अमेरिकामा डढेलोबाट मृत्यु हुनेको संख्या २४ पुग्यो, डेढ लाख मानिस विस्थापित
अमेरिकाको लस एन्जलसमा फैलिएको डढेलोमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ भने डेढ लाख मानिस विस्थापित छन्।
केही दिनदेखि क्यालिफोर्निया राज्यस्थित लस एन्जलसका तीन ठाउँमा डढेलो लागेको छ। तीव्र गतिको हावाहुरीका कारण डढेलो बस्तीमा पसेको छ।
डढेलोबाट ४० हजार एकडमा क्षति पुगेको द वाशिङ्टन पोस्टले उल्लेख गरेको छ। डढेलोले बस्ती सखाप पारेको छ भने २४ जनाको ज्यान गएको छ। डढेलोले क्षति पुर्याएको क्षेत्रबाट एक लाख ५० हजार बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।
तीन क्षेत्रमा लागेको डढेलोलाई तीन वटा नाम दिइएको छ। लस एन्जलसको दक्षिण-पश्चिमी क्षेत्रमा फैलिएको सबैभन्दा ठूलो पलसेड्स डढेलोले २३ हजार ७०० एकड जमीनमा क्षति पुर्याएको छ। यसमा परेर आठ जनाको ज्यान गएको छ।
यसबाट पाँच हजार ३०० भौतिक संरचनामा क्षति पुगेको छ। यो डढेलो अझै नियन्त्रणमा आइसकेको छैन। बरु झन् झन् फैलिंदै गएको बीबीसीले उल्लेख गरेको छ।
त्यस्तै, लस एन्जलसको उत्तर–पूर्वी क्षेत्रमा फैलिएको इटन डढेलो दोस्रो ठूलो हो। यसले १४ हजार ११७ एकड क्षेत्रमा क्षति पुर्याएको छ। यसमा परेर १६ जनाको ज्यान गएको छ। क्यालिफोर्नियाको इतिहासमै धेरै मानिसको ज्यान यही डढेलोमा गएको हो। इटन डढेलोबाट सात हजारभन्दा बढी भौतिक संरचना नष्ट भएका छन्।
लस एन्जलसको उत्तर–पश्चिमी क्षेत्रमा फैलिएको हस्ट डढेलोले ७९९ एकड जमीनमा क्षति पुगेको छ। यो डढेलो भने पूर्ण रूपमा नियन्त्रणमा आइसकेको बीबीसीले उल्लेख गरेको छ।
यस पटकको डढेलोले अमेरिकी इतिहासमै सबैभन्दा धेरै क्षति गरेको आकलन छ। डढेलोबाट २५० बिलियनदेखि २७५ बिलियन डलर बराबरको क्षति भएको एक्युवेदरको अनुमान छ।
डढेलो नियन्त्रणका लागि व्यापक रूपमा अग्निनियन्त्रक परिचालित छन्। आगो नियन्त्रण गर्न १४ हजार अग्निनियन्त्रकलाई परिचालन गरिएको जनाइएको छ।
त्यस्तै, स्थल र आकाशबाट पनि डढेलो नियन्त्रणको प्रयास भइरहेको छ। हेलिकोप्टर र जहाजले डढेलो लागेको क्षेत्रमा पानी फालिरहेका छन्। अग्निनियन्त्रकलाई डढेलो नियन्त्रणमा लिन ८४ विमान र एक हजार ३५४ फायर इन्जिनले सघाइरहेका छन्।
तर आगो अझै नियन्त्रणमा आइसकेको छैन। त्यसैले सरकारी अधिकारीले लस एन्जलस क्षेत्रलाई नै ‘सम्भावित जोखिम’ मा राखेर सतर्कता अपनाउन आग्रह गरेका छन्।