करीब पाँच हजार नेपाली बालबालिकाप्रति राज्यको दायित्व पूरा हुनेछ।
दक्षिण कोरियाको ग्लोबल ओभरसिज एडप्टीज लिंक जस्तै नेपालमा पनि एउटा छुट्टै संस्थाको स्थापना गर्न सकिन्छ। यस्तो संस्थाले धर्मपुत्र/धर्मपुत्रीलाई धर्मपुत्र बन्नुअघिका कागजातहरू खोज्न, कानूनी प्रक्रियाहरू बुझ्न र सांस्कृतिक आदानप्रदानका कार्यक्रममा सहभागी हुन सहयोग गर्न सक्छ। यो संस्थाले धर्मपुत्र/धर्मपुत्री र नेपाली समाजबीच सेतुको काम गर्नेछ, जसले दुवै पक्षबीच बुझाइ र सहकार्य बढाउन मद्दत गर्नेछ।
(यो लेख डा. हरिप्रसाद साक्रे र डा. चन्द्रकला क्लेमेन्टे-मार्टिनेजको विद्यावारिधि अध्ययनमा आधारित छ। नेपाली टाइम्समा प्रकाशित लेखलाई अन्शु खनालले अनुवाद गरेकी हुन्। अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्।)
डा. हरि प्रसाद साक्रे बेल्जियमस्थित घेन्ट विश्वविद्यालयमा पोस्टडक्टोरल अनुसन्धाताका रूपमा कार्यरत छन्। उनी शैक्षिक क्षेत्रमा सांस्कृतिक अनुवाद, बहुभाषावाद र पहिचान विषयका विज्ञ हुन्। उनको विद्यावारिधि शोध ‘रिडिङ इलिटरेसी’ ले धर्मपुत्र/धर्मपुत्री जस्ता विस्थापित व्यक्तिमा देखिने खण्डित बहुभाषावाद र निरक्षरताको विश्लेषण गरेको छ। उनका अनुसन्धान लेखहरू क्रिटिकल आर्टस् र यूरोपियन जर्नल फर कल्चरल स्टडीज जस्ता प्रतिष्ठित जर्नलमा प्रकाशित भएका छन्।
डा. चन्द्रकला क्लेमेन्टे-मार्टिनेज स्पेनको बार्सिलोनास्थित स्वायत्त विश्वविद्यालयको एएफआईएन अनुसन्धान समूहमा पोस्टडक्टोरल अनुसन्धाता हुन्। सामाजिक मानवशास्त्रमा विद्यावारिधि गरेकी उनको अनुसन्धान पारिवारिक रणनीति, सन्तान सम्बन्धी निर्णय र धर्मपुत्र ग्रहणमा केन्द्रित छ। उनले स्पेन र नेपालमा गरेको विस्तृत क्षेत्रगत अध्ययनले धर्मपुत्र/धर्मपुत्रीको पुनर्मिलन र यससँग सम्बन्धित शासकीय व्यवस्था एवं अधिकारको गहन अध्ययन गरेको छ।