शहाबले सात विकेट लिएपछि प्रहरी क्लब दबाबमा
जय ट्रफी इलिट कप अन्तर्गत फाइनल खेलको पहिलो इनिङमा त्रिभुवन आर्मी क्लबका शहाब आलमले सात विकेट लिएका छन्।
पहिलो दिनको खेल सकिंदा दुई विकेट गुमाएर ८५ रनको राम्रो स्थितिमा रहेको नेपाल प्रहरी क्लबले दोस्रो दिनको शुरूआतमै लगातार विकेट गुमाएको छ। पहिलो दिन अर्धशतक बनाएका कुशल भुर्तेलले दोस्रो दिन एक रन मात्रै जोड्न सके। उनलाई शहाब आलमले एलबीडब्लूको धरापमा पारे।
त्यसपछि आलमका अगाडि प्रहरी क्लबका ब्याटर टिक्न सकेनन्। लगातार विकेट झर्दै गयो। प्रहरी क्लबले दोस्रो दिनको पहिलो सत्रमै सात विकेट गुमाएपछि १३३ रनमै पारी समाप्तिको घोषणा गरेको छ।
प्रहरी क्लबका लागि भुर्तेलले ५१, अर्जुन साउदले २८, अमित श्रेष्ठले २० र रसिद खानले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
आर्मी क्लबका लागि आलमले १२.३ ओभरमा सात विकेट लिए। उनले २.९२ को इकोनोमी राख्दै ३७ रन खर्चिए। जसमा तीन ओभर मेडन थिए। उनले अमित श्रेष्ठ, कुशल भुर्तेल, आरिफ शेख, रसिद खान, शंकर राना, श्रवण यादव र अर्जुन साउदलाई आउट गरे।
त्यस्तै, आर्मीका लागि सोमपाल कामी र वसिर अहमदले एक-एक विकेट लिए। अन्य बलरले पनि कसिलो बलिङ गरे।
प्रहरी क्लबले पारी समाप्तिको घोषणा गरेसँगै आर्मी क्लबले ब्याटिङ थालेको छ। आर्मीले पनि पहिलो ओभरमै तीर्थराज दास र सन्तोष कार्कीको विकेट गुमाएको छ।