कौडा निभ्दा टुटिरहेका सम्बन्ध
कौडा ताप्नुको प्रयोजन जाडोमा आङ सेकाउने मात्र नभएर लोककथा र पुर्खाका किस्साहरू सुनाएर नयाँ पुस्तालाई परम्परागत ज्ञान-सीप हस्तान्तरण गर्नु पनि हो।
पुस दोस्रो साता साँझ ८ जति बजेको हुँदो हो। ५० वर्षीय सुखलाल यादव र ८० वर्षीय तिलकराम यादव आँगनमा आगो तापिरहेका थिए। जाडो छिप्पिएयता यसरी आगो ताप्दै गफ गर्नु उनीहरूको दिनचर्या हो। आजको गफ खेती-किसानीमा केन्द्रित थियो। सुखलाललाई आफ्नो यौवन वयका किस्साहरू सुनाउँदै थिए तिलकराम। सुखलाल चाख मानेर सुन्दै थिए।
तराईमा यसरी आगो ताप्ने प्रचलनलाई ‘कौडा’ ताप्ने भनिन्छ। तर यसरी आगो ताप्नुको प्रयोजन आङ सेकाउनु मात्र होइन। गाउँलेहरू बसेर सुखदुःख साटासाट गर्नु, परम्परादेखि हस्तान्तरण हुँदै आएका लोककथाहरू सुनाउनु, लोकगीतहरू गाउनु, गाउँको खबर बुझ्नु पनि हो। त्यसैले कौडा ताप्ने प्रचलन रैथाने ज्ञान-सीप नयाँ पुस्तासम्म लैजाने प्रथा बन्न पुगेको थियो। तर यो प्रथा अहिले कमजोर हुँदै गएको छ। कौडा ताप्ने थलो सुनसान हुँदै छन्। भेटिए पनि एकादुई पाका मानिस मात्र देखिन्छन्, युवा पुस्ता सहभागी हुन छाडेको छ। राति अबेरसम्म चल्ने कौडा अचेल चाँडै सकिन्छ।
यही कारणले होला, सुखलाल र तिलकरामको कौडा पनि धेरै चलेन। यही कौडामा कुनै वेला १२-१३ जनासम्म भेला भएर भलाकुसारी गर्थे। कपिलवस्तुको पश्चिमी क्षेत्र कृष्णनगर नगरपालिका-७, अजिगराका बासिन्दा हुन् उनीहरू। अवध संस्कृति र वेशभूषा रहेको यो गाउँ सीमावर्ती क्षेत्रमा पर्छ।
कौडा ताप्दै सुनाइने लोककथा र गीतहरूमा प्रकृतिसँगै स्थानीय जीवनशैली झल्किएको हुन्छ। यससँगै सामाजिक व्यवहार, न्याय व्यवस्था र कृषि-सीपसँग जोडिएको ज्ञानलाई प्राथमिकता दिएर सुनाइने गरेको नेपाल प्रज्ञा-प्रतिष्ठानकी प्राज्ञ सदस्य हंसावती कुर्मी बताउँछिन्।
आँगनमा सानो खाल्डो खनेर पराल, भन्डुरा (दाइँ गरेपछि परालबाट छुट्टिने झासझुस), प्रकोसा (दाना नलागेको धान), भुस, सुकेका सेउला हाली बाल्ने प्रचलनलाई अवधी भाषामा कौडा भनिएको हो। यसैलाई पूर्वी तराईमा ‘घूर’ भन्छन्। जाडो याममा तराईमा पुरुषहरू आँगनमा र महिलाहरू पिंढी वा चुलोमा बसेर आगो ताप्थे। हुनेखाने परिवारले महिलाका लागि छुट्टै कौडा समेत बनाइदिने गरेका थिए। महिला टोलीमा पनि हजुरआमाबाट छोरीनातिनीलाई उसै गरी पुर्ख्यौली ज्ञान हस्तान्तरण हुन्थ्यो। यसले परिवारभित्र आत्मीयता बढाउँथ्यो। पाको पुस्तासँग नयाँ पुस्ताको हेलमेल भइरहन्थ्यो। कौडामा गाउँबाट परदेश गएकाहरूका कुरा हुन्थे। हजुरबाहरू आफूले गरेका साहसिक काम, गाउँलाई ‘चोर-डाकाबाट कसरी जोगाइयो, गाउँका विवादहरू कसरी सुल्झाइयो, जंगलमा लूटपाट हुँदा कसरी बचियो’ आदि किस्साहरू सुनाउँथे।
