कोशी टप्पुमा रमाउँदै साइबेरिया का खोया हाँस
कोशी टप्पु वन्यजन्तु आरक्षमा साइबेरियाबाट विचरण गर्न आउने खोया हाँसको संख्या बढेको पाइएको छ।
पन्छीविद्हरूका अनुसार खोया हाँस सगरमाथाको उचाइभन्दा माथिबाट उडेर आउने गरेको छ। पुस २६ बाट शुरू भएको जलपन्छी गणनाका क्रममा कोशी टप्पुमा खोया हाँसको संख्या उल्लेख्य पाइएको गणकहरूले बताएका छन्।
सुनसरी, उदयपुर र सप्तरी जिल्लाले छुने कोशी टप्पुमा ३८ वर्षदेखि जलपन्छीको गणना हुँदै आएको छ। गणनाका क्रममा खोया हाँसका झुन्ड फेला परेका छन्। पहिलो दिन वराहक्षेत्र नगरपालिकामा पर्ने नदीको बीचमा एकै ठाउँमा खोया हाँसका ४७ झुन्ड फेला परेका छन्।
डुंगाबाट गणना गर्ने क्रममा झुन्ड उडेर कम पानी भएको स्थानमा बसेको थियो। यस्तै, पुस २७ मा कोशी टप्पुभित्र नदीमा २०० भन्दा बढीको संख्यामा खोया हाँस फेला परेका छन्।
गणनाका क्रममा सबैभन्दा बढी चखेवा भेटिएका छन्। यो चराको जोडीमा एउटा मर्यो भने अर्को पनि चारो नखाएरै मर्ने गरेको चराविद् बताउँछन्।
नेपालमा ८९२ प्रजातिका चरा पाइन्छन्। कोशी टप्पुमा मात्रै ५३५ प्रजातिका पाइने भएकाले यसलाई चराको राजधानी पनि भन्ने गरिन्छ। कोशी टप्पुमा पाँच दिन लगाएर चरा गणना गरिन्छ। हिउँदमा चिसो बढेसँगै चराको बसाइँसराइ हुने भएकाले एशियाका विभिन्न देशमा हरेक वर्ष ४ जनवरीदेखि १९ जनवरीसम्म जलपन्छीको गणना हुने गरेको छ।
कोशी पन्छी समाजको अगुवाइमा कोशी टप्पु वन्यजन्तु आरक्ष, नेपाली सेना र चराविद्को सहभागितामा चरा गणना हुँदै आएको छ। नदीको पूर्व र पश्चिम दुवैतर्फ डुंगाबाट गणना गरिन्छ।
चराका जानकारले रैथाने र बसाइँ सरेर आउने चराको पहिचान गरेर जात खुलाएपछि टिपोट गरिन्छ। ठूलो झुन्डमा उडेको वा बसेको बथानलाई दुईतर्फको लाइन गनेर दुईले गुणन गरेर चराको अनुमानित संख्या निकालिन्छ।
खोया हाँसको संख्या बढे पनि कोशी टप्पुमा अन्य चराको संख्या भने बर्सेनि घट्दो क्रममा छ। कोशी नदी र आसपासमा मानवीय अतिक्रमणले यूरोपदेखि जाडो छल्न र बच्चा कोरल्न आउने चराको संख्या कम हुँदै गरेको कोशी पन्छी समाजका पूर्व अध्यक्ष अनिस तिम्सिना बताउँछन्।
सरकारको चासो नहुने भएकाले पनि नदीमा माछा मार्ने, चौपाया चराउने र दाउरा निकाल्नेहरूको बाक्लो उपस्थिति हुन्छ। जसका कारण स्थानीय रैथाने जलपन्छी पनि कम हुँदै गएको तिम्सिना बताउँछन्।
चराको अध्ययन र अवलोकनका लागि विश्वका विभिन्न देशबाट पर्यटक कोशी टप्पुमा आउँछन्। आन्तरिक पर्यटक पनि हिउँद याममा चरा अवलोकन र नदीमा शयर गर्न कोशी टप्पु पुग्छन्। हरेक वर्ष कोशीमा डुंगा शयर गर्दै आएका विराटनगरका सदीप पोखरेल १० वर्षअघिको तुलनामा पछिल्ला वर्षमा चरा कम देखिने गरेको बताउँछन्।
कोशी टप्पुमा चराको वासस्थानमा मानिसको अनावश्यक चहलपहल रोक्न तीनै तहका सरकारले चासो नदिएको पन्छी समाजका अध्यक्ष चक्र तिम्सिना बताउँछन्। तिम्सिनाका अनुसार यूरोपदेखि उडेर जाडो छल्न आउने चराका कतिपय प्रजातिले बच्चा कोरलेर लैजान्छन्। बच्चा हुर्काएर फर्कने क्रममा अवरोध नभए पुनः आउने उनको भनाइ छ।
बाहिरबाट आउने चरा अवरोध नहुने ठाउँमा जाने भएकाले कोशी ब्यारेजको दक्षिण (भारत)तर्फ बढी पाइने गरेका छन्। उत्तरबाट उडेर आउने चरा पनि मानिसको चहलपहल देखेर ब्यारेजको दक्षिणतर्फ जाने गरेको चराविद् बताउँछन्।
कोशीमा माछा मार्ने मानिस डुंगामा आवतजावत गरिरहेका हुन्छन्। लुकेर माछा मार्ने र चौपाया चराउनेहरूका कारण एकान्त चाहने फिरन्ते चरालाई असहज हुने गरेको छ।