पाठ्यपुस्तकबाट ‘जनयुद्ध’ शब्द हटाउन माग गर्दै सर्वोच्चमा रिट
विद्यालयको पाठ्यपुस्तकमा भएको ‘जनयुद्ध’ शब्द हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
गोरखाको अजिरकोट गाउँपालिकाका विद्यालयमा पढाइने कक्षा ५ को ‘अजिरकोट सेरोफेरो’ पुस्तकको पाठ १६ मा रहेको ‘जनयुद्ध’ शब्द गैरसंवैधानिक भएकाले खारेज गर्न रिटमा माग गरिएको छ। माओवादीको विद्रोहकालका नारा पाठ्यपुस्तकमा राखेर पढाइरहेको भन्दै रिटको अन्तिम टुंगो नलाग्दासम्म उक्त अंश नपढाउन अन्तरिम आदेश माग गरिएको छ।
यस रिटमाथि माघ २ गते सुनुवाइ तोकिएको रिट निवेदक तुलसीराज धितालले हिमालखबरलाई जानकारी दिए। धिताल अजिरकोट गाउँपालिकाकै बासिन्दा हुन्।
पाठ्यपुस्तकमा ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं’ जस्ता युद्धकालीन नारा सहित बन्दूकधारी लडाकूको तस्वीर रहेको रिटमा उल्लेख छ। विद्यालय कुनै पनि पार्टीको दस्तावेज-इतिहास पढाउने थलो नभएकाले उक्त पाठ्यसामग्रीबाट ‘जनयुद्ध’ शब्द हटाउन माग गरिएको धितालको भनाइ छ।
यससँगै ‘जनयुद्ध’ को सट्टा ‘सशस्त्र संघर्ष’ शब्द प्रचलनमा रहेको पनि रिटमा स्मरण गराइएको छ।