माघे संक्रान्ति रिडीको मेलैमा
दुई दशकअघि काम्लो बेच्न रिडी मेला धाउने गरेकी धनको बुढा मगर पछिल्लो पटक भने आमा हिंडेको बाटो पछ्याउँदै ‘चिनो बगाम्’ भनेर मेला भर्न पुगिन्।
हात्तीवन सेतीपाखामा उभिएका टिनछाने घर। त्यहीबीचमा रहेको एकतले घर बाहिर चुह्लोमा लहरै आगो तापिरहेका महिला र पुरुष।
एक महिलाले एकेक गरी थालमा ढिंडो पस्किइन्, त्यसपछि सिस्नो। चुह्लो वरपर बसेका मान्छेहरू खान थाले। उनीहरूले खाँदा स्याल्याप्प स्याल्याप्प आवाज आयो।
पुसे बिहान कलिलो घामलाई भाङको छोप बनाएर यसरी खाए कि मानौं ढिंडो र सिस्नो होइन, उत्तरगंगा किनारको तकसेराको भात हो। कुनै याममा तकसेराको भात खाँदा यसैगरी भेला हुने उनीहरू सेतीपाखामा भने ढिंडोसिस्नो खाँदा एकै ठाउँमा जमघट भए।
सिस्नो त उही थियो, जसलाई हिजो ‘मूलधारे खसी खान्की खलकीय’ राज्यसत्ताले ‘आदिवासी, दलित र गरीब’ को खान्की भन्यो। हेलाहोचो गर्यो। गिल्याउँदै भन्यो, ‘मैले खान्नँ, तैंले पनि खान पाउँदैनस्।’
आजको राज्यसत्ताले भन्यो, ‘डिपार्टमेन्टल स्टोरबाट किनेर खा। तारे होटलमा पाकेको खा।’
कुल मिलाएर हिजो र आजको राज्यसत्ताले सिस्नो सहारामा फुल्ने कुनाकन्दरा र भुइँतहका जनलाई ‘नखा’ भने।
“भात त आआफ्नैमा खान्छौं, सिस्नो ढिरो (ढिंडो) भने यसरी भेला भएर खान्छौं,” थालमा सिस्नो थपिदिंदै धनको बुढा मगर (४१) सेतीपाखामा सिस्नो सिम्फोनी सुनाउँछिन्। धनकोहरूले सिस्नोढिंडो खाइरहेको सेतीपाखाली रैथाने अर्थात् काठमाडौं उपत्यकाको नेवार समुदायले एक दिन नै सही, सिस्नो खाने दिन आउँदै थियो। माघ महीनामा कुनै एक दिन भए पनि सिस्नो खाएर उनीहरूले ‘सिस्नो खाए जीउ गर्मी हुन्छ भन्ने धारणा’ पछ्याउनेछन्। (नवीन विभास, ‘सिस्नो सौन्दर्य’, नयाँ पत्रिका, २०७७ चैत १४)।
सिस्नो गाँस हाल्दाहाल्दै उनीहरूले नेटोमा हात हल्लाइरहेको पुस महीनालाई सम्झिए। पुस अन्ततिर त धनकोहरू काम्लो (कम्बल) बोकेर रिडी जाने आधाबाटो काटेका हुन्थे। बाह्रकुने दह (घोराही दाङ) पुग्न लागेका हुन्थे। तक सहित रुकुम (पूर्व)का सेरा, कोल, गर्खानी, महत, लुगुम र रोल्पाको थबाङका महिला-पुरुषको हुल काम्लो, बोल्ला (गाँजा/सिस्नो रेसाको धागोबाट बुनेको लुगा), घाट्रा/घाँजी (ओखरको फल) बोकेर आधाबाटो पुगेका हुन्थे।
“आज पुस २५ हो,” धनको र कविता बुढा मगर (४१) एकै स्वरमा दोहोर्याउँछन्, “पुस २५।” जुन दिन २२ वर्षअघि रिडी जाँदा उनीहरू भुँवाचिदी (गुल्मी) पुगेका थिए। “भुँवाचिदीमा दुई हजार ५०० रुपैयाँमा भैंसी किन्यौं। भैंसीको भुत्रा लगाएर सुकुटी सुकायौं,” उनीहरू सम्झिन्छन्।
यसपालि पनि धनकोहरूका आफन्त, छिमेकी गाउँका मानिस माघे संक्रान्तिको दिन रिडी मेला हिंडेका छन्। उनीहरूमध्ये एक जना धनकोका दाजु नाता पर्ने पनि छन्। जो मृतकको लुगा बगाउन जाँदै थिए। तर पहिले जसरी पैदल होइन, गाडीमा।
००० ००० ०००
मगर समुदाय खस नेपालीको माघे संक्रान्तिलाई ‘माइ सकराति’ भन्थे। माइ सकराति मगरको मुख्य पर्व। मगरमूल उत्तरी रोल्पा र रुकुमका खाम/पाङभाषी मगरका लागि व्यापार गर्ने मुख्य दिन पनि। माइ सकरातिमा रिडी र बाह्रकुने दहमा लाग्ने मेला परम्परागत सीपले सिएका काम्लो र पुर्ख्यौली कलाले बुनेका बोल्ला बेच्ने दिन थियो।
