वर्ष दिनमा विदेश पुगे पौने १७ लाख नेपाली
गत एक वर्ष अर्थात् सन् २०२४ मा पौने १७ लाख नेपालीले विदेश भ्रमण गरेको देखिएको छ।
अध्यागमन विभागले सोमबार सार्वजनिक गरेको विवरण अनुसार गत वर्ष १६ लाख ७४ हजार २२५ नेपाली वैदेशिक भ्रमणमा गएका छन्। वैदेशिक रोजगारी, अध्ययन, भ्रमण, तालीम, गोष्ठी आदि कामका लागि यो संख्यामा नेपाली विदेश पुगेका हुन्।
विदेश गएकामध्ये ६६ हजार ८३५ नेपाली स्थायी रूपमै विदेश बस्ने गरी देश छोडेको अध्यागमन विभागले जनाएको छ। अघिल्लो वर्ष ७० हजार ९१५ नेपालीले स्थायी रूपमा देश त्यागेका थिए।
विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालबाट बाहिरिएका नेपालीमध्ये आधाभन्दा धेरै वैदेशिक रोजगारीका लागि गएका छन्। गत वर्ष आठ लाख ५६ हजार ४२२ नेपाली कामको खोजीमा संसारका विभिन्न मुलुक पुगेका थिए। यीमध्ये ९६ हजार १९७ महिला छन्।
गत वर्ष अध्ययनका लागि एक लाख १९ हजार नेपाली विदेशिएको तथ्यांक छ। सन् २०२३ मा एक लाख आठ हजार नेपाली अध्ययनका लागि विदेश गएका थिए।
सन् २०२४ मा भ्रमण र तीर्थाटनका लागि दुई लाख ७४ हजार नेपाली विदेश पुगेका छन्। पारिवारिक मिलापका लागि एक लाख ३२ हजार, तालीम र सेमिनारका लागि २४ हजार नेपाली विदेश पुगेको विभागले जनाएको छ।
गत वर्ष श्रीमान् वा श्रीमतीसँगै आश्रित रूपमा विदेश जानेको संख्या करीब ३४ हजार छ। त्यसैगरी, उपचारका लागि १८ हजार ७१३, व्यापारका लागि करीब २० हजार, सरकारी औपचारिक भ्रमणमा करीब १३ हजार जना विदेश पुगेका छन्।