बागमतीलाई हराउँदै प्रहरी क्लब पनि फाइनलमा
बागमती प्रदेशलाई हराउँदै नेपाल प्रहरी क्लब पनि जय ट्रफी इलिट कपको फाइनलमा पुगेको छ।
आइतबार जनकपुरमा भएको खेलमा प्रहरी क्लबले बागमती प्रदेशलाई पाँच विकेटले पराजित गरेको हो। दोस्रो दिनको खेलमा प्रहरी क्लबले पाएको १२३ रनको लक्ष्य पाँच विकेट गुमाएर पूरा गरेको हो।
दोस्रो इनिङमा प्रहरी क्लबका लागि अमित श्रेष्ठले महत्त्वपूर्ण अर्धशतक बनाए। उनले ४५ बलमा ५६ रन प्रहार गरे। त्यस्तै, कप्तान कुशल भुर्तेलले १९ बलमा ३२ र अर्जुन साउदले ३८ बलमा २० रन प्रहार गरेर फाइनल यात्रा तय गराए।
पहिलो इनिङमा बागमतीले ११२ रन मात्रै बनाएको थियो। बागमतीका लागि इशान पाण्डेले ७१ रन प्रहार गरेका थिए। प्रहरी क्लबका लागि ललित राजवंशीले चार र श्रवण यादवले तीन विकेट लिएपछि बागमती धराशायी बनेको थियो।
प्रहरी क्लबले पहिलो इनिङमा राम्रो प्रदर्शन गरेको थियो। अमित श्रेष्ठले ७९ र अर्जुन साउदले ७७ रन बनाएपछि प्रहरी क्लबले २१५ रन जोडेको थियो। बागमतीका लागि कप्तान सन्दीप लामिछानेले चार विकेट लिएका थिए।
दोस्रो इनिङमा बागमतीले पुनरागमन गरेको थियो। शुभ कंसाकारले ७० र रित गौतमले ५२ रन बनाएपछि बागमतीले खेल ‘ड्र’ तिर धकेलेको थियो। तर प्रहरी क्लबका अमित श्रेष्ठ र कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरेपछि बागमती पराजित भएको हो।
यसअघि मधेश प्रदेशलाई हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा पुगिसकेको छ। फाइनल खेलमा माघ १ गते आर्मी र प्रहरी क्लबले प्रतिस्पर्धा गर्नेछन्।