माइ सकराति मेलामा बेच्ने सामान सर्जामका लागि असोजदेखि नै दौडधूप थाल्थे। भेडा पाल्न छाडेका परिवारका मान्छेहरू तकबाट हुकाम, मैकोट ऊन किन्न जान्थे। असोजे ऊनमा चैते ऊन थप्थे।
“हाम्रो तकसेरातिर ऊनको भाउ २०० रुपैयाँ धार्नी थियो भने छिमेकी गाउँ हुकाम र मैकोटमा १५० रुपैयाँ,” धनको २०५९ सालमा ऊन किनेको सम्झिन्छिन्।
यसरी किनेको ऊन पानीले धोइन्। सुकाइन्। सुकेको ऊनलाई साँचोमा कोरिन् (पहिले धनुले भुट्टभुट्ट हान्दै कोर्थे)। भुवादार ऊनको धागो टाकुमा कातिन्। काम्लो भाँरीमा पुरिन् (पुर्नु भनेको बुन्नलाई ठिक्क पार्नु हो, घरको जग खने जस्तो)। काम्लो बुनिन्। बुनेको काम्लो मिरिन्।
काम्लो कति ठूलो? काम्लोका पाता जोडिन्। तीन, चार, पाँच वटा। पाँच पाता जोडेको सबभन्दा ठूलो काम्लो। “पाँच पाता जोडेको काम्लोलाई हाम्रो खाम भाषामा झाझिम भन्छौं,” सिस्नो र ढिंडो खाइरहेका उनीहरू भन्छन्, “झाझिम बैठक कोठामा ओछ्याउन हुन्छ।”
पुस १९ गतेभित्रै रिडी लाने काम्लो तयार पारिन्। “मैले १३ थान काम्लो तयार पारें। कोहीले त २०-२२ थान पनि तयार पारेका थिए। काम्लोलाई कोहीले डोकोमा बोके त कोहीले बर्रेले,” धनको २०५९ पुस २० गते तकबाट रिडी हिंडेको सम्झिन्छिन्।
कोल, गर्खानी, महत, ओख्मातिर घाँट्रा खरीद गरेको पनि सम्झिन्छिन्। लुगुम, महत, थबाङ लगायत भेगबाट काम्लो मात्र होइन, बोल्ला पनि बेच्न लान्थे।
उहिले चोया (निगालो)को कलमले लेख्ने गरेको सुन्नुभएको होला। हो, कारखाने कलम आउनुअघि चोयाका कलम पनि रिडीमा बेच्थे। हुक्का तान्ने नली र कालोपाटीमा लेख्ने खरी पनि बेच्ने गर्थे। (तकसेराका स्थानीय बडीलाल (७१) र शिरधन बुढा मगर(६४) सँगको कुराकानी)।
रिडी जानुभन्दा एक महीनाअघि नै ककसको भान्सा? सल्लाह गर्थे। कसले ढिरो पकाउने खौना लाने त कसले तिहुने पकाउने खोप्पे? सरसल्लाह गर्थे। करीब १० दिनका लागि कति पीठो, कति रोटी र कति खाजा लाने? सल्लाह गर्थे। एउटा भान्सा खाने आफ्नो बगाल बनाउँथे। “भाउजू, ठूलाबा, नाना र भेना गरी हाम्रो नौ जनाको बगाल भयो,” धनकोे उही २२ वर्ष पुरानो सम्झना सुनाउँछिन्।
००० ००० ०००
माओवादी ‘जनयुद्ध’काल थियो। माओवादी भन्थ्यो, ‘मुलुकको ८० प्रतिशत भूभाग कब्जा गरें।’ हुन पनि सरकार जिल्ला सदरमुकाममा सीमित थियो।
२०५९ पुस २० गते रुकुम (पूर्व) तकसेराबाट नौ जनाको बगाल रिडी मेला जान बाटो लाग्यो। बगालमा धनको १३ वटा काम्लो सहित ढिरो खान सात माना मकैको पीठो, खाजा र रोटी पनि बोकेर हिंडेकी थिइन्।
धनकोको नौ सदस्यीय बगाल खोर्रे टाङटुङ पुग्यो। माओवादी कमरेडसँग भेट भयो।
केन्द्रमा बाबुराम भट्टराई नेतृत्व ‘जनसरकार’ थियो। जिल्लामा जिल्ला जनसरकार थिए। गाउँ विकास समिति स्तरको गाउँ जनसरकार (गाजस) थियो भने वडामा वडा जनसरकार (वजस)।
खोर्रे टाङटुङमा माओवादी जनसरकारले रिडी जानेका नाम टिप्यो। जनसरकारले सोध्यो, ‘रिडीबाट के के ल्याइदिने हो?’
