राष्ट्रपतिबाट चार अध्यादेश जारी, एक रोकियो
राष्ट्रपति रामचन्द्र पौडेलले चार वटा अध्यादेश जारी गरेका छन् भने एक अध्यादेश रोकेका छन्।
सरकारले राष्ट्रपति समक्ष पाँच वटा अध्यादेश सिफारिश गरेको थियो। जसमध्ये आइतबार चार वटा अध्यादेश जारी भएका छन्।
राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गरी नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा चार वटा अध्यादेश जारी भएको जनाएको छ। जसमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश-२०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश-२०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ रहेका छन्।
राष्ट्रपति पौडेलले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश-२०८१ लाई भने रोकेका छन्। मन्त्रिपरिषद्को बैठकले पाँच वटा अध्यादेश सिफारिश गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका थिए।