जापानमा नेपाली विद्यार्थीको कष्टकर दैनिकी
स्कूले पढाइ भ्याउँदा नभ्याउँदै उच्च शिक्षा अध्ययन गर्न भनेर विद्यार्थी भिसामा जापान पुगेका अधिकांश नेपालीहरू विद्यार्थी कम, मजदूर बढी बनेर कष्टकर दैनिकी गुजारिरहेका छन्।
आठ घण्टा उभिएरै काम गरेपछि स्वर्णिम अर्को ‘ड्यूटी’ का लागि हुइँकिए। नारा प्रिफेक्चर नजीकैको बेन्तो लाइनमा बिहान ८ देखि बेलुकी ५ बजेसम्म ड्यूटी थियो। त्यसबीचमा एक घण्टा खाजा ‘ब्रेक’ हुन्छ।
उनी दिनको ‘ड्यूटी’ सकेपछि ओशाकातिर हानिएका थिए। ओशाका प्रिफेक्चर ताकात्सुकीको रात्रिकालीन ‘ड्यूटी’ राति ९ बजेबाट शुरू हुन्छ। यो ‘ड्यूटी’ बिहान ६ बजेसम्म चल्छ।
त्यसपछि क्योतो आइपुगे, बिहान ८ बजे। ताकात्सुकिबाट क्योतो आउन रेलमा जम्मा ११ मिनेट लाग्छ, उनी भने खाजा खाएर रेल स्टेशनको यात्रु प्रतीक्षा कक्षमा एक झमक निदाएर दुई घन्टापछि क्योतो आइपुगे। त्यो २५ डिसेम्बर २०२४ को बिहान हो। सुपरमार्केटबाट पान (ब्रेड पाउरोटी) चपाउँदै बाहिर निस्केर होटल पुगेका उनलाई टाढैबाट चिनिहालें।
चिसिक्क परेको मुहार। लालगेडी जस्तै राता भएका अनिदा आँखा। उनलाई जिस्क्याउँदै भनेको थिएँ, “भरे पनि नाइट हान्ने होला हैन?”
बलजफ्ती अनुहारमा मुस्कान ल्याउँदै उनले भने, “आज त पूर्णबहादुरको सारंगी हेर्न जानु छ।”
मैले उनको कुरा पत्याइनँ जस्तो ठानेछन्। टिकट देखाउँदै थपे, “यी हेर्नु, मैले ‘डे’ मा फोटो समेत पोस्ट गरिसकें। आज साँझ त फिल्म हेर्ने हो।”
सकिन्छ त? प्रश्न नसुने जस्तै गरी बोले, “दिनभरको तनाव भुलाउन मुसुक्क मुस्कुराएको एउटा तस्वीर हालौं न! हेर्नेहरू पनि त खुशी हुन्छन्, विदेशमा यसलाई सुख नै छ भनेर।”
कसलाई के थाहा, आँखाले निदरी नभेटे जस्तै पेटले पनि आहार नभेटेको। साँझ उसै गरी फेसबूकमा तस्वीर पोस्टै गर्दै लेखे, ‘इट्स मुभी टाइम।’
उनी फेसबूकमा पोस्ट गरेको तस्वीरमा आएका कमेन्ट र लाइकको हिसाब गर्न थाले। मेरो दिमागमा भने उनको पछिल्लो ३६ घण्टाको हिसाब आइरह्यो। दोहोरो ‘ड्यूटी’, अनिदो, खानपिनको ठेगान थिएन।
२४ डिसेम्बरको दिन आठ घण्टा, रातभर आठ घण्टा र आज २५ डिसेम्बरको बिहान होटलमा सात घण्टा। पछिल्ला ३२ घण्टा उनले उभिएरै बिताएका थिए। तैपनि मुसुक्क मुस्कुराएका छन्, दुःख भुलाउन।