कोहीले भने- जुत्ता। कोहीले भने- मोजा। कोहीले भने- टर्च। कोहीले भने- ब्याट्री। “हामीलाई चिन्ने खामे (खाम भाषा जान्ने) थिए। मैले ब्याट्री ल्याइदिम्ला भनें। रिडीबाट ब्याट्री ल्याएर दिएँ,” धनको सम्झिन्छिन्।
धनकोको बगाल खोर्रे टाङटुङमै पहिलो वास बस्यो। अर्को वास मास्बाङमा। त्यसपछि फलेघर। अर्को वास बोबाङमुनि साइखोलामा।
लुकुम, कोल र गर्खानीका बगालसँग खोर्रेमै भेट भयो। लुकुमकासँग झुलाबासमा।
कति बगाल खालखारमा वास बसे। “बोबाङ काटेपछि काम्लो बिक्न थाल्थ्यो,” उनी भन्छिन्।
बोबाङमा पीठो छाडे। “सिस्नोसँग खानलाई पीठो छाडेको,” धनको ढिरोको गाँस सिस्नोमा लपेट्दै सुनाउँछिन्।
कुनै बगाल बुर्तिबाङभन्दा पनि माथि साराखेत वास बसे। रिडी हिंडेका बगाल बालुवामा वास बसे। भैंसी काटे। धनकोको बगाल भने भुँवाचिदी पुगेर वास बस्यो।
“बाटामै हाम्रा काम्लो बिके। झक्कले भुँवाचिदीतिर नै २५ सयमा भैंसी किन्यौं,” उनी भुँवाचिदीमा दुई दिन बसेको स्मरण गर्छिन्।
बालुवा, भुँवाचिदी, वामीटक्सारतिर भैंसी काट्नुका कारण थिए। एक, स्थानीय क्षेत्री-बाहुनले ‘मेरो भैंसी राम्रो छ’ भन्दै आफैं बेच्न आउँथे। दुई, दाउरापानीको सुविधा थियो।
धनकोकी फुपू रामज्योति बुढा मगर (६२)ले रिडी जाँदा ढोरपाटनमा हिउँ परेको सम्झिन्छिन्। खोर्रेदेखि ढोरसम्म जंगलको बाटो हिंड्दाका सम्झना पनि।
कति बगाल वामीमा वास बसे। टक्सार बजारमा काम्लो बेचे। कति बगाल चोरकाटेमा वास बसे। नदीपारि उखु किन्न गए। “बालुवा, धम्का र लुद्रबेनी (रुद्रवेणी)मा जम्मा हुन्थ्यौं,” धनको भन्छिन्।
लुद्रबेनीमा पुल तरेर दाउरा खोज्थे। सिस्नोढिंडो खाँदै सुनाउँछिन्, “सबभन्दा ठूलो बगाल त लुगुमबाट जान्थ्यो।”
बाटामै पनि काम्लो बिक्री भए। “ठूलाबाको छोरीका काम्लो खालखारमै बिक्यो, मेरो टक्सारमा सकियो,” भुँवाचिदीबाट ट्र्याक्टरमा लुद्रबेनी गएको सम्झिँदै बोल्छिन्, “मैले ६२० देखि ६५० रुपैयाँसम्म बेचें।” उनी २२ वर्षअघिको काम्लोको मोल सुनाउँछिन्।
रामज्योति १५ वर्षकी छँदा पहिलो पटक रिडी गएकी थिइन्। ११ जनाको भान्सा थियो। त्यति वेला उनका करीब ५०० भेडा थिए।
वास बसेको पुसको चिसो रात काट्न गीत गाउँथे। कति वासमा स्थानीय पनि गीत गाउन आउँथे। रिडी जाने छिमेकी गाउँका त हुने नै भए। रिडी जाने कति रामज्योतिहरूले गाउँलेसँग संगिनी लगाउँथे पनि। लोग्ने मानिसले मीत लगाउँथे। यसरी रिडीमा काम्लो, बोल्ला र घाँट्रा बेच्न जाने मानिस र गाउँलेको सम्बन्ध गाँसिन्थ्यो।
