हिमालयन ब्यांकको सम्पत्ति साढे तीन खर्ब
हिमालयन ब्यांक लिमिटेडको कुल सम्पत्ति साढे तीन खर्ब रुपैयाँ नाघेको छ।
ब्यांकको ३२औं वार्षिक साधारणसभामा सञ्चालक समितिका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्। गत वर्षको तुलनामा ब्यांकको सम्पत्ति ६.४२ प्रतिशतले बढेर तीन खर्ब ५५ अर्ब ७३ करोड ५८ लाख रुपैयाँ पुगेको हो।
त्यस्तै, वर्तमान संकुचित आर्थिक परिवेशमा पनि ब्यांकको खूद मुनाफा रु. एक अर्ब ३३ करोड ८३ लाख तीन हजार रहेको जानकारी दिइएको छ। त्यसमध्ये अनिवार्य जगेडा कोषमा खूद मुनाफाको २० प्रतिशतले हुन आउने रु. २४ करोड ७६ लाख ६० हजार छुट्याइएको छ।
ब्यांकको निक्षेप अघिल्लो वर्षको तुलनामा ६.८९ प्रतिशतले वृद्धि भई रु. दुई खर्ब ९७ अर्ब ७२ करोड ५३ लाख पुगेको अध्यक्ष श्रेष्ठले साधारणसभामा जानकारी दिए। यसैगरी, कर्जा सापट १.७९ प्रतिशतले वृद्धि भई रु. दुई खर्ब ४७ अर्ब १० करोड ९० लाख रहेको छ।
साधारणसभाले ब्यांक तथा यसका सहायक कम्पनीहरू सहितको आर्थिक वर्ष २०८०/८१ को एकीकृत वित्तीय विवरण पारित गरेको छ।