रवि लामिछाने फेरि प्रहरी हिरासतमा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई फेरि प्रहरी हिरासतमा पठाउन आदेश भएको छ।
काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा आइतबार जिल्ला अदालत, काठमाडौंमा हाजिर भएका लामिछानेलाई हिरासतमा राख्न आदेश भएको अदालतका स्रेस्तेदार रामु शर्माले बताए। अदालती बयान सकिएपछि थुनछेकको बहस बाँकी नै भएकाले न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले एक रातका लागि हिरासतमा राख्न भनेको शर्माले जानकारी दिए।
पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा ६५ लाख रुपैयाँ धरौटी तिरेर छुटेका उनी तीन दिनपछि फेरि हिरासतमै पुगेका हुन्। स्वर्णलक्ष्मी सहकारीमा एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ अपचलन भएको आरोपमा उनी सहित ३९ जना विरुद्ध मुद्दा दर्ता भएको छ।
यो सहकारीबाट पनि गोरखा मिडिया नेटवर्कमा रकम लगेको आरोप छ। जसमा लामिछाने र गोरखा मिडियाका अध्यक्ष जीबी राईले सहकारीको पाँच करोड आठ लाख ६९ हजार ६३३ रुपैयाँ अपचलन गरेको अभियोगपत्रमा खुलाइएको छ।
लामिछानेलाई चितवन, रुपन्देही र पर्साका सहकारीमा समेत रकम अपचलन गरेको आरोप छ। लामिछाने गृहमन्त्री छँदा रुपन्देही र कास्कीमा भएको अनुसन्धानमा उनलाई उन्मुक्ति दिइएको थियो। संसदीय छानबिन विशेष समितिले पुनः अनुसन्धान हुनुपर्ने सिफारिश गरेपछि लामिछाने अनुसन्धानको दायरामा आएका थिए। करीब तीन महीना प्रहरी हिरासतमा बसेपछि जिल्ला अदालत, कास्कीले उनलाई धरौटीमा छोडेर मुद्दा लड्ने सुविधा दिएको थियो।
काठमाडौंको मुद्दामा यसअघि पक्राउ परेका दुई जनालाई भने अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो। अदालतको आदेशपछि कमल लामा र सुनीता नेवा धरौटी राखेर छुटेका थिए।