रिडी जाँदा होस् कि बाह्रकुने जाँदा भेटेका मान्छेसँग, कतिले चिठी हानाहान गर्थे। मन बसेका कति त उत्तरगंगा र बालुवा (सेरा) मेलामा पनि भेट हुन्थे।
रोल्पा, रुकुमबाट मात्र होइन, दाङबाट पनि काम्लो बेच्न रिडी जान्थे। रोल्पा-रुकुमका भेडा चर्दै दाङ पुगेको वेला काम्लो बुनेर बेच्न रिडी पुग्थे {तकसेराका स्थानीय बडीलाल (७१) र भेडापालक शिरधन बुढा मगर (६४)सँगको कुराकानी}। धनकोहरू मात्र होइन, जुम्ली पनि काम्लो बेच्न रिडी पुग्थे।
००० ००० ०००
दुई-तीन दिन पकाउन पुग्ने दाउरा बोकेर धनकोहरू रिडी पुगे, मसान्तको अघिल्लो साँझ। किनमेल गरेको पसलबाट रोटी पकाउने भाँडाकुडा लिए, जसमा रोटी पकाए।
रामज्योतिहरू पहिले पहिले त रिडी बगरको बालुवामै वास बसेका थिए। पछिल्लो समय भने पौवामा वास बसे।
तकसेरामा जसरी माइ सकरातिको दिन धनकोका ठूलाबाले उनीहरूलाई खिचडी दिए। दक्षिणा दिए। दाजुभाइले सुुन्तला जस्ता फलफूल दिए। माघे संक्रान्तिमा चेली पुज्ने मगर चलन पछ्याउँदै रिडीमा पनि चेली पुजे।
००० ००० ०००
गुल्मी, अर्घाखाँची, बाग्लुङ, पाल्पा, स्याङ्जा भेगका खस-आर्य समुदायकाले रिडीमा काम्लो, बोल्ला, घाँजी किन्थे। लिम्घा साघाट (सत्यवती गाउँपालिका)की गीता ज्ञवाली (बस्नेत) माघे संक्रान्तिको बिहान एक घन्टा पैदल हिंडेर रिडी पुगेको सम्झिन्छिन्। नुवाइवरी रिडी मेला रमाएको पनि।
“ज्वाइँचेला आउँदा स्वागत गर्न ओछ्याइदिने नै काम्लो हो। कसैले राडी भन्छन्, कसैले काम्लो। दशैंमा टीका लगाउँदा पनि काम्लो बिछ्याउँछन्,” गीता भन्छिन्, “काम्लो त विशेष मानेका पाहुना स्वागतका लागि प्रयोग गर्ने हो।”
धनकोहरूले त चिहानमा लाँदा पनि काम्लो नै ओछ्याइदिने चलन छ। काठमाडौंमा कोही गाउँबाट काम्लो मगाएर काम चलाउँथे। मृतकको छोराले दुःख बोक्दा काम्लोकै सुर (गादा पारेको) उल्टोतिरबाट लगाइदिन्थे (सेरावासी अनिल बुढा मगर निर्देशित घरज्वाइँ फिल्म, हेर्नुहोस्, एक घन्टा ५५ मिनेट ४५ सेकेन्डदेखि एक घन्टा ५६ मिनेट २६ मिनेटसम्म)। मृत्यु बाहेकको समयमा भने काम्लो सुल्टोबाट ओढ्ने हो।
बिहेमा फुटु (काम्लोको लुगा) लगाएर जन्ती जानेको भाउ नै चुलिन्थ्यो। गाउँमा सिरक नपुग्दासम्म त ओढ्ने र ओछ्याउने काम्लो थियो। शिरदेखि पाउसम्म लगाउने लुगा नै काम्लोको थियो।
००० ००० ०००