कुनै वेला तीन-चार पुस्तासम्मका मानिस रहने कौडामा अहिले पाको उमेरका दौंतरी मात्र देखिन्छन्। त्यसैले अजिगराका पुराना पुस्तालाई सन्ततिले सही मार्गनिर्देशन नपाउलान् कि भन्ने चिन्ता छ। तिलकरामको बुझाइमा बजारमा मान्छेको पहुँच बढेपछि कौडा ओझेल पर्दै गएको छ। “पैसा कमाउने भएपछि मान्छेहरू तातो हावा फ्याँक्ने हिटर प्रयोग गर्न थाले,” उनी भन्छन्, “अचेल घरभित्रै बसेर चिसोबाट बच्ने बन्दोबस्ती मिलाउँदै छन्।” तिलकरामका अनुसार पहिले हिजोआज जस्तो बाक्ला कपडा पाइँदैनथे। ज्याकेट, स्वेटर र जुत्ता कमै मान्छेले लाउँथे। त्यसैले चिसो छल्न सामूहिक रूपमा कौडा तापिन्थ्यो। यसकै लागि भनेर भुसा राख्ने छुट्टै घर हुन्थ्यो। पराल राख्ने खरही बनाइन्थे।
भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरका अनुसार समाज पूर्ण रूपमा परम्परागत कृषिप्रणालीमा आधारित हुँदा जीवन्त रहेको कौडा अहिले हराउँदै गएको छ। सामाजिक जीवनशैली र उत्पादन प्रणालीबीच गहिरो सम्बन्ध हुन्छ। उत्पादन प्रणालीलाई नै आधार बनाएर जीवनशैली निर्धारण हुने हो। “कौडाका लागि आवश्यक चिजवस्तु परम्परागत कृषिप्रणालीमा आधारित थिए। यसकै लागि पराल, धानको भुस, गोबरका गुइँठा आदि तयार पानुपर्थ्यो। कृषिकर्मबाट पाइने यी सामग्री कम पाइन थालेपछि कौडा पनि सिद्धिने क्रममा छ,” उनी भन्छन्।
बढ्दो दूरी
कौडा ताप्ने प्रचलन घट्दा नयाँ पुस्तासँग संवाद कम भएको पुराना पुस्ताको अनुभव छ। “अब नयाँ पुस्ता घरभित्रै मोबाइलमा व्यस्त भएको छ। उनीहरूले मोबाइलमा कसको कथा सुन्छन्, के हेर्छन्, घरपरिवारलाई थाहा छैन,” तिलकराम भन्छन्। हजुरबा, हजुरआमा र दौंतरीहरूसँग अनेक कथा-कहानी सुनेर हुर्किएकाहरू आफूले नयाँ पुस्तालाई ती कुरा सुनाउन नपाउँदा दुःख व्यक्त गर्छन्। “अहिलेका बच्चाहरू मोटरसाइकल लिएर बजारतिर निस्कन्छन्, वृद्धहरूसँग बस्दै बस्दैनन्, आफ्नै धुनमा छन्,” अजिगराकै सुखराम यादव भन्छन्।
कौडा ताप्ने चलन छरछिमेकीलाई बुझ्ने र भलाकुसारी गर्ने माध्यम पनि थियो। तर अहिले छिमेकी कुन अवस्थामा छन् भन्ने थाहा हुनै छाडेको छ। “सामाजिक सम्बन्ध बिग्रिने क्रम बढेको छ,” महाराजगन्ज नगरपालिका-१ का रहमत अली भन्छन्, “कुनै वेला कौडा ताप्दा वृद्धवृद्धाबाट सुनेका कुराले टोलछिमेकमा आइपरेका समस्या समाधान गर्न सघाउ पुग्थ्यो।”
कौडामा गफ मात्र हुँदैनथ्यो, आफैंले उब्जाएका नयाँ आलु, सखरखण्ड पोलेर खाइन्थ्यो। नयाँ चामलको बगिया/लोला जस्ता मौसमी खाना पकाइन्थ्यो। मुमफली, चना आदि भुटिन्थ्यो। सबै कुरा बजारबाट किनेर खाने बानी परेको पछिल्लो पुस्तालाई तिनै कुरा आफ्नै बारीमा उब्जाएर आफ्नै आँगनमा बनाएर खाँदाको स्वाद कस्तो हुन्छ, थाहा छैन।
