रवि लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस शुरू
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको सहकारी ठगी मुद्दामा थुनछेक बहस शुरू भएको छ।
जिल्ला अदालत, काठमाडौंमा सोमबार बिहानदेखि थुनछेक बहस शुरू भएको हो। न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासमा थुनछेक बहस शुरू भएको जिल्ला अदालतका सूचना अधिकारी अमरबहादुर चन्दले बताए।
लामिछाने विरुद्धको मुद्दामा पक्ष र विपक्षबाट थुप्रै कानून व्यवसायीले बहस गर्न लागेका छन्। जिल्ला सरकारी वकीलको कार्यालयका अनुसार सरकारी पक्षबाट ११ जना वकीलले बहस गर्नेछन्।
त्यस्तै, लामिछानेको पक्षबाट पनि वरिष्ठ अधिवक्ता सहित थुप्रै कानून व्यवसायीले बहस गर्ने भएका छन्। वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र सुशील पन्त सहित १० जना कानून व्यवसायीले वकालतनामा भरेको जिल्ला अदालतका सूचना अधिकारीले चन्दले बताए।
पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा ६५ लाख रुपैयाँ धरौटी तिरेर छुटेका लामिछाने आइतबार काठमाडौं अदालतमा उपस्थित भएका थिए। काठमाडौंको स्वर्णलक्ष्मी सहकारीमा एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ अपचलन भएको आरोपमा उनी सहित ३९ जना विरुद्ध मुद्दा दर्ता भएको छ।
यो सहकारीबाट पनि गोरखा मिडिया नेटवर्कमा रकम लगेको आरोप छ। जसमा लामिछाने र गोरखा मिडियाका अध्यक्ष जीबी राईले सहकारीको पाँच करोड आठ लाख ६९ हजार ६३३ रुपैयाँ अपचलन गरेको अभियोगपत्रमा खुलाइएको छ।
आइतबार उनको बयान भएको थियो भने आजदेखि थुनछेक बहस शुरू भएको हो। थुनछेक बहसपछि न्यायाधीश अधिकारीको इजलासबाट पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने आदेश हुनेछ। यस मुद्दामा यसअघि पक्राउ परेका दुई जनालाई भने अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो। अदालतको आदेशपछि कमल लामा र सुनीता नेवा धरौटी राखेर छुटेका थिए।
लामिछानेलाई चितवन, रुपन्देही र पर्साका सहकारीबाट समेत रकम अपचलन गरेको आरोप छ। लामिछाने गृहमन्त्री छँदा रुपन्देही र कास्कीमा भएको अनुसन्धानमा उनलाई उन्मुक्ति दिइएको थियो।
संसदीय छानबिन विशेष समितिले पुनः अनुसन्धान हुनुपर्ने सिफारिश गरेपछि लामिछाने अनुसन्धानको दायरामा आएका थिए। करीब तीन महीना प्रहरी हिरासतमा बसेपछि जिल्ला अदालत, कास्कीले उनलाई धरौटीमा छोडेर मुद्दा लड्ने सुविधा दिएको थियो।