आर्मी क्लब जय ट्रफीको फाइनलमा
मधेश प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब जय ट्रफी इलिट कपको फाइनलमा पुगेको छ।
आइतबार वीरगन्जमा भएको खेलमा आर्मी क्लबले मधेशलाई आठ विकेटले पराजित गरेको हो। मधेशले दिएको २८ रनको लक्ष्य आर्मी क्लबले दुई विकेट गुमाएर पूरा गरेको हो।
यो जितसँगै आर्मी क्लब ५५ अंक जोडेर फाइनलमा प्रवेश गरेको हो। नेपाल प्रहरी क्लब र बागमती प्रदेशबीचको खेलको विजेता टोली फाइनलमा पुग्नेछ।
आर्मी क्लबले पहिलो इनिङमा २२५ रन बनाएको थियो। त्यसको जवाफमा मधेश प्रदेश १०२ रनमै समेटिएको थियो।
फलो अन पाएर दोस्रो इनिङ ब्याटिङ गरेको मधेशले राम्रो प्रदर्शन गर्न सकेन। आर्मी क्लबका बलरसामु मधेशका ब्याटर टिकेर खेल्न सकेनन्। मधेश प्रदेशले दोस्रो इनिङमा १५० रन बनाएर २८ रनको मात्रै लक्ष्य दिन सक्यो। त्यसलाई सहजै पूरा गर्दै आर्मी क्लबले फाइनलको यात्रा तय गरेको हो।
आर्मी क्लबका शहाब आलम प्लेअर अफ द म्याच भए। उनले दुवै इनिङमा नौ विकेट लिए। त्यस्तै, आर्मीका बसिर अहमद र भीम सार्कीले पहिलो इनिङमा अर्धशतक प्रहार गरेका थिए।
मधेशका रञ्जित कुमारले पहिलो इनिङमा पाँच विकेट लिएका थिए। प्रदीप पासवानले दुवै इनिङमा चार विकेट लिए पनि पर्याप्त भएन। फाइनल खेलमा माघ १ गते वीरगन्जमा हुनेछ।