धनको धागो कात्ने, काम्लो र बोल्ला बुन्न सिकेको सीप सम्झिन्छिन्। परम्परागत कला स्मरण गर्दै उनलाई सिकाउने फुपू, सान्जीहरूलाई पनि सम्झिन्छिन्। काम्लो, बोल्ला बुन्ने सीप नहुँदो हो त धनकोहरूको जीवनलय कुन गतिमा कतातिर बग्थ्यो होला? “म सात वर्षको हुँदा आमा (सुन्तुकी) बितिन्, १४ वर्षको हुँदा बा (प्रेमबहादुर)। गाउँका नानाहरू, फुपूहरू, सान्जीहरूले धागो कात्ने, बुन्ने सीप सिकाउनुभयो,” उनी भन्छिन्।
बुनाइ सीप पुरानो पुस्ताबाट नयाँ पुस्तामा सर्दै आएको थियो। जसको कडी पछिल्लो पुस्तामा पुगेपछि भने अवरुद्ध भयो।
रामज्योतिहरूका लागि बुन्ने सीप सिक्नु र रिडी जानुको विशेष अर्थ थियो। सीप नहुँदो हो त कसरी काम्लो तयार पार्नु र काम्लो बेच्न रिडी जानु र?
किशोरवयमै उनीहरू कहिले आफ्नो त कहिले घरको पनि काम्लो लिएर रिडी गए। आफ्नो भागको ऊन आफैंले काते। बुने। बेचे। पेवा बनाए। रिडीमा बेचेर नगदमा परिणत गरेको रकमबाट कहिले तामाको रोंचे (गाग्रोभन्दा दोब्बर-तेब्बर ठूलो आकारको तामाको भाँडो। खाम भाषामा रोंचे, नेपालीमा हुन्ना।) किने। खर्कन्ना किने। गाग्रा किने। कतिले सुन, चाँदीका गहना पनि।
“म त ११ पालि रिडी गएँ, ६ पालि त रोंचे नै लिएँ,” रामज्योतिले पोहोर पुसमा घोराही जनज्योति स्कूलनेर आफ्नो किराना पसलमा सुनाएकी थिइन्। काम्लो बेची पेवा जोडेको बताएकी थिइन्।
१४ वर्षको उमेरमा पहिलो पटक रिडी जाँदा रामज्योति एउटा खर्कन्ना र गाग्री बोकेर घर फर्केकी थिइन्। “त्यस वेला खर्कन्ना ५०० र गाग्रो २५० रुपैयाँमा किनेको थिएँ,” पोहोर ६२ वर्ष पुगेकी रामज्योति पाल्पा सदरमुकाम तानसेनमा किनेको खर्कन्ना र गाग्रो सम्झिन्छिन्।
त्यस वेला उनले एउटा काम्लो १६० रुपैयाँमा बेचेकी थिइन्। भलै भाउ त्योभन्दा कम थियो। रामज्योतिले भनेकी थिइन्, “नराम्रोलाई सातबीस (१४०) मा बेचें, मेरो त राम्रो थियो। मैले आठबीस (१६०)मा बेचें।”
रामज्योतिहरू रोंचे, तौला, खर्कन्ना, हुन्ना, गाग्रो, सिद्रा, खादीको धागो किन्न तानसेन गएका थिए। एक दिन हिंडेर रिडीबाट तानसेन पुगेका थिए। रामज्योतिका दिदी, आमा पुस्ता भने तिनै सामान किन्न बुटवल पुग्थे।
पुस्तौंपुस्ता सर्दै आएको धागो कात्ने, बुन्ने आदिवासी ज्ञान, कला र सीप ऊन, भाङ्ङु (गाँजाको रेसाको धागो) र पुवा (अल्लो) कात्न प्रयोग हुन्थ्यो। कातेका धागोको काम्लो बुन्ने र बोल्ला बुन्ने गरिन्थ्यो। जुन सीप हस्तान्तरण हुँदै धनकोसम्म आइपुग्यो।
जसलाई ‘धागोधर्सो गर्ने’ भन्थे, पुरुषको सीपलाई ‘चोइयचेत्रो’। चोइयचेत्रो भनेको चोयाबाट बन्ने डोको, राङ्ङे बुन्ने लगायत सीप थिए। परम्परागत सीपले सिएको चिनो साटासाटले प्रेम फुल्थ्यो। जति सीप त्यति गहिरो माया!