कौडाहरू बालबालिकालाई छिमेकी र अन्य ठूलाबडासँग कसरी व्यवहार गर्ने, बोलीमा कसरी शुद्धता ल्याउने भनी सिकाउने माध्यम पनि थिए। “हामीले महाभारत, रामायणका कथा प्रायः त्यहीं सुनेका हौं,” माध्यमिक तहका शिक्षक रहेका अली भन्छन्। उनका अनुसार राम्रो पात्रको कथा सुन्दा त्यसै अनुसारको ऊर्जा मिल्थ्यो भने खराब पात्रको कथाबाट आफू चाहिं त्यस्तो बन्नु हुन्न भन्ने प्रेरणा। यस्ता कथाकहानी बालबच्चालाई नैतिक शिक्षा दिने गरी व्यक्त गरिन्थ्यो। “अहिले त नयाँ पुस्तासँग संवाद गर्नै कठिन भएको छ,” अली भन्छन्, ‘अन्तरपुस्ता संवाद गर्ने परिपाटी विकास गर्न जरूरी भएको छ।”
खेतीपाती गर्ने परम्परासँग जोडिएको कौडा युवाहरू वैदेशिक रोजगारमा जान थालेपछि अझ कमजोर भयो। पैसा कमाएपछि उनीहरू कृषिसँग जोडिइरहन चाहेनन्। बरु विदेशबाट आउँदा नै थर्मस, हिटर, कम्बल र ज्याकेटहरू ल्याउन थाले। अजिगराकी एक महिला भन्छिन्, “नयाँ पुस्ताले कौडा जस्ता कुरालाई हेयभावले हेर्ने गरेका छन्। उनीहरूले कृषिसँग सम्बन्ध राख्न चाहेका छैनन्।”
अर्कातिर ग्यास चुलोमा पहुँच बढ्दा नयाँ पुस्ताले खाना पकाउन दाउरा बाल्न परेन। यसले गर्दा सबै जना चुलो नजीक बसेर कौडा ताप्न पनि नमिल्ने भयो। कौडा ताप्दा महिलाहरू ढकिया बुन्थे। त्यही सीप छोरीहरूलाई सिकाउँथे। “छोरीलाई विवाहमा किसिम किसिमका ढकिया दिने गरिन्थ्यो,” अर्की एक महिला भन्छिन्, “तर अहिले प्लास्टिक र फाइबरका ढकिया आउन थालेका छन्। अहिलेका बच्चाले ढकिया बुन्न सिक्नै चाहँदैनन्।” कौडा ताप्ने क्रममा पुरुषहरू पनि रस्सी, धौनी आदि बनाउँथे।
संवादको खाँचो
महाराजगन्ज नगरपालिका-१०, मुजहनीका अब्दुल हकीम खानका अनुसार गाउँमा धान काट्ने मशिन भित्रिएसँगै पहिलेका खरिहान/खलियानको प्रयोग कम हुँदै गएको छ। यसले गर्दा भुसको जोहो हुन छाडेको छ। पहिले जसरी पराल सजिलै पाइँदैन। कृषिकर्म घटेकाले फसलका डाँठ पनि पाइन छाडे। रूखबिरुवाका हाँगा जताततै भेटिन्नन्। यी कारणले पनि कौडा ताप्ने प्रचलन घटेको हो।
यस्तोमा नयाँ पुस्ता मोबाइलमा केन्द्रित हुँदा एकलकाटे बन्दै गएको कुर्मीको भनाइ छ। “प्रविधिले सहजता ल्याइदिएसँगै नयाँ पुस्तामा एकाकीपन बढाएको छ, यसले भाषिक विकास र स्थानीय ज्ञानलाई पनि सीमित पारिदिएको छ,” उनी भन्छिन्।
आयोगका अध्यक्ष ठाकुर भाषा र उत्पादन प्रणालीलाई छुट्टाछुट्टै रूपमा हेरिए परम्परागत ज्ञान संरक्षण गर्न नसकिने भएकाले कृषिमा आधारित उद्योगलाई प्रश्रय दिंदै त्यसै अनुसार नीति निर्माण गरिनुपर्ने बताउँछन्। यससँगै अब नयाँ पुस्ता नयाँ प्रविधिमा स्थानान्तरित भएकाले परम्परागत ज्ञान-सीपहरू पनि यूट्यूब जस्ता विद्युतीय माध्यममा लैजान जरूरी रहेको उनको भनाइ छ। “सामाजिक सञ्जालमा गाउँघरका किस्सा-कहानी, लोककथा समेटिएका सामग्रीहरू अहिले देखिन थालेका पनि छन्,” ठाकुर भन्छन्।
अवधी सांस्कृतिक विकास परिषद्का महासचिव दिग्विजय मिश्र स्थानीय भाषा-संस्कृतिलाई अनुकूल हुने गरी अन्तरपुस्ता संवाद गराउनुपर्ने धारणा राख्छन्। उनी भन्छन्, “यसका लागि सडक नाटक, प्रवचन आदि माध्यम पनि प्रभावकारी हुन सक्छन्।”