क्योतो सिटी इन्टरन्याशनल एक्सचेन्ज हलमा नेपाली फिल्म पूर्णबहादुरको सारंगी लागेको छ। फिल्म हेर्न आएका अधिकांश विद्यार्थी छन्, जो आफ्नो कामको सूचीलाई महीनौंदेखि मिलाएर एकैछिन आनन्दको सास फेर्न, फिल्म हेरेरै भए पनि मुस्कुराउन भेला भएका छन्।
हुनत स्वर्णिमको मात्रै हैन, विद्यार्थी भिसामा जापान आइपुगेका अपवाद बाहेक अधिकांश विद्यार्थीको अवस्था उस्तै छ। तीन महीनाअघि जापान आइपुगेका अर्का विद्यार्थी रामहरिले १२ किलोग्राम घटेको सुनाएका थिए। नेपालमा हुँदा खाईपाई गरेर हुर्किएको उनको पेट स्वात्तसुट्टै भएको छ। एक हातले भ्याकुम र अर्को हातले खुकुलो पाइन्ट माथि तानिरहेका उनलाई देख्दा जापानले ‘ज्यान खाएछ’ भन्ने लाग्यो। जबकि जापान टेकेका शुरूआती दिनमा स्याँस्याँ गर्दै कुदेको देखिन्थ्यो।
अढाई महीनाअघि होटलको पार्किङ लटमा देख्दा भिन्नै थिए। उनी ‘डिपेन्डेन्ट’ भिसाका लागि आएका अधबैंसे जस्तै देखिन्थे, हृष्टपुष्ट। पछि थाहा पाएँ, उनी त नेपालको एउटा निजी ब्यांकमा अधिकृतको जागीर छोडेर विद्यार्थी भिसामा जापान छिरेका २५ वर्षे ठिटा रहेछन्।
होटलको एलिभेटरमा फोनमा कुरा गर्दै भनेका थिए, “मैले त आएको पाँचौं दिनमै काम पाएँ नि!”
नेपालमा महीनाभर घोटिंदा मासिक ३५ हजार रुपैयाँ कमाइ गर्ने भएकाले होला, जापानमा दिनको पाँच हजार निकै धेरै लागेको थियो। दिनको पाँच हजारको दरले आफ्नो कमाइको हिसाब गरेका थिए। महीनाको डेढ लाख त एउटै कामबाट आम्दानी हुने कुराले मख्ख थिए।
होटलका कोठा सफा गरेर होस् वा खाना प्याकिङमा खटिएर किन नहोस्, नेपाली विद्यार्थीले जापानमा मासिक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्छन्। तर जापानको बसाइलाई सहज बनाउन मासिक एक लाखको आम्दानी पर्याप्त हुँदैन। अझ विद्यार्थीका लागि त हुँदै हुँदैन।कोठा भाडा, गाक्कोको शुल्क र आफ्नो खर्च जोड्दा झन्डै मासिक दुई लाख रुपैयाँ कमाउनुपर्ने बाध्यतामा हुन्छन्, विद्यार्थी। त्यसका लागि काम खोज्दै विभिन्न ठाउँ चहार्नु उनीहरूको दिनचर्या बन्छ।