कलाले उनेको चिनो साटासाट हुँदै एकअर्काका दिलमा सिर्पाइला (पहराको कापमा फुल्ने फूल) फुल्थ्यो। सीपवालाका चिनो बेजोड हुन्थ्यो, जसरी अरूका काम्लो सातबीसमा बिक्दा रामज्योतिको काम्लो आठबीसमा बिकेको थियो। त्यसैले धागोधर्सो र चोइयचेत्रो गर्ने सीपविना मगर महिला र पुरुषको जीवनलय लरकघरक भएर लर्बरिन्थ्यो।
धागोधर्सो नै मगर महिलाको पेवाको मूल स्रोत थियो। बिहेपछि परिवारलाई ओढाउने जिम्मा पनि महिलाकै थियो। खामभाषी मगर महिला त पेवा गोडाले झारलघोरल जसरी भीरमा पनि पीरमा पनि छुर्पपत्ताल दगुर्थे। आफ्ना रहर र सपना फुलाउँथे।
जोसँग धागोधर्सो सीप धेरै हुन्थ्यो, मिहिनेती हुन्थे, उनै महिला पेवते कहलिन्थे। कला, सीप, मिहिनेतसँग पेवा जोडिन्थ्यो। धागोधर्सो कलासँग प्रेम पनि। परिवारलाई ओढाउने जिम्मेवारी र पेवाले मगर महिलाको स्थान मगर समुदायमा ‘माथि’ थियो।
तकसेराहरूमा भेडापालन पातलिंदै जाँदा केही सिला मात्र बचेका थिए। रामज्योति सम्झिन्छिन्, “भेडापालन छाडे। एक-दुई घरले पालेका छन्। मेरो दाइले २०५५ सालमै भेडा पाल्न छाडे। काकुहरू भेडा बेचेर विदेश गए। कोही दाङ झरे, कोही काठमाडौं पुगे।”
भेडा नपालेपछि कहाँबाट ऊन ल्याउने? ऊन नभएपछि काम्लो कसरी बनाउने? काम्लो नै नभएपछि रामज्योतिहरूको जीवनपद्धतिले कसरी लय समात्ला?
स्मरणीय त के भने, घोराही झरेर पनि रामज्योतिको हातमा टाकु नाचिरहेको थियो, भाङ्ङु (हेम्प) रेसाबाट धागो कातेपछि निक्लेका डल्ला थुप्रिएका थिए।
रामज्योतिको परिवार २०५८ सालमा घोराही झरेको थियो। उनका पति साउदी अरबमा थिए। तकसेरातिर भने अमेरिका र यूरोप जानेहरूको मात्र भाउ थियो। अमेरिका-यूरोप भन्दाभन्दै उनी डेभिड वाटर्सलाई सम्झिन्छिन्। कुनै वेला वाटर्स उनकै गाउँमा बसेका थिए। खाम भाषाको शब्दकोश लेखेका थिए।
००० ००० ०००
“मैले त थाल, कचौरा र तामाको लोटा लिएँ। रोंचे, ताउला लिइनँ,” चारपालि रिडी गएकी धनकोको पालामा भने पेवाको रूप मात्र होइन, पेवा पनि पातलिएको सम्झिंदै भन्छिन्, “हाम्रो बगालका कसैले पनि रोंचे लिएनौं। हाम्रो पालामा त भएका रोंचे पनि बेचेर दाङ झरे, काठमाडौं गए। फुपू (रामज्योति)को पालामा त पेवा रोंचे लिने चलन खूबै थियो।”
आधुनिकताले धनकोहरूका पेवा पलाउने मूल (आदिवासी सीप र कला) सुक्न थालेका थिए। खस-आर्य संस्कृतिको प्रभावमा परेर उनीहरू पनि खस-आर्य महिलाकै घानमा पुग्न थालेका थिए।
ooo ooo ooo
