रेवतीको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिमको फराकिलो जित
रेवती धामीले उत्कृष्ट प्रदर्शन गरेपछि सुदूरपश्चिम प्रदेशले गण्डकीलाई फराकिलो अन्तरले पराजित गरेको छ।
प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा गण्डकीले दिएको ५६ रनको लक्ष्य सुदूरपश्चिमले सहजै पूरा गरेको हो। सुदूरपश्चिमले ९.५ ओभरमा तीन विकेट गुमाएर जित हासिल गरेको छ।
सुदूरपश्चिमका लागि प्रारम्भिक ब्याटर रेवती धामीले २१ रन बनाइन्। उनले २७ बलमा दुई चौका प्रहार गरिन्। त्यस्तै, मनीषा बोहराले नौ, कविता कुँवरले आठ, विन्दु रावलले ६ र शोभा रोकायाले चार रन बनाए।
गण्डकीका लागि आरती तिवारी र अपेक्षा बुढाथोकीले एक-एक विकेट लिए। अन्य बलरले विकेट लिन सकेनन्।
यसअघि ब्याटिङ गरेको गण्डकीले राम्रो प्रदर्शन गर्न सकेन। १५ ओभरमा घटाइएको खेलमा गण्डकीले सात विकेटको क्षतिमा ५५ रन मात्रै बनाउन सक्यो।
गण्डकीका लागि रेखा तामाङले १३ र सिर्जना पौडेलले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
सुदूरपश्चिमका लागि रेवती धामीले चार विकेट लिइन्। तीन ओभर बलिङ गरेकी उनले नौ रन मात्र खर्चिइन्। त्यस्तै, जानकी थापा र ऋतु कनौजियाले एक-एक विकेट लिए।
प्रतियोगितामा नौ टोलीले प्रतिस्पर्धा गर्नेछन्। जसमा सातै प्रदेशका सात टोलीसँगै नेपाल प्रहरी क्लब र त्रिभुवन आर्मी क्लब सहभागी छन्।