किन पक्राउ परिन् आशिका तामाङ?
आशिका तामाङलाई काठमाडौंबाट पक्राउ गरिएको छ।
प्रहरी वृत्त स्वयम्भूको टोलीले आशिकालाई बुधबार दिउँसो स्वयम्भूबाट पक्राउ गरेको हो। उनलाई अभद्र व्यवहार कसूरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए।
आशिका विरुद्ध पशुपति क्षेत्र विकास कोषले उजुरी दिएको थियो। कोषको उजुरीका आधारमा प्रहरी वृत्त गौशालाले अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट अनुमति लिएर पक्राउ गरेको जिल्ला प्रहरी परिसरले जनाएको छ।
कोष परिसरमा गएर कर्मचारीलाई गालीगलौज गरेको भन्दै तामाङ विरुद्ध उजुरी परेको छ। साथै, गौशालामै तामाङले प्रहरीलाई पनि गालीगलौज गर्दै धकेलाधकेल गरेको आरोपमा पनि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
प्रहरी वृत्त स्वयम्भूको टोलीले उनलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौंलाई बुझाएको थियो। परिसरले थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशालामा पठाएको एसपी अधिकारीले बताए।