मणि लामाले ल्याए ‘नेपाल इन मोनोक्रोम’
वरिष्ठ फोटो पत्रकार मणि लामाको पुस्तक ‘नेपाल इन मोनोक्रोम’ सार्वजनिक भएको छ।
बौद्धस्थित तारागाउँ नेक्स्टमा फोटो पत्रकारहरू प्रशान्त श्रेष्ठ, अशेष डंगोल र किशोर महर्जनले पुस्तक सार्वजनिक गरेका हुन्। उनीहरूले फोटो पत्रकार लामाबाट आफूहरूले फोटोग्राफीका धेरै कुरा सिकेको बताए।
एसएसबी प्रेसले प्रकाशन गरेको फोटो पुस्तकमा लामाले खिचेका विविधतायुक्त श्यामश्वेत तस्वीरहरू समावेश छन्। लेखक वसन्त थापाले सञ्चालन गरेको पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै फोटो पत्रकार लामाले आफूले चार दशकभन्दा लामो समयदेखि खिचेका फोटो समेटेको बताए।
यो उनको तेस्रो पुस्तक हो। यसअघि उनका हिमालयन किङ्डम पिक्टोरियल र रिस्टोरिङ द ग्रेट स्तूप पुस्तक सार्वजनिक छन्।