वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि अदालतबाट निस्किंदा हातपात
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि जिल्ला अदालत, काठमाडौंबाट निस्किँदा हातपात भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको मुद्दामा जाहेरीकर्ताका तर्फबाट बहस गरेर निस्किंदै गर्दा त्रिपाठीमाथि हातपात भएको हो। जिल्ला अदालतका सूचना अधिकारी अमरबहादुर चन्दले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात भएको खबर आएको बताए।
“बहस सकेर निस्किंदै गर्दा हातपात भएको खबर आएको छ, कसले गरेको भन्ने यकीन भएको छैन,” चन्दले हिमालखबरसँग भने, “अदालत बाहिर रवि लामिछानेका समर्थक र सहकारीपीडितहरूको भीड छ।”
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले पनि वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात भएको खबर आएको बताए। “त्यहाँ हामीले डीएसपीको कमान्डमा प्रहरी खटाइसकेका छौं,” एसपी अधिकारीले भने।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनाको अभियोग लागेका पूर्व गृहमन्त्री लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस सकिएको छ। उनलाई पुर्पक्षका लागि थुनामा पठाउने कि छाड्ने भन्ने आदेश आउने तयारी भइरहेका वेला वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात भएको हो।