पृथ्वीनारायण शाहको पालाका हातहतियार हेर्न पाइने
काठमाडौंको छाउनीस्थित राष्ट्रिय संग्रहालयमा अब ऐतिहासिक हातहतियार र औजार हेर्न पाइने भएको छ। भूकम्पले क्षति पुगेको संग्रहालयको पुनर्निर्माण भएसँगै मल्लकालीन सामग्री हेर्न पाइने भएको हो।
पुनर्निर्माण गरिएको प्रदर्शनी कक्षको शुक्रबार पुरातत्त्व विभागकी महानिर्देशक सौभाग्य प्रधानांगले उद्घाटन गरेकी छन्। २०७२ सालको भूकम्पमा क्षति हुँदा प्रदर्शनी कक्ष बन्द रहेको थियो। भवनलाई पुनर्निर्माण गरी ऐतिहासिक हातहतियार तथा औजारको प्रदर्शनी खुला गरिएको हो। यसमा मल्लकालीन अन्तिम राजासँगै पृथ्वीनारायण शाह र उनका भाइभारदारले प्रयोग गरेका हातहतियार र औजार रहेको संग्रहालयका प्रमुख जयराम श्रेष्ठले बताए। संग्रहालयमा नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापाले प्रयोग गरेका हातहतियार पनि राखिएका छन्। हतियार कक्षको उद्घाटन गर्दै पुरातत्त्व विभागकी महानिर्देशक प्रधानांगले नेपाल एकीकरण तथा त्यसपछि राजाहरूले प्रयोग गरेका हातहतियारबारे अध्ययन तथा अनुसन्धान गर्न सहयोग हुने बताइन्।
रिपोर्ट : शमशाद अहमद
भिडिओ : सुमन नेपाली
सम्पादन : राज यादव