धनको निवासमा सिस्नो र ढिंडो खानपिन सकियो। हात ओभाएपछि धनको टोपी बुन्न थालिन्। भाङ्ङु रेसाबाट कातेको धागोको टोपी। चल्तीको मूलधारे भाषामा गाँजा टोपी। हेम्प क्याप। “आमाजूहरूले ठमेलबाट अर्डर ल्याउनुहुन्थ्यो। मैले पनि सिकें,” धनको टोपी किस्सा कहन्छिन्।
बुन्दाबुन्दै उनी आफ्ना दुई आमा सम्झिन्छिन्, दिलमाया र सुन्तुकी। जेठी दिलमाया र कान्छी सुन्तुकी। नाताले दिलमाया फुपू र सुन्तुकी भदैनी हुन्। उनी र बहिनीलाई जन्मदिने आमा सुन्तुकी। सुन्तुकी जाँदा धनको ७ वर्षकी थिइन्, उनकी बहिनी ३ वर्षकी। बा भीरबाट लडेर बित्दा धनको १४ वर्षकी थिइन्।
बहिनीले कक्षा ८ सम्म पढिन्। धनकोले बहिनी जति पनि पढ्न पाइनन्। निःसन्तान दिलमाया ८५ वर्षको उमेरमा दुई वर्षअघि बितिन्।
धनकोका बहिनीज्वाइँ पोर्चुगलमा थिए, पति अमेरिका। तल्लोबाटोबाट अमेरिका पुगेको आठ वर्ष लाग्दै थियो। धनको काठमाडौंमा एक छोरा र एक छोरी पढाउँदै बसेकी थिइन्। “कागजात प्रक्रियामा छ,” उनी अमेरिका उड्ने पखेटा पलाउँदै गरेको समाचार सुनाउँछिन्।
पछिल्लो पटक रिडी कहिले जानुभयो?
दुई वर्षअघि।
काम्लो लिएर?
होइन, काठमाडौंबाट म त आमाको चिनो लिएर गएँ।
साथमा आमाजू, फुपूहरू पनि थिए। उनीहरू पनि बज्यैको चिनो बगाउन रिडी गएका थिए।
दुई वर्षअघि रिडी पुग्दा एउटा काम्लोको मूल्य तीन हजार रुपैयाँसम्म उकालिएको थियो। उनले २२ वर्षअघि ६५० मा बेचेकी थिइन्।
आमाको चिनो लिएर किन रिडी जानुभएको हो?
आमा १४ वर्षको उमेरदेखि नै काम्लो बेच्न रिडी जानुभएकी रहेछ। काम्लो बेचेर पेवा बनाउनुभएछ। घरव्यवहार चलाउनुभएछ। रिडीमा आफ्नो गाउँठाउँका पनि आउँछन्, तिनलाई दान पनि गरौं, आमा हिंडेको ठाउँमा आमाको चिनो बगाम् भनेर रिडी गएँ,” धनको भाङ्ङु टोपी बुन्दै सुनाउँछिन्।
आमाको के चिनो बगाउनुभयो?
टिशर्ट।
काम्लो, बोल्ला र घाँजी पुलले रिडी र प्रकृतिपूजक मगर समुदायलाई कहिले जोड्यो होला? ठ्याक्कै समय त यकीन छैन, यति भन्न सकिन्छ- धनकोको पुस्ता दरपुस्तादेखि। सोचनीय त के भने, रिडी जाँदाजाँदै माघे संक्रान्तिको दिन आमाको चिनो बगाउन पनि धनकोहरूका गोडा रिडी पुग्न थालेका थिए। धनकोका आफ्नै गाउँ र छिमेकी गाउँतिर माघे संक्रान्तिमा धनुले तारा हान्दाखेरि गाउँथेः
माल खुंरी चौर पुगेर लि-बाँस
खागर पुगी जरमुथा सर
बिचैमा हानेको स्याँबु
बिचैमा हानेको
बाबुको छोरा, ब्राजुको नाति...।
(अनिल बुढा मगर, ‘संस्कृति : कसरी शुरू भयो माघेसङ्क्रान्ति?’ नयाँ पत्रिका, २०८१ पुस २७)
स्याँबु गीतमा ‘राम र सीता’ को कहानी कहन थालेका थिए (धनको, शिरधन, बडीलालसँगको कुराकानी)।