रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले धरौटीमा छाड्न आदेश दिएको लामिछानेका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता सुशील पन्तले बताए। “इजलासले ६० लाख धरौटीमा छाड्न आदेश दिएको छ,” पन्तले हिमालखबरसँग भने।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीका रकम अपचलन गरेको अभियोगमा लामिछाने विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। त्यसमाथि बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश अधिकारीले धरौटीमा छाड्न आदेश दिएका हुन्।
पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा ६५ लाख रुपैयाँ धरौटी तिरेर छुटेका लामिछाने पुस २८ मा काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए। काठमाडौंको स्वर्णलक्ष्मी सहकारीमा एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ अपचलन भएको आरोपमा उनी सहित ३९ जना विरुद्ध मुद्दा दर्ता भएको छ।
यो सहकारीबाट पनि गोरखा मिडिया नेटवर्कमा रकम लगेको आरोप छ। जसमा गोरखा मिडियाका तत्कालीन सञ्चालक लामिछाने र अध्यक्ष जीबी राईले सहकारीको पाँच करोड आठ लाख ६९ हजार ६३३ रुपैयाँ अपचलन गरेको अभियोगपत्रमा खुलाइएको छ।
लामिछानेलाई चितवन, रुपन्देही र पर्साका सहकारीबाट समेत रकम अपचलन गरेको आरोप छ। लामिछाने गृहमन्त्री छँदा रुपन्देही र कास्कीमा भएको अनुसन्धानमा उनलाई उन्मुक्ति दिइएको थियो। संसदीय छानबिन विशेष समितिले पुनः अनुसन्धान हुनुपर्ने सिफारिश गरेपछि लामिछाने अनुसन्धानको दायरामा आएका थिए।
करीब तीन महीना प्रहरी हिरासतमा बसेपछि जिल्ला अदालत, कास्कीले उनलाई धरौटीमा रिहा गरेर मुद्दा लड्ने सुविधा दिएको थियो। जिल्ला अदालत, काठमाडौंले पनि थुनामा नबसेरै मुद्दा लड्ने सुविधा दिएको छ।