विदेशी विद्यार्थीलाई आरुवाईतो (आंशिक काम) गर्नका लागि सहज होस् भनेर जापानमा खुलेका नयाँ नयाँ कम्पनीले सघाइरहेका हुन्छन्। जहाँ नेपाली विद्यार्थी पनि काम गर्दै आएका छन्। तिनैमध्य एक हो, चिक्युझीन। दुई वर्षदेखि क्योतो प्रिफेक्चरको सुपरभाइजरका रूपमा काम गर्दै आएका भक्तपुरका मिलन कार्की विद्यार्थीले समयको महत्त्व नबुझ्दा समस्या भोग्ने गरेको सुनाउँछन्। “नेपाली विद्यार्थीका लागि ठूलो समस्या भनेको समय हो। समयको महत्त्व नै बुझ्न सकेका हुँदैनन्,” कार्की भन्छन्, “काममा एक मिनेट ढिलो हुनु भनेको १५ मिनेट ढिला हुनु हो, कहिले कहिले त ३० मिनेट ढिला हुनु हो।”
जापानका धेरैजसो कम्पनीमा १५, ३०, ४५ र ६० मिनेटको हिसाबमा कामको पारिश्रमिक तोकिएको हुन्छ। कतिपय कम्पनीले त एक-एक मिनेटको समेत पारिश्रमिक ख्याल गरेका हुन्छन्। यस्तोमा आरुवाईतो गर्ने नेपाली विद्यार्थीले समयको ख्याल नगरिदिंदा कामदारलाई त घाटा हुने नै भयो, कम्पनीलाई पनि घाटा हुन्छ।
कमाइमा मात्रै ध्यान दिंदा विद्यार्थीलाई अप्ठ्यारो पर्ने गरेको कार्की बताउँछन्। “विद्यार्थी भिसामा जापान आइपुगेका विद्यार्थी जस्तोसुकै कामका लागि पनि तयार हुन्छन्। सजिलो/गाह्रो, सक्छु/सक्दिनँ भन्ने कुरा विद्यार्थीको प्राथमिकतामा पर्दैन,” उनी थप्छन्, “मैले गरेको कामले मेरो कति कमाइ हुन्छ भन्नेमा मात्रै विद्यार्थीको ध्यान गएको हुन्छ।”
यसका उदाहरण सप्तरीका २७ वर्षीय राकेश हुन्। काममा छिरेको एक घण्टा भयो भन्ने भित्तामा झुन्डिएको घडीको आवाजले जानकारी दिन्छ। कामको सुरमा रहेको उनी भन्छन्, “एक हजार पाक्यो।”
जिस्क्याउँदै भने, “एक हजार ६० भन्नुस्।”
मास्क भित्रैबाट मुस्कुराउँदै उनी बोले, “अँ, हो है।”
तोकिएको समयभन्दा एक मिनेट पनि ढिलो हुँदा गणना हुँदैन। जस्तो- १५ मिनेटको दरले हिसाब हुने कम्पनी छ र बिहान ८ बजे ‘ड्यूटी’ हो भने एक मिनेट ढिला हुँदा पनि ८ बजेर १५ मिनेटसम्मको हिसाब हुँदैन। त्यसपछिको १५ मिनेटको मात्रै हिसाब हुन्छ।
राकेश शाकाहारी हुन्। तर काम चाहिं मासु सम्बन्धी कम्पनीमा गर्छन्। नेपालमा छँदा माछामासुको गन्धबाट टाढै बस्थे। अहिले भने खान मात्रै बाँकी छ। मासुको बास्ना र गन्ध दुवैसँग परिचित छन्। शुरूआतमा दुर्गन्धपूर्ण लाग्ने काम आजभोलि बास्नादार लाग्न थालेको बताउँछन्।
“यो त साकानाको खाईस्या (माछा कम्पनी) हो। मैले अर्को काम ग्युउ निकु (गाईको मासु) काट्ने र प्याकिङ गर्ने गर्छु,” उनी भन्छन्, “जापान आउनुअघि मैले गाईको मासु छुने कल्पना पनि गरेको थिएनँ। तर पैसा गाईमै रहेछ!”
लमजुङका अर्का विद्यार्थी २२ वर्षीय युनिक जापान आएको १५ महीना बित्न लागेको छ। नौ महीनाअघि क्योतो प्रिफेक्चरकै यमातो कम्पनीमा काम शुरू गर्दा उनलाई भोलिबाट यो काममा आउँदिनँ भन्ने लागेको रहेछ। “आफ्नो तौलभन्दा भारी सामान रातभर ओल्लोपल्लो छेउ गर्नुपर्थ्यो। बेसरी थाकेपछि अर्को दिनबाट काममा आउँदिनँ भन्ने सोचें,” उनी भन्छन्।
त्यति वेला आजको रात मात्रै सास फेर्न सके अरू रात सजिलै कट्छ भन्ने लाग्ने गरेको उनी सुनाउँछन्। तर भोलिपल्ट रातभर गलेको ज्यान मात्रै हुन्थ्यो, त्यही ज्यान पाल्न चाहिने पैसा यमातोमा थियो। “ज्यानभन्दा ठूलो पैसा ठानेर यमातोको काम रोजें,” उनी सुनाउँछन्। घण्टाको एक हजार ५०० देखि एक हजार ७०० सम्म पाउने लोभले उनलाई पछिल्लो नौ महीनादेखि यमातोको कामले तानिरहेको छ।
सातामा चार रात यमातो कम्पनीका लागि काम गर्छन्। जापान सरकारको नियम अनुसार विद्यार्थीले सातामा २८ घण्टाभन्दा बढी काम गर्न पाउँदैनन्। उनी साताको चार रातमा सात घण्टाका दरले काम गरेपछि १५ देखि १८ मानसम्म रकम थाप्छन्। अर्थात् एक लाख ५० हजारदेखि एक लाख ८० हजार यानसम्म पाउँछन्।
यमातोमा नेपाली विद्यार्थीले कुरियर भएर आएका सामान गोदाममा लोड–अनलोड, प्याकिङ र वर्गीकरणका काम गर्छन्। यमातोको कामलाई नेपाली विद्यार्थीले गर्ने सबैभन्दा गाह्रो कामका रूपमा हेरिन्छ। यो जापानको सबैभन्दा ठूलो लजिस्टिक र कुरियर सेवाप्रदायक कम्पनी पनि हो।
पछिल्लो समय विदेशी विद्यार्थीलाई आरुवाइतोका लागि गाह्रो छैन। नेपाली विद्यार्थीले काम गर्ने कम्पनीहरूमा धेरैजसो नेपाली हाकेनहरू छन्। हाकेनहरूले नेपाली विद्यार्थी र जापानी कम्पनीबीच दोभाषेको काम गर्छन्। साथै, कम्पनीका लागि आवश्यक कामदार खोज्दिन्छन्।
जापान आउँदाका शुरूआती दिनमा साह्रै गाह्रो रहेको कार्की सुनाउँछन्। “हामी आरुवाईतो बोशी भनेर लेखिएका ठाउँहरूको नम्बर संकलन गरेर फोन गर्दै काम खोज्थ्यौं। त्यति वेला अहिले जस्तो गूगल म्यापसँग परिचित हुने समय पनि थिएन, कामबार थाहा दिने नेपालीहरू पनि हुँदैनथे,” उनी भन्छन्, “अहिले कामबारे थाहा दिने र कम्पनीहरूमै नेपाली हाकेन राख्ने प्रचलन बढेर गएको छ। यसले नेपाली विद्यार्थीलाई काम खोज्न सहयोग पुर्याउँछ।”
सुपरभाइजर कार्कीका भाषामा जापानमा नेपाली विद्यार्थी गधा झैं पेलिएर काम गरिरहेका हुन्छन्। विद्यार्थीभन्दा पनि श्रमिकका रूपमा रहेको उनी सुनाउँछन्। “विद्यार्थी जीवनभन्दा धेरै श्रमिक जीवन बाँचिरहेका छन्। निहोंगो पढ्न थोरै मात्र मिहिनेत गर्ने हो भने अहिले गरिरहेको कामभन्दा केही राम्रा काम पाइन्थे,” उनी भन्छन्।
विद्यार्थी भिसामा भाषा पढ्न भनेरै आएकाहरू लेखपढका लागि समय निकाल्न भ्याउँदैनन्। बिहान गाक्को हुनेहरू बेलुकाको समय काम गर्छन् भने बेलुका गाक्को भएकाहरू बिहान। काम नगरी नेपालबाट पैसा पठाएर पढ्ने गरेका विद्यार्थी भेटिन मुश्किल नै पर्छ।
अझ एउटा मात्र काम गर्दा जापानको खर्च र गाक्कोको शुल्क धान्न सकिंदैन। त्यसमाथि नेपालबाट जापान जाँदाको ऋणको भारले थिचिएका हुन्छन्। राम्ररी सुत्न पनि पाउँदैनन्। आनन्दको सास फेर्न नभ्याएका विद्यार्थी कोही गाक्कोको कक्षाकोठामा निद्रा पुर्याउँछन् त कोही बसमा, कोही रेलमा।
एक घण्टा सुतेर एउटा कामबाट अर्को काममा र गाक्कोबाट काममा जानु जापानमा रहेका नेपाली विद्यार्थीको दिनचर्या हो। गाक्कोमा बिरामी छु भनेर ढाँट्दै हिंडेका विद्यार्थी काममा भेटिन्छन्। जहाँ बिरामी छु भन्न पाउँदैनन्। बिरामी हुँदा पनि खानापछि खाने र सुत्नुअघि खाने औषधीको समय मिलाउने भेउ पाउँदैनन्। विद्यार्थीसँग समय छ त केवल कामका लागि। आराम गर्ने समय खोज्दाखोज्दै महीना र वर्ष बितेको पत्तो नहुने उनीहरू सुनाउँछन्।
प्रायः विद्यार्थीले सामाजिक सञ्जालमा पोस्ट गर्ने कहिले हिउँमा उफ्रिएको, कहिले समुद्रमा टहलिएको त कहिले पार्कमा गएर मुसुक्क मुस्कुराएको तस्वीरमा जिन्दगीका अनेकन् दुःखका पाटा भने देखिएका हुँदैनन्। गाक्कोको शुल्क हाल्ने समय घर्किएको, गाक्कोको पोर्टल बन्द भएको, रिचार्ज गर्ने पैसा नहुँदा सिम रोकिएको अनि ग्यासको बिल तिर्ने पैसा नभएर भोकै बसेका रातहरूले विद्यार्थीका मुस्कुराएका तस्वीरसँग मेल खाँदैनन्।
घरबाट आमाबुबाको फोन आउँदा ‘अहिले व्यस्त छु, पछि गर्छु’ भन्दै काट्दै गर्दा अनिदोले निम्त्याएको खोकीले सन्चो नभएको संकेत गरिरहेको हुन्छ। दिदीबहिनी, दाजुभाइले ‘ठीकै त छ नि’ भनेर गर्ने प्रश्नबाट तर्किंदै ‘त्यताको खबर के छ नि’ भनेर उल्टै प्रश्न गर्ने बानी लागिसकेको हुन्छ। साथीसँगीले ‘अब त ऋण तिर्ने होला नि’ भनेर गर्ने प्रश्नमा आफैंसँग झर्किरहेका विद्यार्थी जापानका हरेक गल्लीमा अल्झिरहेका हुन्छन्।
सामाजिक सञ्जालमा पोस्ट हुने तस्वीरमा सुन्दर देखिएको जापान बसाइँ तस्वीर खिचेर देखाउनै नसक्ने दुःखमा रुमल्लिइरहेको हुन्छ। माइनस पाँच डिग्री सेल्सियसको चिसो होस् वा ५० डिग्री सेल्सियसको गर्मी, दुवै कष्टकर नै हुन्छ। त्यो जाडो र गर्मी न तस्वीरमा देखाउन सकिन्छ न त कसैलाई कहन। ती सबै दुःखकष्टलाई विद्यार्थीले झूटो मुस्कानले छेकेका हुन्छन्। तस्वीरमुनि कमेन्टमा आउने ‘मस्ती छ है’ ले जिस्क्याइरहेको भान हुन्छ।
स्वर्णिमसँग कुराकानी भएपछि केही बेर छेउछाउ अलमलिएँ। घर फर्किंदै गर्दा दिमागमा अनेक प्रश्नले हलचल मच्चाइरहे। ३६ घण्टा ‘ड्यूटी’ गरेर एकछिन आराम खोज्न पूर्णबहादुरको सारंगी हेर्न फिल्म हल छिरेका स्वर्णिमलाई मस्ती छ कि सास्ती? नेपाली विद्यार्थीले दुःख गरिरहेका छन् कि दुःखभित्र पनि सुखको खोजी? स्कूले पढाइ भ्याउँदा नभ्याउँदै जापान छिरेका विद्यार्थी यो भुमरीबाट कसरी निस्कन सक्लान्? विद्यार्थी बनेर जापान पसेका स्वर्णिमहरूका दिन कहिले स्वर्णिम होलान्?
(नेपाली विद्यार्थीको नाम परिवर्तन गरिएको छ।)